कुमार लुइँटेल
विराटनगर । अनधिकृत बैंक ब्याजदरको विरोधमा आन्दोलनमा उत्रिएका प्रदेश–१ का उद्योगी व्यवसायीलाई वीरगञ्ज उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पनि एक्यवद्धता जनाएका छन् ।
उद्योग संगठन मोरङका नाममा दुबै वाणिज्य संघले औपचारिक पत्र पठाई समर्थन र एक्यवद्धता जनाएका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपला केडियाले विहीबार एक्यवद्धता पत्र पठाउँदै आन्दोलनमा आफूहरुको पनि साथ र समर्थन रहेको जनाएका छन् । उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा सुरु गरेको आन्दोलनले राष्ट्रव्यापी रुप लिएको छ ।
उद्योगीले आन्दोलनको स्वरुप र अबको बाटो तय गर्न विहीबार विराटनगरमा बृहत छलफल कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले राष्ट्र बैंकमा धर्ना दिनेदेखि उद्योगका चाबी सरकारलाई बुझाउनेसम्मका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।
कार्यक्रममा संगठनका अध्यक्ष भीम घिमिरेले सरकारको तर्फबाट मौखिक रुपमा वार्ताको लागि प्रस्ताव आएको तर आफूहरुलाई त्यो स्वीकार्य नभएको स्पष्ट गरे । भने,‘‘ठोस कार्यनीति र प्रस्तावसहित लिखित रुपमा आएमात्र हामी वार्तामा जान्छौ नत्र आन्दोलन जारी रहनेछ ।’’ घिमिरेले प्रदेश सरकारलाई अधिकार दिएर ठोस कार्ययोजनासहित आएपनि आफूँहरु वार्तामा बस्ने तर मागको सम्बोधन हुने कुराको ग्यारेन्टी हुनुपर्ने आफूहरुको धारणा रहेको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले सरकारले लिएको समृद्ध नेपालको यात्राको सहयात्रामा आफूँहरु पनि हिंड्न तयार रहेको बताउँदै भने,‘‘भन्दा उद्योगमैत्री वातावरण बनाउँछौं भन्ने तर बैंकको ब्याजदर बढाएर उद्योग नै खोल्न नसक्ने र बन्द गर्नुपर्ने अवस्था सिर्जना गर्ने सरकारको दोहोरो नीति हामीलाई मान्य छैन् ।’’ सारडाले राष्ट्र बैंकले बैंकको पक्षमा मात्र काम गरेको तर आफूहरुको मागको विषयमा खासै चासो नदिएको आरोप लगाए ।
सांसद तथा उद्योगी मोती दुगडले व्यवसायीको रुपमा आन्दोलन प्रति आफ्नो एक्यवद्धता रहेको जनाउँदै बैंकहरुको अनधिकृत ब्याजदरले उद्योगी मैत्री वातावरण झन् बिग्रिएको बताउँदै भने,‘‘हामीलाई बैंकले सहयोगीका रुपमा हेर्दैन । उसलाई नाफा मात्र कमाउनु छ । हामी बैंकबाट हुने कमजोरी सुधार होस भन्ने चाहन्छौ । उद्योग बचाउने अभियान पनि हो ।’’ उनले बैंकिङ क्षेत्रबाट लिएको ऋण एकैपटक तिर्छुभन्दा समेत रिपेमेन्ट चार्ज लिने गरिएको बताउँदै धेरै कमजोरी सुधार गर्न आवश्यक भएको चर्चा गरे ।
संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले सरकारको विरोधका लागि मात्र आन्दोलन सुरु नगरेको बरु सुझाव दिनका लागि अभियान सुरु गरिएको बताउँदै भने,‘‘हामी सरकारको खुट्टा तान्न अघि बढेका होइनौ बरु औद्योगिक वातावरण बनाउनु होस हामी सहयोगी हुन तयार छौं भन्ने सन्देशमात्र दिन खोजेका हौं ।’’ प्याकुरेलले अहिलेको परिस्थितिमा उद्योग व्यवसाय चलाउनै कठिन भएको सुनाए ।
उद्योग संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले उत्पादनले मात्र देशमा समृद्धि ल्याउने बताउँदै अहिलेको अवस्थाले भएका उद्योगसमेत बन्द हुने दाबी गरे । भने,‘‘बैंकबाट कर्जा लगानी झन् बढेको छ । ब्याज तिर्नकै लागि कर्जा लिने गरिएको छ । यो भयावह अवस्था हो ।’’ उनले संचित विदेशी मुद्राले धेरै आयात थेग्न नसक्ने दाबी गरे ।