काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिँदै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् । नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकुलपतिले गरेपछि त्यसको विरोधमा कार्यालय घेराउ गर्नुपरेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले बताए ।
यही फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ । सचिव लामिछानेले चैत १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारी विरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।
घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकुलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए ।