Skip Advt.

टोबा टेक सिंह

टोबा टेक सिंह

– सआदत हसन मन्टो


विभाजित भएको दुई–तीन वर्षपछि भारत र पाकिस्तान सरकारलाई सामान्य कैदीहरूको जस्तै पागलहरूको पनि अदलबदल गर्नुपर्ने आवश्यकता महसुस भयो । जो मुसलमान पागल भारतका पागलखानामा थिए, तिनीहरूलाई पाकिस्तान पठाउने र पाकिस्तानमा भएका पागलहरूलाई भारत पठाउने निर्णय गरियो ।

यो ठीक थियो वा थिएन, थाहा छैन । केही बुद्धिजीवीहरूको फैसलाअनुसार यता र उता केही उच्च तहका बैठकहरू बसे र पागलहरूको साटफेर गर्ने निर्णय गरियो । जो मुसलमान पागल थिए, तिनीहरूका आफन्तलाई त्यहीँ बस्न दिइएको थियो । जो बाँकी थिए, उनीहरूलाई सीमासम्म पुर्‍याइएको थियो । पाकिस्तानबाट करिब–करिब सबै हिन्दू–सिख गइसकेका थिए । त्यसैले कसैलाई राख्ने सवाल नै पैदा भएन । जति पनि हिन्दू–सिख पागल थिए, सबैलाई प्रहरी संरक्षणमा सीमासम्म पुर्‍याइएको थियो । उताको थाहा भएन तर यता लाहोरको पागलखानामा जब साटफेरको खबर पुग्यो, एकदमै अचम्म र कौतूहुलपूर्ण घटना हुन थाले ।

एक मुसलमान पागल सधैंजसो उर्दू दैनिक पत्रिका ‘जमिन्दार’ पढ्ने गथ्र्यो । उसले आफ्नो साथीलाई सोध्यो, “मौलवी साहेब, यो पाकिस्तान भनेको के हो ?”

बडो गम्भीरतापूर्वक सोच्दै उसको साथीले जवाफ दियो, “हिन्दूस्तानमा एउटा ठाउँ छ, जहाँ छुरा बनाइन्छ ।”

साथीको उत्तर सुनेर ऊ मख्ख प¥यो ।

यसैगरी एउटा सिख पागलले अर्काे सिख पागललाई सोध्यो, “सरदारजी, हामीलाई हिन्दुस्तान किन पठाइँदैछ ? हामीलाई त त्यहाँको भाषा पनि आउँदैन ।”

दोस्रोले मुस्कुराउँदै भन्यो, “मलाई त हिन्दुस्तानको भाषा आउँछ, ती मूर्ख हिन्दुस्तानी पूरा गर्व र आत्मविश्वासका साथ हिँड्छन् ।”

एकजना पागल नुहाउँदा नुहाउँदै जोड–जोडले ‘पाकिस्तान जिन्दावाद’को नारा लगाउँदै थियो । भुइँमा चिप्लिएर लड्यो र बेहोस भयो । केही पागलहरू यस्ता पनि थिए, जो पागल थिएनन् । केही हत्यारा पनि थिए । फाँसीको फन्दाबाट जोगाउन आफन्तहरूले अधिकारीहरूलाई घूस दिएर पागलखानामा भर्ती गराएका थिए । तिनीहरूलाई भारतको विभाजन र पाकिस्तान के थियो भन्नेबारे केही मात्रै जानकारी थियो । उनीहरू सम्पूर्ण घटनाक्रमबाट बेखबरजस्तै थिए ।

पत्रपत्रिकाले विरलै यस्ता खबर प्रकाशन गर्थे । पहरा दिने सिपाहीहरू पनि पढेलेखेका थिएनन् । उनीहरूलाई यो भने थाहा थियो कि त्यहाँ एकजना व्यक्ति (जो कायद–ए–आजमको नामले चिनिन्छन्)ले मुसलमानहरूका लागि छुट्टै देश पाकिस्तानको परिकल्पना र निर्माण गरे । उनीहरू आफू पाकिस्तान वा भारतमा रहेको विषयमा अन्योलमा थिए ।

यदि उनीहरू भारतमा थिए भने पाकिस्तान कहाँ थियो ? यदि उनीहरू पाकिस्तानमा थिए भने केही समयपहिले त उनीहरू भारतमै थिए ।

केही समयपहिले भारतमा रहेका उनीहरू अचानक पाकिस्तानमा हुनु कसरी सम्भव छ ?

एक पागल त हिन्दुस्तान–पाकिस्तान र पाकिस्तान–हिन्दुस्तानको चक्करमा अझ पागल भयो ।

एकदिन कुचो लगाउँदा–लगाउँदै रुखमा चढेर दुई घण्टासम्म भारत र पाकिस्तानको संवेदनशील मामिलामा भाषण दियो । सिपाहीहरूले उसलाई तल ओर्लन आग्रह गरे तर ऊ अझ माथि–माथि चढ्यो । उसलाई डर धम्की देखाइँदा उसले भन्यो, “म न हिन्दुस्तानमा बस्छु न पाकिस्तानमा, म त यही रुखमा बस्छु ।”

धेरै बेरको आनाकानीपछि ऊ तल ओर्लियो र आफ्ना हिन्दू–सिख साथीहरूसँग अंकमाल गर्दै रुन लाग्यो । उसलाई उनीहरूले छाडेर हिन्दुस्तान जान्छन् भन्ने कुराले खिन्न बनाएको थियो ।

एक एमएससी पास मुसलमान रेडियो इन्जिनियर अरुभन्दा एकदमै अलग थियो । पूरा दिन चुपचाप रहन्थ्योे अनि एक्लै हिँड्थ्यो । एकदिन उसले आफ्नो सारा कपडा फुकालेर गार्डलाई दियो र बगैँचातिर दौडियो ।

अर्काे मोटो मुसलमान पागल (जो पहिले मुस्लिम लिगको सक्रिय कार्यकर्ता थियो)ले दिनको १५–१६ पल्ट नुहाउने गथ्र्यो । अचानक उसले नुहाउन छाड्यो । उसको नाम मोहम्मद अली थियो र उसले एकदिन आफू कायद–ए–आजम मोहम्मद अली जिन्नाह नै भएको दाबी ग¥यो । उसकै देखासिकी गरेर अर्काे सिख पागलले आफू सिख नेता तारासिंह भएको दाबी ग¥यो । यसले दुवै जनाबीच ठूलो झगडा हुन सक्ने देखेर अधिकारीहरूले दुवैलाई खतरनाक पागलको संज्ञा दिँदै अलग–अलग कोठामा राखे ।

लाहोरको एक युवा वकिल थियो, जो आफ्नो प्रेम असफल भएर पागल भएको थियो । जब उसले अमृतसर हिन्दुस्तानमा गएको खबर सुन्यो, ऊ धेरै दुःखी बन्यो । ऊ त्यही सहरको हिन्दू केटीसँगको प्रेममा थियो । यद्यपि केटीले उसको प्रस्तावलाई अस्वीकार गरेकी थिई, उसले केटीलाई भुल्न सकेको थिएन । उसले बारम्बार हिन्दू र मुस्लिम नेताहरूलाई भारतलाई दुई टुक्रा बनाएको र आफ्नी प्रेमिकालाई हिन्दुस्तानी र आफूलाई पाकिस्तानी बनाएको भन्दै गाली गथ्र्याे । जब साटफेरको कुरा सुरु भयो, उसका साथीहरूले उसलाई मन सानो नपार्न आग्रह गरे । उसलाई उसकी प्रेमिका रहेकै देश हिन्दुस्तान पठाउने कुरा सुनाइए पनि ऊ लाहोर छोड्न चाहन्थेन । उसलाई आफ्नो कानुन व्यवसाय अमृतसरमा चल्दैन भन्ने पीर परेको थियो ।

युरोपियन वार्डमा दुई जना अंग्रेजी–भारतीय पागलहरू थिए । ब्रिटिसहरूले छोडेर जाँदै गरेको खबर सुन्दा उनीहरू निकै दुःखी भए । घण्टौंसम्म उनीहरू युरोपियन वार्ड हटाइएला कि भन्ने चिन्ता र ब्रेडको साटो सुख्खा रोटी पाइने हो कि भन्ने विषयमै कुरा गरी बस्थे ।

एउटा सिख पागल थियो, जसलाई १५ वर्षअघि भर्ती गरिएको थियो । जब ऊ बोल्थ्यो, अजिब–गरिब शब्दहरू सुनिन्थ्यो, ‘उपर दी गुडगुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ द लालटेन ।’

ऊ कहिलेकाँही भित्तामा अडेस लागेर उभिन्थ्यो । धेरै उभिएकाले उसका खुट्टा सुनिएका थिए । शारीरिक अवस्था निकै नाजुक भए पनि ऊ आराम गर्दैनथ्यो । उसले कहिल्यै सुतेर आराम गरेन । हिन्दुस्तान–पाकिस्तान र पागलहरूको साटफेरबारे चर्चा–परिचर्चा हुँदा ऊ निकै ध्यानपूर्वक सुन्ने गथ्र्यो । कसैले यसबारे उसको राय मागे जवाफ दिन्थ्यो, “उपर दी गुडगुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ द पाकिस्तान गवर्नमेन्ट ।”

तर पछि उसले ‘अफ द पाकिस्तान गवर्नमेन्ट’ को साटो ‘अफ द टोबा टेक सिंह गवर्नमेन्ट’ भन्न थालेको थियो । ऊ अरु साथीहरूलाई टोबा टेक सिंह कहाँ पर्छ र ऊ कहाँको हो भन्नेबारे बारम्बार सोधिरहन्थ्यो । तर, कसैलाई थाहा थिएन ऊ पाकिस्तानमा छ कि हिन्दुस्तानमा । जसले बताउने प्रयास गर्थे, उनीहरू आफंै समस्यामा पर्थे । पहिला स्यालकोट हिन्दुस्तानमा थियो, अब पाकिस्तानमा छ । के थाहा– लाहोर अहिले पाकिस्तानमा छ, भोलि हिन्दुस्तानमा जाने हो कि ? कसले छातीमा हात राखेर भन्न सक्थ्यो कि हिन्दुस्तान र पाकिस्तान भोलि विश्वमानचित्रबाट गायब नहोला भनेर ?

त्यो सिख पागलको कपाल एकदमै पातलो थियो । ऊ विरलै नुहाउँथ्यो । दारी र कपाल एक आपसमा जोडिएर लट्टा परेको थियो, त्यसैले पनि उसको रूप भयानक देखिन्थ्यो । उसले कसैलाई हानि नोक्सानी पु¥याउँदैनथ्यो । १५ वर्षमा उसले कसैसँग एकपटक पनि झगडा गरेको थिएन । पागलखानाका पुराना कर्मचारीहरूका अनुसार टोबा टेक सिंहमा उसको धेरै जमिन थियो । खानदानी जमिन्दार थियो ऊ । अचानक उसको मगज खुस्कियो । उसका आफन्तले मोटो–मोटो सिक्रीले बाँधेर ल्याएका थिए उसलाई । 

महिनामा एकपल्ट आफन्तहरू भेटघाटका लागि आउँथे र हालखबर बुझी फर्कन्थे । जब हिन्दुस्तान–पाकिस्तानबीचमा गडबड सुरु भयो, उनीहरूको आउने क्रम पनि बन्द भयो ।

उसको नाम विशन सिंह थियो तर उसलाई सबैले टोबा टेक सिंह भन्ने गर्थे । उसलाई केही थाहा हुन्थेन कि यो कुन दिन, कुन महिना र कुन साल हो । तर, जब हरेक महिना उसका आफन्तहरू आउने समय नजिकिन्थ्यो, उसलाई आफ से आफ थाहा हुन्थ्यो । ऊ गार्डसँग आफ्नो भेटघाटको समय आएको कुरा बताउँथ्यो । त्यो दिन ऊ राम्रोसँग साबुनले जिउ रगडी–रगडी नुहाउँथ्यो । कपालमा तेल लगाएर कोथ्र्याे र चटक्क परेर आफन्त भेट्न निस्कन्थ्यो । प्रायः चुप रहने ऊ कसैले केही सोध्यो भने कहिलेकाहीँ ‘उपर दी गुडगुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ द लालटेन’ भन्ने गथ्र्यो । 

उसकी एक छोरी थिई, जो हेर्दाहेर्दै १५ वर्षमै हलक्क बढेकी थिई । विशन सिंह उसलाई चिन्दैनथ्यो । जब ऊ सानै थिई, आफ्नो बुबालाई पागलखानामा देखेर रुने गर्थी । ऊ ठूली भइसके पनि उसका आँखाबाट आँशु बग्न रोकिएको थिएन ।

हिन्दुस्तान र पाकिस्तानबीचमा गडबड सुरु भएपछि उसले अरु पागल साथीहरूसँग सोध्ने गथ्र्यो, “टोबा टेक सिंह कहाँ छ ?”

कसैले उसलाई बताउन सक्थेनन् । सन्तोषजनक उत्तर नपाएकोले ऊ विक्षिप्त हुँदै गएको थियो । अहिले त उसका आफन्तहरू पनि आउन छाडेका थिए । पहिले–पहिले उसले आफन्तहरू आउने समय आफैं थाहा पाउँथ्यो । अब त उसको मन पनि मरिसकेको छ ।

ऊ सधैँ उनीहरू आऊन् भन्ने चाहन्थ्यो । उनीहरू आएर ऊप्रति सहानुभूति प्रकट गर्थे । उसका लागि फलफूल, मिठाई र कपडा ल्याइदिन्थे । यदि उसले कसैसँग टोबा टेक सिंहको बारेमा सोध्यो भने उनीहरू उसलाई टोबा टेक सिंह कि पाकिस्तानमा छ कि हिन्दुस्तानमा छ भन्ने गर्थे । उसले उनीहरू टोबा टेक सिंहबाटै आउने गरेको ठान्थ्यो, जहाँ उसको जमिन थियो । 

पागलखानामा एउटा पागल थियो, जसले आफू भगवान भएको घोषणा गरेको थियो । एकदिन विशन सिंहले ऊसँग टोबा टेक सिंह पाकिस्तानमा पर्छ कि हिन्दुस्तानमा भनेर सोध्यो । उसले जोडले हाँस्दै भन्यो, “यो न पाकिस्तानमा छ, न हिन्दुस्तानमा, त्यसैले त मैले अहिलेसम्म आदेश दिएको छैन ।”

विशन सिंहले आफैंलाई भगवान भन्ने व्यक्तिसँग समस्या सुल्झाउनका लागि आदेश दिन आग्रह ग¥यो । तर त्यो ‘भगवान’ अरु नै काममा व्यस्त थियो । उसलाई अरु धेरै कुरामा आदेश जारी गर्नु थियो । अन्तिममा विशन सिंहको धैर्यको बाँध फुट्यो र चिच्यायो, “उपर दी गुडगुड दी एनेक्स दी बे ध्याना दी मुंग दी दाल अफ गुरुजी एन्ड द खालसा, एण्ड गुरुजी द फतह– जो बोले सो निहाल–सत्त श्री अकाल ।”

सम्भवतः उसले भन्न खोजेको थियो, “तिमी मुसलमानहरूको भगवान होऊ, यदि सिखहरूको भगवान भएको भए मेरो कुरा त सुन्थ्यौ ।”

साटफेर हुनुभन्दा केही दिनअगाडि टोबा टेक सिंहबाट विशन सिंहको मुसलमान साथी उसलाई भेट्न आएको थियो । यसभन्दा अगाडि ऊ कहिल्यै आएको थिएन । जब विशन सिंहले उसलाई देख्यो, त्यहाँबाट हटेर फिर्ता जान खोज्यो । तर, सिपाहीहरूले उसलाई रोकेर भने, “यी तिमीलाई भेट्न आएका हुन्, तिम्रो साथी फजलुद्दिन हुन् ।”

विशन सिंहले फजलुद्दिनलाई एकपटक हे¥यो र बरबराउन थाल्यो । फजलुद्दिन अगाडि बढेर उसको काँधमा हात राख्दै भन्यो, “मैले धेरै दिनदेखि सोचिरहेको थिएँ कि तिमीलाई भेटँु तर फुर्सद नै भएन । तिम्रो परिवार ठीक छ र सबै सुरक्षित तवरले हिन्दुस्तान गए । मैले सकेको सहयोग गरँे, तिम्री छोरी रुपकौर...।”

ऊ बीचमै रोकियो । विशन सिंहलाई केही याद आएजस्तो भयो । 

छोरी रूपकौर ।

फजलुद्दिनले रोक्की–रोक्की भन्यो, “हो... ऊ...पनि...ठीकठाक छ । ... उनीहरूसँगै ऊ पनि गएकी हो ।”

विशन सिंह चुप लाग्यो । फजलुद्दिन बोल्न सुरु ग¥यो, “तिम्रो परिवारले तिम्रो अवस्था बुझ्न पठाएको थियो । तिमी पनि छिट्टै हिन्दुस्तान जाँदैछौ रे ! भाइ बलवीर सिंह र राघविर सिंह तथा बहिनी अमृत कौरलाई सलाम सुनाइदिनू । बलवीरलाई फजलुद्दिन सन्चै छ भनिदिनू । उनले छोडेर गएका दुईटै खैरा भैंसी ठीक छन् । एउटाले बाच्छो र अर्काेले बाच्छी जन्माएका थिए । तर, दुःखको कुरो– एउटा ६ दिनको भएर म¥यो । उनीहरूलाई मैले सधैँ सम्झन्छु । केही परेमा मलाई पत्र लेख्न भनिदिनू । मैले सकेको सहयोग गरौँला ।”

उसले झोलाबाट केही सामान निकाल्दै भन्यो, “यहाँ हेर त ! मैले तिमीलाई आरुबखडा ल्याइदिएको छु ।”

विशन सिंहले आरुबखडाको झोला समात्यो र गार्डलाई दियो । अनि उसले फजलुद्दिनसँग सोध्यो, “टोबा टेक सिंह कहाँ छ ?”

“टोबा टेक सिंह ?” अचम्मित हुँदै उसले भन्यो, “कहाँ छ ? जहाँ थियो, त्यहीँ छ ।”

विशन सिंहले सोध्यो, “पाकिस्तानमा कि हिन्दुस्तानमा ?”

“हिन्दुस्तानमा कहाँबाट हुनु नि, पाकिस्तानमै नि ।’

फजलुद्दिनले हडबडाउँदै जवाफ दियो । 

विशन सिंह बरबराउँदै गयो, “उपर दी गुडगुड दी एनेक्स दी बेध्याना दी मुंग दी दाल अफ द पाकिस्तान एन्ड हिन्दुस्तान अफ द गेट आउट, लाउड माउथ ।”

साटफेरको पूरा तयारी भइसकेको थियो । यताबाट उता जाने र उताबाट यता आउने पागलहरूको सूची आइसकेको थियो । मिति पनि निश्चित गरिएको थियो । जाडो एकदमै बढेको थियो । लाहोरको पागलखानाबाट हिन्दू–सिख पागलले भरिएको ट्रक प्रहरी टोलीको साथ छुटिसकेको थियो । सम्बन्धित अधिकारीहरू पनि सँगै थिए । वाघा बोर्डरमा दुवैतर्फका निरीक्षकहरूले एक आपसमा भेटघाट गरे र प्रारम्भिक जाँचपड्ताल सकिनेबित्तिकै साटफेरको काम सुरु भयो । रातभर साटफेर चलिरहयो ।

पागलहरूलाई ट्रकबाट निकाल्न र उनीहरूलाई अधिकारीहरूको जिम्मा लगाउने काम एकदमै गाह्रो थियो । कोही त बाहिर निस्कनै मान्दैनथे । जो बाहिर निस्कन्थे, उनीहरूलाई पनि सम्हाल्नु निकै मुस्किल थियो । जो नांगै थिए, उनीहरूलाई कपडा लगाइदिइन्थ्यो तर च्यातचुत पारेर शरीरबाट अलग गरिदिन्थे । कसैले गाली गरिरहे । तिनीहरू चिच्याए, गाए र एक आपसमा झगडा गरे । कोही रोए । महिला पागलहरू झन् हल्ला गरिरहेका थिए । तिनीहरूका दाँत जाडोले गर्दा कटकटिरहेका थिए ।

अधिकतम पागलले यो साटफेर मन पराएका थिएनन् । उनीहरूलाई थाहा थिएन– आफ्नो थातथलोबाट उचालेर कहाँ फालिँदै थियो ! जसले अलि–अलि बुझेका थिए, उनीहरूले ‘पाकिस्तान जिन्दावाद’को नारा लगाइरहेका थिए । दुईतीन पल्ट त झगडा होला–होला जस्तो भएर रोकिएको थियो । हिन्दू–सिख पागलहरू यस्तो नाराबाट रिसाएका थिए ।

विशन सिंहको पालो आउँदा उसलाई पठाउनका लागि कागजात मिलाउने काम हुँदै थियो । उसले सोध्यो, “टोबा टेक सिंह कहाँ छ ? पाकिस्तानमा कि हिन्दुस्तानमा ?”

अधिकारीले हाँस्दै जवाफ दिए, “पाकिस्तानमा ।”

यो सुनेर विशन सिंह उफ्रिँदै, दौैडँदै आफ्ना साथीहरू भएको तिर गयो । पाकिस्तानी सिपाहीहरूले उसलाई समाते र हिन्दुस्तानी अधिकारीहरूलाई बुझाउन खोजे, ऊ मान्दै मानेन । ऊ चिच्याउँदै भन्न थाल्यो, “टोबा टेक सिंह कहाँ छ ?”

अझ जोडले कराउन थाल्यो, “उपर दी गुडगुड दी एनेक्स दी बेध्याना दी मुंग दी दाल अफ टोबा टेक सिंह एन्ड पाकिस्तान ।”

उसलाई निकै नै सम्झाइयो, “हेर, टोबा टेक सिंह अब हिन्दुस्तानमा गयो । यदि गएको रहेनछ भने पनि उसलाई तुरुन्त पठाइनेछ ।”

तर पनि उसले मानेन । जबर्जस्ती अर्काेतर्फ लैजान खोजिँदा ऊ सुनिएकै खुट्टाले एक ठाउँमा उभियो । अब उसलाई कसैको तागतले हटाउन सकेन । कसैलाई हानि गर्ने खालको व्यक्ति नभएकोले उसलाई त्यहीँ छाडेर अधिकारीहरूले बाँकी काम सकाए ।

सूर्याेदय हुनुभन्दा केही समयअघि विशन सिंह बेस्सरी चिच्यायो । सबै ऊ भएतिर दौडिए । १५ वर्षसम्म आफ्नै खुट्टाले उभिएको उसको मुख भुइँमा धस्सिएको थियो । यता काँडेतारको पछाडि हिन्दुस्तान थियो भने उता पनि उस्तै काँडेतारको पछाडि पाकिस्तान थियो । बीचमा रहेको जमिनको टुक्राको कुनै नाम थिएन, जहाँ टोबा टेक सिंह थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

टोबा टेक सिंह

– सआदत हसन मन्टो विभाजित भएको दुई–तीन वर्षपछि भारत र पाकिस्तान सरकारलाई सामान्य कैदीहरूको जस्तै पागलहरूको पनि अदलबदल गर्नुपर्ने आवश्यकता महसुस

टोबा टेक सिंह

– सआदत हसन मन्टो विभाजनको दुईतीन वर्षपछि भारत र पाकिस्तान सरकारलाई सामान्य कैदीहरूको जस्तै पागलहरूको पनि अदलाबदली गर्नुपर्ने आवश्यकता महसुस भयो