काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि महामन्त्री डा शशांक कोइराला पनि जिल्ला दौडाहामा निस्किने भएका छन्।
महामन्त्री कोइराला आगामी चैत ११ गतेबाट प्रदेश नम्बर ५ का जिल्लाहरुको दौडाहामा निस्किने तयारीमा लागेका छन्। निजी सचिव तथा महासमिति सदस्य भरत तिवारीका अनुसार महामन्त्री कोइरालाको दाङबाट हुने जिल्ला दौडाहा गुल्मी पुगेर सम्पन्न हुने भएको छ।
चैत ११ गते कोइरालाको जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा सहभागि हुनका लागि दाङ जाने कार्यक्रम छ। १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर उनी बाँकेको नेपालगञ्ज जाने निजी सचिव तिवारीले जानकारी दिए।
महामन्त्री कोइरालाले चैत १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तालिका रहेको छ। उनी नेपालगञ्जबाट कपिलवस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत १४ गते कपिलवस्तु पुग्नेछन्। कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलवस्तु बस्ने भने तय भइनसकेको तिवारीले बताए।
महामन्त्री कोइराला चैत १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ। पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर महामन्त्री कोइराला चैत १६ गते गुल्मी प्रस्थान गर्ने कार्यक्रम छ। १५ गतेबाट गुल्मी बसेर महामन्त्री कोइराला चैत १७ गते कांग्रेस गुल्मीको जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको निजी सचिव तिवारीले बताए।