![दिल्लीमा आम आदमी पार्टीलाई ‘रेड कार्ड’ : यी हुन् भाजपाको जितका कारण](https://12khari.top/uploads/posts/dsfgm-1739034760.jpg)
काठमाडौं । करिब तीन दशकदेखि दिल्लीमा चुनावी जितको प्रतीक्षा गरिरहेको भारतीय जनता पार्टी (भाजपा)लाई अन्ततः राज्यको सत्ता प्राप्त भएको छ । योसँगै आम आदमी पार्टी (आप) ११ वर्षपछि सत्ताबाट बाहिर भएको छ ।
भाजपाले यसअघि पछिल्लोपटक सन् १९९३ मा दिल्लीमा चुनाव जितेको थियो । पछिल्ला केही निर्वाचनमा पनि भाजपाले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार देखाएर प्रतिस्पर्धा गरेको थियो । तर, जित टाढा रह्यो ।
भाजपाले यसबीचमा राज्यस्तरमा पटक–पटक नेतृत्व फेरे पनि त्यसको फाइदा भएको थिएन ।
भाजपाले योपल्ट पनि सम्भावित मुख्यमन्त्रीका रूपमा कसैलाई प्रस्तुत गरेन । तर, पार्टी मोदीका नाममा जनतामाझ उत्रियो र जित्न सफल भयो ।
बीबीसी हिन्दीले योपटक भाजपाको जितमा ठूलो भूमिका खेलेका पाँच कारण औँल्याएको छ ।
बजेटको प्रभाव
एकातिर दिल्लीमा विधानसभा निर्वाचनको प्रचारप्रसार भइरहेको थियो, अर्कोतर्फ बजेटमार्फत वित्तमन्त्री निर्मला सीतारमणले वार्षिक १२ लाख (भारु)सम्मको आम्दानीलाई करमुक्त बनाउने घोषणा गरिन् ।
दिल्लीमा फेब्रुअरी ५ मा विधानसभा निर्वाचनका निम्ति मतदान भएको थियो । त्यसको ठिक चार दिनअघि गरिएको यो घोषणाले मध्यमवर्गमा ठूलो प्रभाव पारेको मानिएको छ ।
गएको जनवरीको मध्यमा केन्द्र सरकारले आठौँ तलब आयोग गठनको घोषणा गरेको थियो । दिल्लीमा ठूलो संख्यामा केन्द्रीय र राज्य सरकारका कर्मचारीहरू बस्छन् । र, यो घोषणाले भाजपालाई ठूलो चुनावी फाइदा पुर्याएको विश्वास गरिन्छ ।
आम आदमी पार्टीविरुद्ध सरकारविरोधी लहर
आम आदमी पार्टी विगत ११ वर्षदेखि लगातार दिल्लीको सत्तामा थियो । यो अवधिमा आप सरकारले दिल्लीका जनताका निम्ति धेरै कार्यक्रम घोषणा पनि गर्यो ।
निःशुल्क बिजुली र पानी, महिलाका निम्ति निःशुल्क बस यात्रा, वृद्धवृद्धालाई निःशुल्क तीर्थयात्रालगायत कार्यक्रम घोषणा गरिएको थियो । तर, के भयो कि दिल्लीका जनताको रोजाइमा योपल्ट आम आदमी पार्टी परेन ।
योपटक भाजपालाई अर्को एक फाइदा भएको मानिन्छ र त्यो हो, दिल्ली नगर निगम (एमसीडी)मा आम आदमी पार्टीको कब्जा ।
आम आदमी पार्टीले एमसीडी नियन्त्रणमा लिएपछि पनि निगमसँग सम्बन्धित समस्या कम नभएको विज्ञको बुझाइ छ । राज्य र एमसीडी दुवैमा सत्तामा रहे पनि राजधानीमा सरसफाइ, सडक र खानेपानीसँग सम्बन्धित कैयौँ अव्यवस्था छ । त्यसका निम्ति जनताले आम आदमी पार्टीलाई जिम्मेवार ठानेका छन् ।
भ्रष्टाचारको आरोप
आम आदमी पार्टीको पराजयको एक प्रमुख कारण यसका ठूला नेता कथित मदिरा घोटालामा संलग्न रहेको आरोपलाई पनि मानिन्छ ।
घोटालाको आरोपमा घेरिएका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मात्र नभई दिल्ली सरकारमा मन्त्री भइसकेका मनीष सिसोदिया र सत्येन्द्र जैन पनि चुनाव हारे ।
मुख्यमन्त्री हुँदा केजरीवालले आफ्नो सरकारी निवासमा गरेको परिवर्तनलाई भाजपाले ठूलो चुनावी मुद्दा बनाएको थियो । मोदीदेखि अमित शाहसम्मले चुनावी प्रचारका क्रममा यो मुद्दा उठाएका थिए ।
टिकट वितरण र कांग्रेसको भूमिका
भाजपाले दिल्लीमा पछिल्लो चुनाव सन् १९९३ मा जितेको थियो । त्यसपछि राज्यका नेता–कार्यकर्तालाई एकताबद्ध गरी पार्टीलाई तल्लो तहमा व्यवस्थित राख्नु उसका निम्ति ठूलो चुनौती थियो ।
भाजपाले अरू दलबाट आएका नेताहरूलाई पनि कुशलतापूर्वक प्रयोग गर्यो । भाजपाले यस्ता कतिपय नेतालाई विधानसभाको टिकट दियो । उनीहरू विजयी पनि भए ।
यसमा भारतीय राष्ट्रिय कांग्रेसबाट भाजपामा गएका नेता तरविन्दर सिंह मारवाहको नाम महत्त्वपूर्ण छ । भाजपाले उनलाई टिकट दियो र मारवाहले जंगपुरा सिटबाट पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई हराए ।
यस्तै, गान्धीनगरबाट पूर्वकांग्रेसी अरविन्दर सिंह लवली र मंगोलपुरीबाट राजकुमार चौहान विजयी भएका छन् ।
कतिपय विशेषज्ञ यो विश्वास गर्छन् कि कांग्रेसले निर्वाचनमा एक सिट नजिते पनि यसले आम आदमी पार्टीको भोट घटायो । त्यसले भाजपालाई लाभ भयो ।
यो निर्वाचनमा कांग्रेसले करिब ७ प्रतिशत मत पायो । उसले सन् २०२० को निर्वाचनमा पाँच प्रतिशत पनि मत प्राप्त गर्न सकेको थिएन ।
हालको चुनावी नतिजाको पछिल्लो आँकडाअनुसार आम आदमी पार्टी र भाजपाबीच दुई प्रतिशत मतको मात्र अन्तर छ । यसरी हेर्दा भाजपाको जितमा कांग्रेसको ‘प्रदर्शन’को पनि थोरै भूमिका देखिन्छ ।
नेसनल कन्फरेन्सका नेता तथा जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पनि आप र कांग्रेसबीचको लडाइँको फाइदा भाजपालाई भएको ट्विटमार्फत संकेत गरेका छन् । बीबीसी हिन्दीबाट ।