पञ्चायत समाप्त भएको करिब ३ दशक पुग्ने बेला हुँदासम्म पनि 'पूर्व पञ्च'हरूकै पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । व्यक्तिगत प्रतिद्वन्द्विताका कारण जन्मदैको 'जुम्ल्याहा' राप्रपाको नियति महाभारत कथामा वर्णन गरिएका मगधका राजा जरासन्धको जस्तै देखिएको छ । अर्थात्, राप्रपा एक ठाउँमा हुँदा अपेक्षाकृत बलियो र विभाजित हुँदा कमजोर हुनेगरेको छ । र, व्यक्तिवादी पञ्चायती राजनीतिमा दीक्षित राप्रपाका नेताहरू भने जुट्नेबित्तिकै फुट्ने र फुट्नेबित्तिकै जुट्ने काममा व्यस्त हुनेगरेका छन् । यसैले मुलुकमा अहिलेसम्म पनि राप्रपालाई गम्भीरतापूर्वक लिइएको देखिँदैन । सरकार बनाउन सहायक पार्टी हुनसक्ला, सरकारको नेतृत्व नै पनि उस्तै पर्दा गर्नसक्ला तर राप्रपा प्रमुख राजनीतिक दल ठहरिन सकेको छैन ।
एकता महाधिवेशनको पूर्वसन्ध्यामा राप्रपाका शीर्ष नेताहरूमध्ये सबैभन्दा सक्रिय र कार्यकर्तामा पकड भएका कमल थापा अध्यक्षमा सर्वसम्मतिबाट चुनिने समाचारले राप्रपाका अधिकांश कार्यकर्तालाई पक्कै पनि उत्साहित बनाएको हुनुपर्छ । ( तर, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी पनि अध्यक्षमा उमेदवार हुने समाचार यो लेख लेखिसकेपछि अाएको छ । डा. लोहनी पञ्चायतका 'हार्डकाेर कार्यकर्ता' हैनन् । उनी जनमत संग्रहमा बहुदलका पक्षमा थिए । डा. लोहनीले चुनाव जिते भने राप्रपाको छवि अलिकति बेग्लै हुनसक्छ । तैपनि, डा. लोहनी राप्रपाको मूलधार भने हुन सक्तीनन् । ) दोस्रो जनआन्दोलनले राजसंस्थालाई नै समाप्त गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रका गृह मन्त्री कमल थापा राजनीतिबाट भागेनन् । त्यतिबेला पूर्वपञ्चहरू २-३ वटा पार्टीमा छरिएका थिए । राजतन्त्र समाप्त भएकाले उनीहरूको थप तेजोबध भएको थियो । माओवादी उद्दण्डता चरममा पुगेको थियो । देशमा स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अवस्था पनि थिएन । सरकारले जनआन्दोलनका ज्यादतीको जाँच गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको थियो । अर्थात्, कमल थापा राजनीतिमा पुनःस्थापित हुने सम्भावनै सकिएको भान हुन्थ्यो । तर कमल थापा राजनीतिका मात्र हैन फुटबललगायत केही खेलका कुशल खेलाडी पनि हुन् । सायद उनले राजनीतिलाई खेलका दृष्टिले हेरे । यसैले उनी हारलाई स्वीकार गरेर पनि खेल्नका लागि तत्काल तयार भए । उनको यही प्रवृत्तिले कमल थापालाई आज राजसंस्था समर्थकहरूको 'आशाको केन्द्र' बनाएको छ ।
राप्रपामा पूर्वपञ्चहरू राजाका नाममा संगठित भएका हुन् । सूर्यबहादुर थापाजस्ता चतुर र कुशल राजनीतिज्ञले जति नै ढाकछोप गरे पनि राप्रपा राजतन्त्र समर्थकहरूकै संगठन हो । संविधान सभाको दोस्रो निर्वाचनमा कमल थापाको राप्रपा (नेपाल) ले राप्रपाभन्दा शक्तिशाली हुनपुग्नुको कारण पनि यही नै । त्यसो त हिन्दु धर्मको नाराले पनि परम्परावादी मतदातालाई राप्रपा (नेपाल)ले पक्कै पनि आकर्षित गरेको थियो । यी दुवै नारा पञ्चहरूका अरू पार्टीले भन्दा कमल थापा नेतृत्वको राप्रपाले नै चर्को स्वरमा उरालेको थियो र त्यसको प्रतिफल पायो पनि । सम्भवतः अर्को पार्टीका पूर्वपञ्चहरू र राप्रपाका युवा कार्यकर्तालाई समेत कमल थापाको क्रियाशीलताले आकर्षित गरेको हो । यसैले वरीयताप्रति अत्यन्तै सचेत पूर्वपञ्चहरू समेत थापाभन्दा पाका र वरिष्ठ पूर्वपञ्चहरूलाई पन्छाएर उनलाई अध्यक्ष मान्न राजी भएका हुन् । त्यसो त पशुपति शमशेर, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता अध्यक्षका आकांक्षीहरूलाई पनि समवयी अर्को नेता अध्यक्ष भएको देख्नभन्दा कान्छा थापालाई अध्यक्ष स्वीकार गर्न मन लागेको पनि हुनसक्छ । जेहोस्, सर्वसम्मति नभएकै भए पनि एकता महाधिवेशनबाट थापा नैअध्यक्ष चुनिने त निश्चितजस्तै देखिएको थियो ।
अध्यक्ष पदसँगै कमल थापाका चुनौती पनि थपिएका छन् । थापाजस्ता महत्त्वाकांक्षी नेतालाई राप्रपा समानुपातिक प्रतिनिधित्वअन्तर्गतका पदका लागि च्याँखे थाप्न चलाइएका खुद्रा दलजस्तो बनाएर पक्कै चित्त बुझ्नेछैन । त्यत्तिमा सीमित हुने हो भने राप्रपाको औचित्य पनि छैन । मुलुकमा थुप्रैवटा कम्युनिस्ट पार्टी छन् । बाहिर जेजस्ता मतभेद देखिए पनि कम्युनिस्टहरू अन्ततः सजिलै एक हुनसक्छन् । कम्तीमा बहुलवाद र लोकतन्त्रका विरुद्ध उनीहरू एक हुन बेर लाग्दैन । तर, लोकतन्त्रमा विश्वास गर्ने दल भने अहिलेसम्म नेपाली कांग्रेस एक्लै देखिएको छ । क्षेत्रीय र जातीय प्रकृतिका दलहरू भरपर्दा र दिगो विकल्प बन्न सक्तैनन् । नेतृत्वमा देखिएको विचलनका कारण लोकतन्त्रवादीहरूले समेत कांग्रेसको विकल्प खोज्न थालेका छन् । यस्तो अवस्था राप्रपाका लागि संगठन विस्तार र सुदृढीकरणको लागि उत्तम अवसर हो । तर, राप्रपा सजिलै लोकतान्त्रिक विकल्प ठहरिन भने सक्तैन । राप्रपाको सैद्धान्तिक तथा संगठनात्मक कसी लाग्नै बाँकी छ । यो एकता महाधिवेशन त्यसैले राप्रपाका लागि अग्निपरीक्षा पनि हो । साथै, केही वर्ष राप्रपा पहिलो र दोस्रो त के तेस्रो दल हुन पनि चमत्कारै हुनुपर्छ । महत्त्वाकांक्षा राख्ने तर यथार्थ स्वीकार गर्ने रणनीति अपनाउन सक्छन् कि सक्तैनन् त राप्रपाका नेताहरूले ?
राप्रपाले लोकतन्त्रलाई सिद्धान्ततः स्वीकार गरेको छ । तर, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताप्रति राप्रपा सकारात्मक छैन । विशेषगरी धर्मनिरपेक्षता र गणतन्त्रलाई सुरुमै स्वीकार नगरेका कमल थापाको नेतृत्वमा राप्रपाले अब कस्तो नीति अपनाउने हो र सैद्धानिक स्पष्टताका लागि कस्तो विधि एवं प्रक्रिया अपनाइने हो त्यसले राप्रपाको भविष्य निर्धारण गर्नेछ । गणतन्त्रका पक्षमा देखिएका राप्रपाका नेताहरूलाई कमल थापाको नेतृत्व स्वीकार गर्न जत्तिकै सजिलो राजतन्त्र स्वीकार गर्न हुनेछ कि छैन ? नेपाललाई हिन्दु राज्य बनाउन पक्षमा सहमत हुन भने खासै कठिन नहोला । कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्व गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा छन् । यद्यपि, झिनै स्वरमा भए पनि कांग्रेस र एमालेभित्र गणतन्त्र र धर्मनिरपेक्षता नरुचाउनेहरूको आवाज सुनिएको छ । कमल थापाको नेतृत्व सर्वसम्मत भएपछि महाधिवेशनले गणतन्त्र र धर्मनिरपेक्षता अस्वीकार गर्ने अनुमान लगाउन सकिन्छ । यी दुई विषयमा स्पष्ट हुनसके राप्रपाको सैद्धान्तिक औचित्य सिद्ध हुनेछ । यसले राप्रपालाई कांग्रेसभन्दा भिन्न पनि बनाउनेछ । राप्रपालाई वैकल्पिक लोकतान्त्रिक पार्टीका रूपमा स्थापित हुन पनि यो सैद्धान्तिक स्पष्टताले सघाउनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई 'राष्ट्रवादी' शक्ति भन्न रुचाउँछ । तर, नेपाली समाजको बहुलतालाई अस्वीकार गर्न खोज्नु अब दुस्साहसमात्र ठहरिनेछ । पूर्वपञ्चहरूमा अझै 'महेन्द्रीय राष्ट्रवाद'प्रतिको मोह बाँकी नै छ । राप्रपाले 'कट्टर राष्ट्रवाद' र 'बहुजातीय राष्ट्रियता'बीच फरक गर्न सक्छ कि सक्तैन भन्ने प्रश्नको उत्तरले पनि उसको भविष्य निर्धारण गर्नेछ । नयाँ पुस्ताले 'एउटै राजा एउटै देश : एउटै भाषा एउटै भेष' हैन 'सय थुँगा फूलका हामी एउटै माला नेपाली' सुनेको छ । पुराना पञ्च 'एउटै राजा एउटै देश : एउटै भाषा एउटै भेष'मा दीक्षित छन् । अब राप्रपाले कुन बाटो लिने हो ? राष्ट्रियतासम्बन्धी दृष्टिकोणले पनि राप्रपाको भविष्य निर्धारण गर्नेछ ।
राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा उभिने निर्णय गरेका खण्डमा तिनलाई फर्काउन कुन विधि र प्रक्रिया अपनाउँछ त्यसले पनि यस दलको चरित्र र भविष्य निर्धारण गर्नेछ । संसद्मा दुई तिहाइ बहुमत जुटाएर संविधान संशोधन गर्न राप्रपा एक्लैले सक्तैन । अहिले अरू कुनै दल पनि ठूलो दल राजतन्त्र र हिन्दुराष्ट्रमा पक्षमा छैनन् । यसैले जनमत संग्रहमात्र अहिलेका लागि एउटा सम्भाव्य विकल्प देखिन्छ । अहिले, राप्रपा एक्लैले चाहेर जनमत संग्रह गराउन पनि सहज छैन । तर, चुनावमा राप्रपाले आफ्ना एजेन्डामा जनतालाई सहमत गराउन सके बिस्तारै जनमत पनि बढ्न सक्छ । राप्रपाले आफूलाई परम्परावादी लोकतान्त्रिक (कन्जरवेटिभ) दलका रूपमा स्थापित गर्न सक्नुपर्छ । लहैलहैमा कथित प्रगतिशील वा 'पपुलिस्ट' नारा लगाउन थाले घर न घाटको हुनसक्छ । यसैगरी सत्तामा जान हतारिने प्रवृत्तिले पनि राप्रपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित हुन रोक्न सक्छ । सरकारमा जान व्यवहारमात्र हैन सिद्धान्त पनि हेर्ने संस्कार प्रदर्शित नगरुन्जेल राप्रपालाई गम्भीरतापूर्वक लिइनेछैन ।
अन्ततः राप्रपाले प्रतिस्पर्धा र सहकार्य गर्ने नेपाली कांग्रेससँगै हो । तर, पूर्वपञ्चहरूको ठूलो संख्या कांग्रेसभन्दा कम्युनिस्टहरूलाई रुचाउँछन् । अर्कातिर, कांग्रेसका कार्यकर्ता भने कम्युनिस्टलाई भोट हाल्न तयार हुँदैनन् । यसैले कांग्रेस कमजोर हुँदा राप्रपालाई लाभ हुनसक्छ तर राप्रपा कमजोर हुँदा कांग्रेसलाई खासै लाभ हुँदैन । यसैले राप्रपाका कार्यकर्ता पुराना पञ्चहरूको कांग्रेसलाई शत्रु ठान्ने मानसिकताबाट मुक्त हुन सकेनन् भने सहकार्य हुनसक्तैन । यसले पनि राप्रपा वैकल्पिक लोकतान्त्रिक दल बन्छ कि बन्दैन भन्ने किटान गर्नेछ ।
अहिलेसम्म पनि राप्रपाको नेतृत्व पूर्वपञ्चहरूले नै गरिरहेका छन् । पुराना पञ्चलाई चिन्ने मतदाता अब १० वर्षपछि अत्यन्त थोरै हुनेछन् । यसैले राप्रपाको महाधिवेशनले छान्ने नेतृत्वको अनुहारले पनि यस दलको सम्भावना उजागर गर्नेछ । पञ्चायतका तेस्रो पुस्ताका कमल थापाले नै पनि ६० नाघिसके । अब त पञ्चायत नभोगेको पुस्ता राजनीतिमा पनि निर्णायक हुने उमेरमा पुगेको छ । पञ्चायत समाप्त भएपछि जन्मेकै पुस्ताले पनि २५ वर्ष काटिसक्यो । राप्रपा अहिलेसम्म पञ्चायतमा को वरिष्ठ थियो त्यसैका आधारमा प्रभावशाली मान्ने अघोषित परम्परा कायम रहेको देखिएको छ । यस महाधिवेशनले छान्ने नेतृत्वले राप्रपा विगत हो कि आगत हो भन्ने निर्क्योल गर्नेछ ।
पूर्वपञ्चहरूमा पद नपाउनेबित्तिकै पार्टी फुटाउने प्रवृत्ति पनि विगतमा उत्तिकै देखिएको थियो । पञ्चायतको व्यक्तिवादी राजनीतिमा दीक्षित भएकाले उनीहरूमा यस्तो प्रवृत्ति हुनु अस्वाभाविक पनि होइन । कमल थापामा भने मौका पर्नेबित्तिकै पार्टी कब्जा गरिहाल्ने प्रवृत्ति विगतमा देखिएको छ । अहिले नै राप्रपाका केही वरिष्ठ नेताले झिनो स्वरमा असन्तुष्टि प्रकट गर्न थालेका छन् । केन्द्रीय समितिमा अरू नेताले पाखा पारिएको ठाने भने उनीहरू इबी साँध्नकै लागि पनि पार्टी फुटाउने उपक्रममा लाग्न सक्छन् । राप्रपाको एकता घोषणा सभामा वरिष्ठ नेता विश्ववन्धु थापाले एकता धेरै पटक भएको स्मरण गराउँदै लोकतन्त्रलाई आत्मसात् गरेमात्र फुटबाट जोगिन सकिन्छ भनेर राप्रपाका सबै नेता कार्यकर्तालाई तिनको कमजोरी बताइदिएका थिए । के राप्रपाका नेता कार्यकर्ताले यी पाका लोकतन्त्रवादी नेताको अभिव्यक्तिको मर्म बुझ्लान् ? लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनमा अहिले सहमतिका नाममा प्रहार गर्ने कार्य भइरहेको छ । ठूला भनिएका दलका शीर्ष नेताहरूको चरित्र र प्रवृत्ति मध्ययुगका युद्ध सरदारहरूको जस्तो छ । यस्तोमा लोकतान्त्रिक मूल्य र विधिका शासनका पक्षमा लोभ र डर त्यागेर उभिने नेता एवं पार्टीको अभाव पूरा गर्ने आँट तथा धैर्य राप्रपाले देखाउन सक्ला ?
अर्थात्, राप्रपा अहिले अग्निपरीक्षामा छ । अग्निपरीक्षामा उत्तीर्ण हुनसकेमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि वैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने बाटो खुल्नेछ ।