site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नेपालमा व्यवसाय गर्ने वातावरण खस्केको भन्ने विश्व बैंकको ठहरप्रति अर्थमन्त्रीले आपत्ति जनाएका छन् । विश्व बैंकले तयार गर्ने वार्षिक व्यवसाय गर्ने वातावरणसम्बन्धी प्रतिवेदन ‘डुइङ बिजिनेस, २०१९‘मा प्रकाशित सूचीमा नेपाल गत वर्षभन्दा यस वर्ष ५ स्थान तल खस्केर यस वर्ष ११० आंै स्थानमा पुगेको छ । संसारका १९० देशमा व्यवसाय गर्न कति सहज छ भन्ने विभिन्न आधारमा मापन गरेर सूची तयार गरिएको प्रतिवेदनमा जनाइएको छ । ‘नेपालमा कर तिर्ने समय र लागत’ बढेको कारणले व्यवसाय गर्ने वातावरण खस्केको प्रतिवेदनमा उल्लेख छ । स्वदेशी कम्पनीहरूका लागि व्यवसाय गर्न कति सहज छ भन्ने संसारभरका मुलुकहरूको तुलना प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा सन् २०१८ को मे महिनासम्मको तथ्याङ्क प्रयोग गरिएको उल्लेख छ ।

देशभित्र व्यवसाय गर्ने वातावरण सजिलो हुँदो हो त विश्व बैंकको सूचीमा तलमाथि जे भए पनि फरक पर्ने थिएन । त्यसो त वातावरण सहज भएको भए सूचीमा पनि नेपाल उकालो नै लाग्ने थियो । प्रतिवेदनमा संसारका माथिल्लो २० वटा अर्थतन्त्रका केही असल अभ्यासको विवरण पनि दिइएको छ । उदाहरणका लागि तीमध्ये १३ वटा मुलुकमा व्यवसाय सुरु गर्ने प्रक्रिया आधा दिनमै अनलाइनबाटै पूरा हुन्छ । एउटाबाहेक मुलुकमा विद्युत् जडानका लागि स्वचालित संयन्त्र छ । यस्तै गोदाम निर्माणका समयमा सबै मुलुकमा अनिवार्य स्थलगत निरीक्षणको व्यवस्था छ । यस्तै, व्यवसायीले लामो कानुनी झन्झट बेहोर्न नपर्ने र अन्यत्र २०० सय दिन लाग्दा माथिल्ला २० अर्थतन्त्रमा औसत ९५.६ दिनमै व्यवसायसँग सम्बन्धित मुद्दामामिला टुंगिन्छ । यस्तै व्यवस्थापनमा संलग्न व्यक्तिले कम्पनीको रकम दुरुपयोग गर्न नसकुन् भनेर पारदर्शिता सुनिश्चित् गरिएको छ र सञ्चालकहरूको ‘स्वार्थको द्वन्द्व’ हुन नदिने प्रावधानको पालना गराइन्छ । प्रतिवेदनमा के पनि भनिएको छ भने अरू अर्थतन्त्रहरूले पनि यिनीहरूबाट सिकेर प्रगति गर्न सक्छन् । 

Dabur Nepal

देशभित्र व्यवसाय गर्ने वातावरण सहज नभएको गुनासो यहाँका व्यवसायीले गर्दा खासै चासो नदेखाउने अर्थमन्त्रीलाई विश्व बैंकको सूची नकारात्मक भएपछि भने चिन्ता लागेछ । तर उनले यहाँको वातावरण सहज गराउनेभन्दा विश्व बैंकलाई दबाब दिएर सूची सच्याउने सजिलो उपाय अपनाउन खोजेको देखियो । कर दिवसका अवसरमा आयोजित कार्यक्रममै व्यवसायीहरूले कर प्रणालीलाई व्यवसायमैत्री बनाउन उनको आग्रह गरेका थिए । यसैले पनि दोष विश्व बैंकको सूचीको नभएर देशभित्रकै वातावरणको हो भन्ने पुष्टि हुन्छ । प्रतिवेदन तयार गर्दा अपनाइएको विधिका कारण सूचकहरू तलमाथि पर्नु पनि स्वाभाविकै हुन्छ । 

विश्व बैंकलाई सूची सच्याउन गरिने अनुनय विनयमा लाग्ने समय र शक्ति स्वदेशका व्यवसायीको सुझावअनुसार  सरकारी तगारा हटाउन लगाउनु उचित हुनेछ । नेपालमा प्रशासनिक झमेलाका कारण व्यवसाय गर्न चाहनेहरू तर्सने गर्छन् र इमानदार व्यवसायी व्यवसाय नै बन्द गर्न बाध्य पनि भएका छन् । घुस नखुवाई उद्योग व्यवसायमा बिजुली जडान नहुने, व्यवसाय दर्ता गर्दा सिफरिस र अनुमतिका लागि विभिन्न अड्डा धाउनुपर्ने, व्यावसायिक घरानामा अपारदर्शिताजस्ता विषयमा सुधार गर्न सके विश्वबैंकको सूचीमा यसै उकालो लाग्नेछ । तर, राजस्व बुझाउँदा पनि घुस खुवाउनु पर्ने अवस्था रहुन्जेल विश्व बैंकले सूची सच्याए पनि फरक पर्दैन । मन्त्रीले दाबी गर्दैमा देशको कर प्रणाली ‘विश्वसनीय र अनुमान योग्य’ हुने हैन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro