कागजको विकास कसरी भयो ?

राजेशमान केसी

कागजको विकास कसरी भयो ?

भाइ–बहिनी हो । कागज आधुनिक युगमा हाम्रो दैनिक जीवनकै एक अभिन्न अङ्ग बन्न पुगेको छ । प्रत्येक दिनजसो हामी कुनै न कुनै रुपमा कागजको प्रयोग गरिरहेको हुन्छौं । किताब–कापी होस्, क्यालेण्डर होस्, अथवा समाचारपत्र । यी सबैको निर्माण कागजकै प्रयोगबाट हुन्छ । मासिक पत्रपत्रिकाहरुकोे उत्पादन पनि कागजको प्रयोगबाट बनेको हुन्छ । यसका साथै दैनिक उपभोग्य सामानहरु प्याकिङ गर्ने क्रममा पनि प्रायः कागजकै प्रयोग हुने गर्दछ ।
कागज, अङ्ग्रेजीमा जसलाई ‘पेपर’ भनिन्छ । यसको ब्यूत्पति ग्रीसको ‘पोपाइरस’ भन्ने शब्दबाट भएको हो । ‘पोपाइरस’ एक प्रकारको लामो मलिन घाँस हो । जुन घाँस ग्रिसमा प्रशस्त उम्रने गर्दछ । यो घाँस कैयौं मिटर लामो हुने गर्दछ । यसै प्रयोगबाट प्राचीन मिश्रबासीहरु एक प्रकारको कागज तयार पार्दथे । त्यसैले कागजको उत्पादन पनि सर्वप्रथम ग्रीसबाट नै भएको मानिन्छ ।
भाइ–बहिनी हो, कागजको आविष्कार हुनुअघि मानिसहरु ठुृलाठुला ढुङ्गा, शीला आदिमा कोरेर आफ्नो सामाजिक जीवन र रहनसहनसम्बन्धी चित्रण गर्ने गर्दथे । बिस्तारै–बिस्तारै मानव सभ्यताको विकास हुँदै गएपछि मानिसहरुलाई आफ्नो भाषा लेख्ने आवश्यकता महसुस हुन थाल्यो । र, यसैको परिणामस्वरुप कागजको आविष्कार हुन गएको हो । तर, त्यतिखेर उत्पादनहुने कागज अहिलेकोभन्दा बिलकुलै भिन्न किसिमको कागज प्रयोग गर्दछौं । त्यसको आविष्कार चाहिँ चीनका बासिन्दाहरुले गरेका हुन् । रुखको बोक्रा र बाँसका मसिना चिराहरु प्रयोग गरेर उनिहरु सो कागज निर्माण गर्ने गर्दथे । पछि अरेबियनहरुले कागज बनाउने केहि चिनियाँहरुलाई अपहरण गरेर लगी आफ्नै ठाउँमा कागज बनाउन लगाए । फलस्वरुप नवौं शताब्दीतिर कागजको उत्पादन त्याहाँ पनि हुन थाल्यो । त्यसपछि १२ औं शताब्दीतिर आएर कागजको उत्पादन युरोपियन मुलुकहरुमा पनि हुन थालेको हो ।
भाइ–बहिनी हो, व्यापारिक रुपमा कागज उत्पादनको थलानी चाहिँ इटलीको ‘फैब्रियानो’ भन्ने ठाउँमा सन् १२७६ बाट भएको हो । सन् १४५० मा आएर छापाखानाको आविष्कार भएपछि कागज उत्पादन र उपभोगको क्षेत्रमा पनि निरन्तर वृद्धि हुँदै आइरहेको छ ।
 

सपनामा स्कुल जान्छौ

–कृष्ण कँडेल

सपनामा स्कुल जान्छु
विपनामा काममा
स्कुल जाने अधिकार
कसले खोज्यो ममा ।

मैले जस्तो जीवनमा
भोग्न नपरोस्
भविष्यका कर्णधारले यस्तो पीडा
भोग्न नपरोस् ।

आमा दिदी दाजुभाइ
निवेदन गर्छु
एउटा चिठ्ठी आफ्नै लेख्ने
धोको मनको भन्छु ।

आँखा मेरो अक्षर हो 
मैले चिन्दिनँ
अखबारमा के खबर छ 
मैले जान्दिनँ ।

मेरो मनको पीर बुझ्ने 
कोहि होला कि
पुस्तक बोक्ने धोको मेरो
कहिले पुग्ला नि ?

(साभार: सुनकेस्रा बाल पत्रिका २०५८)
(बाह्रखरी डट कम अनलाइन पत्रिका तथा हातेमालो संचार काठमाडौंको सहकार्यमा प्रस्तुत बाल सामग्री)


 

प्रतिकृया दिनुहोस
ad