site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समृद्धिको चटारो 

तलको तस्बिर बसुन्धरास्थित प्रहरी चौकी नजिकै सामाखुसी खोलाको हो । दुवै किनार चेपेर साँगुरो बनाइएको खोला प्लास्टिकले छोपिएको छ । वारपार गर्न र कतिपय ठाउँमा आँगन बनाउन ढलान गरेर खोला छोपिए पनि यसरी प्लास्टिकको छानो नै हालेको देखिएको थिएन । यसरी खोलै छोेप्न किन परेको होला ?   

\"\"

खोलाको छेउमा हालै एउटा ‘ब्यांक्वेट हल’ बनाइएको रहेछ । मेरो अनुमान त्यही ब्यांक्वेट हलका कारण खोलालाई छानो हाल्न परेको हुनुपर्छ । हिउँद लागेपछि खोलाबाट सहनै नसकिने दुर्गन्ध निस्कन्छ । भोजमा आउनेलाई पनि पक्कै गनायो होला । अनि खोलालाई छानो हालेर गन्ध कम गर्ने जुक्ती गरिएको हुनुपर्छ । खोलाबाट निस्कने दुर्गन्धले वरपरका अरू बासिन्दालाई पनि पक्कै सताउँछ । अरूले के गर्ने ?

Prabhu Bank
Agni Group
NIC Asia

खोलै छोपेर वा ढाकेर गन्ध लुकाउने कि खोलालाई गन्धरहित बनाउन प्रयास गर्ने ? कति खर्च लाग्ला ? अनि काठमाडौंको हुरी त्यसरी छोपिएको बतासले थेग्ला ? सामाखुसी ढाक्ने यो जुक्तीले अहिलेको समृद्धिको प्रतिनिधित्व गर्छ । नेपालमा विकासका नाममा र पछिल्ला दिनमा ‘समृद्धि’का नारामा यस्तै काम भएका छन् । 

प्रधानमन्त्रीको हतार

Global Ime bank

सरकारको काम गराइ र प्रधानमन्त्री केपी ओलीको कथनले उनलाई देश समृद्ध बनाउन निकै हतार भएको सजिलै बुझिन्छ । त्यसो हुनु अस्वाभाविक पनि होइन । सन् १९५० भन्दा पहिले जन्मेकाहरूसँग अब बढीमा एक दशक न छ । यही १० वर्षमा देश समृद्ध भएको देख्नु छ । अझ प्रधानमन्त्री ओलीका लागि त समय भनेको आउने चुनावसम्म हो । त्यसपछि जनताले के निर्णय गर्छन् कसैले भन्न सक्तैन । यही एक वर्षैमा ५० वर्ष कम्युनिस्ट पार्टीले शासन गर्ने सपनाबाट त सबै बिउँझिइसके होलान् नि ! यसैले प्रधानमन्त्री ओली समृद्धिका लागि निकै व्यग्र देखिन्छन् । समृद्धिकै लागि त होला सेनालगायत राज्यका सबै शक्ति आफूमा केन्द्रित गर्न ओली अगाडि सरेका ! 

शक्ति एकत्रित भए फटाफट निर्णय र विकास हुने अनि देश समृद्ध हुने उनले ठानेको हुनुपर्छ । तर, यथार्थमा त्यसो हुँदैन । संसारमा कतै पनि त्यसरी विकास भएको छैन । विकासको त शाब्दिक अर्थ नै क्रमशः फूलजसरी फक्रनु हुन्छ । समृद्धि त यसै पनि विवादास्पद विषय हो । यो बहस अहिले थाती राखौँ । 

समाजवादी विकास 
प्रधानमन्त्री ओलीको सपनाको समृद्धि हासिल गर्न देखाइएको हतारमा देशमा दूरगामी नकारात्मक प्रभाव पर्नेमा पटक्कै चिन्ता गरिएको देखिएन । यसै पनि सत्ता र विपक्षमा ‘समाजवादी’ छन् । उनीहरूको विकासको परिकल्पना उस्तैउस्तै छ – व्यक्ति र प्रकृतिको सकेसम्म दोहन गरेर ठूला संरचना बनाउने अनि त्यसबाट जति सकिन्छ हात पार्ने । नागरिक समाज पनि बढी नै भौतिक विकासको पक्षधर छ । यसैले देश र जनताको हितको आवाज अरण्य रोदन हुने स्पष्टै छ । तर, मनको सन्तोषका लागि भने पनि भनी त रहनै पर्छ !      
चीनको सिको गर्दा 
चीनको एउटा घटना युवल नोअ हरारीको पुस्तक ‘होमो डेअस : ए ब्रिफ हिस्टी अफ टुमारो’ बाट (हरारीका पुस्तक नपढे पनि उद्धृत नगरे त अपढमै गनिने भइसक्यो । त्यसैले निकैपछि पढ्दै छु) । सन् १९५८ देखि ६१ सम्म माओ त्सेतुङले चीनमा ‘महान् छलाङ’ भनिने अभियान चलाएका थिए । माओले कृषि उत्पादन दोब्बर तेब्बर बनाउन आदेश दिए । उत्पादन दोब्बर बनाउने आदेश सरकारका विभिन्न तह हुँदै गाउँका मुखियासम्म पुग्यो । अध्यक्ष माओको आदेश नटेर्ने आँट कस्को ? उत्पादन नबढे पनि सबै तहबाट दोब्बर बढेको जानकारी दिइयो । अन्ततः चीन सरकारले ५० प्रतिशत बढी अन्न फलेको ठहर गरेर बढी हुने जति बेच्यो । हतियार र मेसिन किन्यो । फलस्वरूप, दुनियाँकै सबैभन्दा भयानक भोकमरीबाट करोडौं चिनियाँ अकालमा मरे ।  

कम्युनिस्ट चीनको समाचार अहिले त सरकारले जे रुचाउँछ त्यहीमात्र बाहिर आउँछ भने उतिबेलाको के कुरा ? चीनले अन्न उत्पादनमा चमत्कार गरेको समाचार संसारभर फैलियो । अनिकालले करोडौं मानिस मरेको कसैले थाहा पाएनन् । 

तान्जानियाका राष्ट्रपति जुलियस नेरेरे उत्पादनको समाचारबाट प्रभावित भएर चिनियाँ ‘मोडल’ अपनाउन आदेश दिए । किसानहरू आफ्नो जमिन छाडेर सामूहिक फर्महरूमा जान मानेनन् । सेना लगाएर पनि किसानलाई सरकारी फार्महरूमा काम गर्न बाध्य पारियो । कर्मचारी संसारमा जहाँ भए पनि अधिकांश चाटुकार नै हुन्छन् । फूलबुट्टा भरेर सामुदायिक फार्मको प्रचार गरे । अफ्रिकाको सबैभन्दा ठूलो अन्न निर्यात गर्ने तान्जानिया १० वर्षभित्रै अन्न आयात गर्ने मुलुक बन्न पुग्यो । सन् १९७९ तान्जानियाका ९० प्रतिशत किसान सामूहिक फार्ममा काम गर्थे तर कृषि उत्पादनको ५ प्रतिशतमात्र तिनका फर्ममा हुन्थ्यो । 

चीनको सिको यता पनि ! 
प्रधानमन्त्रीको समृद्धि चटारो प्रदेश सरकारहरूले पनि बुझेका छन् । यसैले गण्डकी, दुई र तीन नम्बर गरी ३ वटा प्रदेश सरकारले चीनबाट अनुदान तथा ऋणमा गरी ३२ अर्ब रुपैयाँमा १० हजार गाई किनेर ल्याउने तयारी गरेका छन् । समाचारअनुसार ती उन्नत गाईले दिनको ३५ लिटर दूध दिन्छन् । यसरी गाई ल्याउने तयारीको चितवनस्थित ‘दुग्ध उत्पादक सहकारी संस्था’ले भने विरोध गरेको छ । संस्थाको विज्ञप्तिमा नस्ल सुधार गर्नुको साटो ठूलो संख्यामा चीनबाट गाई ल्याउनु गलत भएको उल्लेख छ । बेलाबखत सडकमा दूध पोख्न विवश किसानले एकैपटक दस हजार गाई ल्याउने सरकारी ‘मूर्खता’को विरोध गर्नु स्वाभाविकै हो । तर, प्रदेश सरकारहरूले नयाँ मूर्खता गरेका भने हैनन् ।

नेपालका तीनवटा प्रदेशमा एकैपटक १० हजार गाई थपिने हो भने अहिलेको सन्तुलन पक्कै बिग्रन्छ । दूध धेरै उत्पादन हुनेछ । अहिले नै दूध नबिकेर किसान चिन्तित छन् । थपिएको दूध बेच्न मुस्किल पर्ला । ठूलाले त बेच्लान् । साना मर्कामा पर्छन् । विकासे गाईलाई दाना पनि धेरै चाहिएला । तिनलाई घाँस पराल पनि चाहिएला । अहिलेका गाईकै भागबाट त दाना र घाँस पराल जुटाउने होला । कि दाना पनि चीनबाटै आयात गर्ने हो ? धेरैजसो अनुदान र ऋण मिसाउनेहरूले आफ्नै व्यापार बढाउने काम गर्छन् । 

नोक्सानै पर्न थालेपछि स्थानीय गाई पाल्न बिस्तारै छाडिनेछ । कालान्तरमा रैथाने गाईको प्रजाति नै मासिने जोखिम हुन्छ । विकासे धानले कति रैथाने धान मासिए भन्ने सायद रेकर्ड पनि छैन । 

चीनबाट ल्याउने भनिएका गाई एउटै उमेरका हुने होलान् । एकैपटक थपिएका १० हजार गाई बूढा पनि सँगै हुन्छन् । मर्न पनि लगभग सँगै मर्लान् । तिनको व्यवस्थापन कसरी गर्ने ? काटेर खाने चलन छैन । कि काट्नका लागि उतै फर्काउने हो ? अहिले पो पालैसँग मर्छन् र सिनो तह लगाउन खासै मुस्किल हुँदैन । एउटै उमेरका गाई एकैपटक मर्न थालेपछि कसरी तह लगाउने ? 

तान्जानियाले गरेको गल्ती नेपालले पनि गर्नै पर्ने हो ? 

नेपालका शासकहरूलाई पनि लाग्दो हो जनतालाई अनुशासन (जे भन्यो त्यही मान्ने) मा राख्न पाए देशको विकास सजिलै हुन्छ । चीनले जस्तै चमत्कार गर्न सकिन्छ । उनीहरूको दीक्षाअनुसार विश्वास लाग्नु अस्वाभाविक पनि हैन । तर, यस्तै सर्वसत्तानवादी अभ्यास ३० वर्ष  राजाहरू पनि गरेका र पछि हारेका चाहिँ यिनले बिर्से । यस्तो अनुशासनमा बस्दैन नेपाली समाज । के गर्नु ?

समृद्धिको परिभाषा के ?   

‘समृद्धि‘ लोभ हो । लोभले लाभ, लाभले विलाप भन्छन् । सुख दिने बाटो रोजौँ र हाम्रा आवश्यकता परिभाषा गरौँ । नेपाल सानो मुलुक हैन । गरिब पनि छैन । पुग्छ र सक्छ जनताका आवश्यकता पूरा गर्न । हाम्रो भूगोल र इतिहासले पनि मिलेर तर आत्मनिर्भर बाँच्न सिकाएको छ । बाध्य पनि पारेको छ । विदेशी पैसा चाहिने एकैपटक १० हजार गाई भित्र्याउनमात्रै हो । यहीँका गाइँ घरघरै पालेर दूघभात खान विदेशी ऋण लिन पर्दैन । डा. देवेन्द्रराज पाण्डेले बीस वर्ष पहिले नै ‘नेपाल्स फेल्ड डेभेलपमेन्ट’ लेखेर बताइसकेका छन् – विदेशी पैसाका भरमा विकास हुँदैन । बुझ्नेले कुरा नबुझेपछि के लाग्छ र ?

यसै पनि परम्परागत अर्थको ‘समृद्धि’ले व्यक्तिलाई सुखी र खुसी दुवै बनाउँदैन । र, भुटानी शैलीको एकरसे खुसी पनि नेपालजस्तो विविध भूगोग, इतिहास, जाति, संस्कृति र अर्थतन्त्र भएको समाजमा सम्भव छैन । विश्वकै एउटा सम्पन्न सभ्यता मानिने नेपाल मण्डल र मिथिला, थरुहट, ताम्सालिङ, खसान सबैका राम्रा पक्षहरू लिएर नयाँ परिभाषा बनाउन वा अर्थ दिन सकिन्छ । कुनै बुटी जोगाउन हिमालमा प्रयोग गरिने उपाय मधेसमा पनि काम लाग्छ कि ? हामीले विकासको अभियानमा हेर्नुपर्ने त यस्ता पक्ष हैनन् ?

चीनको विकासलाई संसारले नै चमत्कार मानेको छ । तर, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिकति फरक नीति लिनेबित्तिकै चीनमा आर्थिक वृद्धि मन्द भएको छ । उत्पादन घटेकाले बेरोजगारी बढेको, त्यसबाट मध्यमवर्गसमेत मारमा परेको र क्रयशक्ति घटेर उत्पादन घटेको समाचार द न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित छ । दुनियाँको दोस्रो अर्थतन्त्रलाई त परनिर्भर हुँदा यति सानो झड्काले हल्लाउँदो रहेछ भने नेपाललाई चीनको वा भारतको शैलीमा विकास गर्न खोज्दा के होला ?

धेरै सुनिन्छ चीनको जस्तो, भारतको जस्तो विकास ! भन्छन् – चीनको भौतिक विकासमा पसिनाभन्दा आँसु र आँसुभन्दा रगत धेरै बगेको छ । समानताका नाममा करोडौंको ज्यान लिएपछि अहिलेको चीन तीव्र गतिले आर्थिक असमानतातिर बढ्दै छ । अझै पनि लाखौं जनालाई ‘श्रम शिविर’ राखिएकै छ । भारतमा बर्सेनि १२ हजार किसानले मूलतः खेती गर्न लिएको ऋण तिर्न नसकेर आत्महत्या गर्छन् । सरकारले किसानको आत्महत्या रोक्न त खासै प्रयास गरेको छैन तर आत्महत्याको आधिकारिक तथ्यांक भने प्रकाशन गर्नै छाडिदियो । त्यहीँ प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्ना कृपापात्र धनाड्य अनिल अम्बानीलाई फाइदा पुग्नेगरी ३० हजार करोड रुपियाँ राज्यको कोषबाट दिलाएको आरोप लागेको छ । 

के हामीले खोजेको समृद्धि यस्तै हो ? 

प्रतिव्यक्ति आयमात्र बढाउने हो भने त सजिलो छ । देशका सबै खोलानाला र पहाडहरू मनपरी खोस्रेर ढुंगा, माटो, बालुवा, गिटी बेच्न पाइने ठेक्का लगाइदिने हो कति पैसा आउँछ हिसाबै गर्न सकिँदैन होला । मुलुकको प्रतिव्यक्ति आय त ह्वात्तै बढ्छ होला । गरिबको हातमा नपरे पनि राज्यको ढुकुटीमा त पैसा आउँछ नि ! त्यसरी पनि समृद्ध हुन उचित हुन्छ त ?  
र अन्त्यमा,

संस्था समाप्त पार्न सजिलो हुन्छ । काठमाडौं विश्वविद्यालयबाट डा. सुरेशराज शर्मालाई हटाउने निर्णय अहिले डा. विपिन अधिकारीले छाड्ने अवस्थासम्म आइपुग्दा कति हानि भएको छ त्यसको हिसाबकिताब सायद गर्नै सकिँदैन । देशमा त्यसको कस्तो असर पर्ला त्यो पनि किटान गर्न सकिँदैन । परन्तु, काठमाडौं विश्वविद्यालयभन्दा पछि सुरु भएका विश्वविद्यालयहरूको दुर्दशा हेर्ने हो भने एउटा संस्थाको निर्माण गर्न कति कठिन हुन्छ र कति सजिलै भत्किन्छ भन्ने स्पष्टै देखिन्छ । संस्थापक उपकुलपति डा. शर्मालाई हटाएदेखि नै खस्कन थालेको काठमाडौं विश्वविद्यालयको साख पुरानै ठाउँमा फर्काउन निकै समय र परिश्रम आवश्यक हुन्छ । बिगार्न भने डा. बाबुराम भट्टराईको एउटै सनक काफी भयो । समृद्धिका नाममा संस्था समाप्त पार्ने काम नगरौँ । प्रत्युत्पादक हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC