site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४३ अर्ब खर्च भएको बूढीगण्डकीको भविष्य अझै अनिश्चित

काठमाडौं । अर्थमन्त्रालयले बूढीगण्डकी आयोजना मोडालिटी एक वर्षदेखि अड्काएको छ । गत चैतमा आयोजना निर्माणको दुई विकल्पसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना निर्माणको दुई मोडालिटीसहितको प्रस्ताव पठाएको थियो ।

आयोजनाको मोडालिटी स्वीकृत नहुँदा १२ सय मेगावाट क्षमता जलाशययुक्त आयोजना भविष्य अन्यौलमा परेको छ । बूढीगण्डकी आयोजना बनाउने भनी मुआब्जालगायतका कार्यमै ४३ अर्ब बढी रकम खर्च भइसकेको बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकार्य अधिृकत चिरन्जीवी चटौतले जानकारी दिए । 

अर्थ मन्त्रालयले आयोजनाको मोडालिटी नटुङ्गाएका कारण आयोजना शिलान्यासमा जान सकेको छैन । लामो समयदेखि आयोजना निर्माणमा जाने तयारी छ । तर, अर्थले मोडिालिटीमा स्वीकृति नदिएपछि अघि बढ्न नसकेको उनको भनाइ छ ।

Dabur Nepal

आयोजना निम्ति सरकारले पूर्वाधार करवापत एक खर्ब २२ अर्बबढी रकम उठाइसकेको छ । राजधानीनजिकको आयोजना विकास गर्न २०७२/७३ देखि सुरु गरेको पूर्वाधार शुल्कवापतको रकम एक खर्ब २२ अर्ब २२ करोडमाथि पुगेको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ ।

०४० मा अध्ययन सुरू भएको आयोजना पटक–पटक विदेशीलाई दिने र स्वदेशी लगानीमा निर्माण जस्ता उपक्रममा अल्झिएको छ । 

तीन वर्षअघि बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापनापश्चात् आयोजनाको मोडालिटी टुङ्ग्याएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत गत चैतमा अर्थ मन्त्रालय पुगेको फाइल त्यहीँ अड्किएको हो ।

सरकारले आर्थिक वर्ष ०८३/०८४ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिँदै आव ०६९/०७० मा सुरू गर्ने तयारी थियो । त्यसबेला कुल लागत अनुमान २ खर्ब ६० अर्ब रूपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयको ६० औं प्रतिवेदनमा उल्लेख छ । तर, आयोजना निर्माणमा राजनीतिक सहमति नभएको र विदेशी कम्पनीलाई दिने र फिर्ता लिने कार्यले अलपत्र छ । 

०६८ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरेका थिए । राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकता दिनुको सट्टा चिनियाँ कम्पनीलाई दिने र खोस्ने कार्य ग¥यो । 

आयोजनाको विकास गर्न सरकारले ०६९ मंसिर १८ गते ‘बुढीगण्डकी जलविद्युत् आयोजना विकास समिति (गठन) आदेश, २०६९’ बमोजिम जलविद्युत् आयोजना विकास समिति जारी भंग गरिएको थियो । 

०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सरकारले आयोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी’ (सिजीजिसी) लाई दियो । तर, गेजुवाले काम अगाडि बढाएन । 

०७४ कात्तिक २७ गतेको शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद् बैठकले गेजुवासँगको सम्झौता रद्द गरेको थियो । 

०७४ मै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै देउवा सरकारले गरेका ०७४ भदौपछिका सबै निर्णयहरू आचारसंहिताविपरीत रहेको भन्दै खारेज गर्‍यो । त्योसँगै बूढीगण्डकीका विषयमा भएको निर्णय पनि उल्टिएर गेजुवाकै नियन्त्रण पुर्‍याइयो ।

०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना गेजुवाबाट खोसेर स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । ०७९ चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकले आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीबाटै बनाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार ०७९ असार २१ मा सरकारको अधिकांश सेयर स्वामित्व रहने गरी कम्पनी स्थापना भएको थियो ।

सरकारले गेजुवासँग खोस्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेपछि कम्पनी लिमिटेडको सञ्चालक समितिको १८ औं बैठकले निर्माणका लागि दुई प्रस्ताव स्वीकृत ग¥यो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत अर्थ पठाइएको उक्त प्रस्ताव त्यसै थन्किएको छ ।

कम्पनीले अर्थलाई दुईमध्ये एउटा विकल्प दिँदै भायबिलिटी ग्याप फन्डिङ (भीजीएफ) विकल्प दिँदा र नदिँदाको लागत समावेश छ ।

आयोजना विकास गर्न बूढीगण्डकी कम्पनीलाई सरकारबाट जग्गा प्राप्ति, सार्वजनिक पूर्वाधारहरूको पुनःस्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगका लागि खर्चवापत आवश्यक पर्ने ७३ अर्ब २ करोड बराबरको भीजीएफ उपलब्ध गराउँदा आयोजनाको लागत ३ खर्ब १० अर्ब ४७ करोड बराबर लागत अनुमान गरिएको छ ।

भीजीएफ नहुँदा आयोजनाको कुल निर्माण लागत ३ खर्ब ९८ अर्ब २ करोड रूपैयाँ अनुमानित लागत छ । 

भीजीएफ उपलब्ध नगराउने र जग्गा प्राप्तिलगायतका काममा सरकारबाट भएको खर्चलाई स्वपुँजीमा समावेश गरी थप सहुलियतपूर्ण ऋण लगानीका रूपमा उपलब्ध हुने आधारमा उक्त लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

निर्माण अवधिको ब्याजसमेत जोडिएको उक्त लागतमा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत कर्जाबाट जुटाइने गरी विकल्प छ । 

आयोजनाका लागि कुल २ खर्ब ९८ अर्ब कर्जा र १ खर्ब स्वपुँजी जुटाउनुपर्नेछ । कुल कर्जामध्ये सरकारको सहुलियतपूर्ण कर्जा (एक प्रतिशत ब्याजदरमा) २ खर्ब ६ करोड र व्यावसायिक कर्जा ९७ अर्ब ९७ करोड रूपैयाँ बराबर हुनेछ ।

कुल स्वपुँजी लगानीमा सरकारको स्वपुँजी लगानी ५१ प्रतिशत (५१ अर्ब) रहने विकल्पमा उल्लेख छ । बाँकी ४९ प्रतिशतमध्ये नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत (२० अर्ब), अन्य सरकारी एवं सार्वजनिक निकायको ९ प्रतिशत (९ अर्ब), सर्वसाधारणको १० प्रतिशत (१० अर्ब) र आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत (१० अर्ब) स्वपुँजीका रूपमा उठाइनेछ ।

यो विकल्पमा लगानी गर्दा ‘इक्विटी इन्टर्नल रेट अफ रिटर्न’ (ईआईआरआर) ११ दशमलव २५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १७ दशमलव ५४ प्रतिशत हुनेछ । निर्माण सुरू भएपछि ८ वर्षमा सकाउने लक्ष्य लिएको छ । 
दोस्रो मोडालिटीमा सरकारले ७३ अर्ब २ करोड रकम भीजीएफका रूपमा उपलब्ध गराउँदा आयोजनाको कुल लागत ३ खर्ब १० अर्ब ४७ करोड बराबर हुने अनुमान गरिएको छ ।

सरकारले जग्गा प्राप्ति, सार्वजनिक पूर्वाधारको पुनःस्थापना, वातावरण संरक्षण र वन क्षेत्रको प्रयोगका लागि खर्चवापतको आवश्यक ७३ अर्ब २ करोड रकम भीजीएफका रूपमा उपलब्ध गराउँदा कर्जा ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत प्रस्ताव गरिएको छ ।

यस मोडालिटीमा २ खर्ब १८ अर्ब २६ करोड रूपैयाँ कर्जा र ९२ अर्ब २१ करोड रूपैयाँ स्वपुँजी हुनेछ । कुल कर्जामध्ये सहुलियतपूर्ण कर्जा (१ प्रतिशत ब्याजदरमा) १ खर्ब ३९ अर्ब ९१ करोड र व्यावसायिक कर्जा ७८ अर्ब ३५ करोड लागत अनुमान गरिएको छ ।

यो लगानी ढाँचामा ९२ अर्ब २१ करोड रूपैयाँ बराबर स्वपुँजीबाट लगानी प्रस्ताव गरिएको छ । जसमध्ये सरकारको स्वपुँजी लगानी ५१ प्रतिशत (४७ अर्ब ३ करोड) रहनेछ । 

बाँकी ४९ प्रतिशतमध्ये विद्युत् प्राधिकरणले २० प्रतिशत (१८ अर्ब ४४ करोड), अन्य सरकारी एवं सार्वजनिक निकायको ९ प्रतिशत (८ अर्ब ३० करोड), सर्वसाधारणको स्वपुँजी लगानी १० प्रतिशत (९ अर्ब २२ करोड) र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत (९ अर्ब २२ करोड) बराबर स्वपुँजी लगानी जुटाइने प्रस्ताव गरिएको छ । यो ढाँचामा ईआईआरआर १३ दशमलव ४६ प्रतिशत र आरओई २१ दशमलव ७० प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।

आयोजना निर्माण अवधि र निर्माण लागतमा बढोत्तरी भएमा न्यूनतम स्वपुँजी अनुपात, सेयर लगानीको स्वीकारयोग्य प्रतिफल र व्यावसायिक कर्जाको साँवा ब्याजसहितको किस्ता कर्जा अवधिभित्र चुक्ता गर्न आवश्यक नगद प्रवाह सुनिश्चित गरी वित्तीय ढाँचा पुनरावलोकनका लागि सिफारिस गर्ने निर्णय पनि कम्पनीको सञ्चालक समितिको छ । आयोजनालाई वित्तीय रूपले लगानीका लागि आकर्षक बनाउन ५० वर्षका लागि विद्युत् अनुमतिपत्र उपलब्ध गराउनका लागि आग्रह गरेको छ ।

कम्पनीले आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी भीजीएफ उपलब्ध गराउँदा ३ खर्ब ८३ अर्ब ६७ करोड रूपैयाँ र भीजीएफ उपलब्ध नगराउँदा ३ खर्ब ९८ अर्ब २ करोड रूपैयाँ प्रस्ताव गरेको छ । आयोजना जति लम्बिन्छ लागत बढ्दै जाने भएका कारण चाँडो भन्दा चाँडो मोडालिटी टुङ्ग्याउनुपर्ने प्रमुख चटौत बताउँछन् । 

आयोजनामा मुआब्जावापत करिब ४३ अर्ब रूपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । कम्पनीले मुआब्जा बापत ४२ अर्ब ८५ करोड रूपैयाँ मुआब्जा बापत खर्च गरेको हो ।

आयोजना निर्माण सुरू भएको आठ वर्षमा सक्ने लक्ष्यसहित बूढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी अर्थमन्त्रालयमा पुगेको थियो । अर्थमन्त्रालयले मोडालिटीमा स्वीकृति दिएको छैन । 

ठूलो आयोजनाका कारण मोडालिटी टुङ्ग्याउन समय लागेको अर्थ मन्त्रालयका प्रवक्ता भट्टराईको भनाइ छ । “आयोजना ठूलो भएको र स्वीकृतिपश्चात् त्यसका लागि ठूलो बजेट चाहिने भएका कारण त्यसमा केही ढिलाई भएको हो,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro