बर्खामा काठमाडौंका कतिपय भित्री सडक र चक्रपथको मुख्य खण्ड हिलाम्य हुन्छ । बर्खामा पानी परेपछि वायु अपेक्षाकृत स्वच्छ हुन्छ । हावामा सासै फेर्न नसकिने प्रदूषण हुँदैन । हिउँदमा भने कचौरा आकारको काठमाडौंमा बिखालु हावा भरिन्छ ।
काठमाडौंको हावा हिउँदमा बिखालु हुने गरेको धेरै वर्ष भइसक्यो । धुलो र धुवाँ मिसिएपछि काठमाडौं उपत्यकाकै हावा सास फेर्नै नहुनेगरी अस्वस्थकर हुनपुग्छ । कुनै कुनै दिन त संसारमै आनन्ददायी हावापानी भएको मानिने काठमाडौंको हावाको प्रदूषण पनि विश्वस्तरकै हुनपुग्छ ।
हिउँदमा पानी परेपछि वा आँधीबेहरी चलेपछि मात्र काठमाडौंको हावा केही स्वच्छ हुने गर्छ । दुर्भाग्य, यो वर्ष हिउँदमा पानी नै परेन । फलस्वरूप, प्रदूषणको मात्र बढेर बूढापाका, बालबालिका र दमका रोगीहरू बिरामी पर्नसक्ने गरी यहाँको हावा बिखालु हुने जोखिम बढेको छ ।
यसरी वायु प्रदूषण बढाउनेमा विशेषगरी सवारी साधन तथा अव्यवस्थित निर्माण नै मुख्य हुन् । मूलतः प्रदूषण मापदण्डबाहिरका सवारी साधनहरूले फाल्ने धुवाँका कारण नै काठमाडौंको हावा बिखालु भएको हो । यस्तै, चक्रपथलगायत निर्माणाधीन सडकहरूबाट उड्ने धुवाँ काठमाडौंको वायु प्रदूषणको अर्को मुख्य स्रोत मानिन्छ ।
यसैले होला काठमाडौं महानगरपालिकाले महानगरभित्र चल्ने सवारी साधनको आकस्मिक प्रदूषण परीक्षण सुरु गरेको छ । उपत्यकाको प्रदूषण नियन्त्रणका लागि स्थानीय तहबाट थालिएको सम्भवतः यो पहिलो सराहनीय कदम हो ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारका सम्बन्धित निकायहरूसँग मिलेर सञ्चालन गरेको प्रदूषण परीक्षणअनुसार डिजेलबाट चल्ने सवारी साधनमध्ये ७० प्रतिशत प्रदूषण मापदण्डबाहिर परेका थिए । समग्रमा भने प्रदूषण परीक्षणमा ५८ प्रतिशत सवारी साधन असफल भेटिएका छन् ।
महानगरपालिकाका सम्बन्धित अधिकारीका अनुसार प्रदूषण मापदण्डबाहिर परेका सवारी साधनहरूलाई पहिलोपटक चेतावनी दिएर छाडिएको थियो । सवारी प्रदूषण नियन्त्रणकै लागि अलग्नै कानुन तर्जुमा गरेको काठमाडौं महानगरपालिकाले परीक्षणलाई निरन्तरता दिने बताइएको छ ।
नगरवासीको स्वास्थ्य रक्षाका लागि काठमाडौं महानगरपालिकाले देखाएको तदारुकता अरू पालिकाहरूका निम्ति पनि अनुकरणीय देखिन्छ । यस्तै काठमाडौं महानगरपालिकाले पनि आकस्मिकमात्र होइन नियमितरूपमै सवारी साधनको प्रदूषण परीक्षण गर्ने व्यवस्था मिलाउनु उचित हुनेछ ।
नेपाल सरकार सवारी साधनको प्रदूषण परीक्षणमा असफल सिद्ध भएको छ । साधन स्रोत, जनशक्ति तथा उन्नत प्रविधिको अभावका कारण प्रदूषण मापदण्ड राम्ररी पालना गराउन नसकेको बताइए पनि यसको मूल कारण भने विभागमा व्याप्त भ्रष्टाचार मानिन्छ ।
यसैले भ्रष्टाचारका मामिलामा अपेक्षाकृत बदनाम नभएको काठमाडौं महानगरपालिकाले गम्भीरतापूर्वक प्रयास गरेमा प्रदूषण मापदण्ड पालना गराउन सक्छ । यस्तै, प्रदूषणको स्तर धेरै बढेका अवस्थामा सवारी सञ्चालनको नियमन तथा नियन्त्रण गरेर पनि हावालाई सास फेर्न सकिने मापदण्डभित्र राख्न स्थानीय पालिकाहरू प्रयत्नशील हुनुपर्छ ।
काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगरपालिकालगायत उपत्यकाका सबै पालिकाहरूले प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिएमा उपत्यका पुनः सुन्दरका साथै स्वच्छ पनि बन्न सक्छ । यसैले काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा अरू पालिकाहरूले साथ र नेपाल सरकारले आवश्यक सहयोग दिनुपर्छ । नागरिकहरूको त यस्तो सराहनीय अग्रसरतामा साथ र समर्थन हुने नै छ ।