काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । यसअघि कात्तिक २९ गते प्रकाशित बोलपत्रमा कुनै कम्पनी सहभागी नभएपछि राष्ट्र बैंकले उक्त प्रस्ताव रद्द गरी आज बुधबार दोस्रो पटक बोलपत्र आह्वान गरेको हो ।
केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान १ सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीले आगामी फागुन ९ भित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । बोलपत्र पनि फागुन ९ भित्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृत हुने छैन ।
बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ जेठ १४ सम्म रहने छ ।