काठमाडौं । पश्चिमी वायुले बिहीबार बिहानैदेखि देशभर वर्षा भएको छ । आज पनि बिहानैदेखि देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन भइरहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौंमा पनि वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । त्यस्तै, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ । शनिबार पनि देशको पश्चिमी भेगमा आंशिक बदली रहने र मध्य तथा पूर्वी भेगमा सामान्य बदली रहने तथा आइतबारबाट मात्रै मौसममा सुधार हुने जनाइएको छ ।
पश्चिमी वायुको प्रभावले दुईदिनदेखि वर्षा भएको मौसम विभागले जनाएको छ । महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको बताए । उनका अनुसार यो मौसम प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ ।
उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तस्बिर रासस