काठमाडौँ । वरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना ‘फर्क दाई फर्क’ सोमबार सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गित सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीत युटुवमा पनि हेर्न सकिने भएको छ ।
रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । उनले गीतमार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्नेतर्फ प्रवासीहरुको ध्यानाकर्षण गराएका थिए ।
नेपालवाट मगाई मगाई गुन्द्रुक ढिडो खान्छौ
गुन्द्रुक ढिडै खाने भए किन जापान जान्छौ
फर्कदाई फर्क, फर्कभाई फर्क
हाम्रै नेपाल जापान हुन्छ दुईचार वर्ष पर्ख
पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गरेका हु्न् । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गीतका सर्जक रायमाझी गीत संगीत क्षेत्रका अनुसन्धानकर्ता पनि हुन् ।