site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जो छुटेर गए
Sarbottam CementSarbottam Cement

— अक्षर काका


अक्सर गन्तव्यसम्म पुग्ने बाटो मात्रै हो, मान्छे त यात्रामै छुट्छ । गर्भदेखि चिहानसम्मको यात्रामा कति मान्छे छुटे होलान् ! कति भेटिनेछन् । फेरि छुटिनेछन् । बेहिसाब जिन्दगीमा त्यसको कुनै हरहिसाब छैन ।

यतिबेला यात्राका बीचमा छुटेका यस्तै अनुहारको खोजीमा छन्– रमेश सायन ।

Prabhu Bank
Agni Group
NIC Asia

घनघस्याजस्तै उकालो चढ्दै आएका रमेशका लागि ‘छुटेका अनुहार’ सिमलको छहारी हो । शरदको कुमारी घाममा सियाँल ताप्दै उनी ‘छुटेका अनुहार’मा दृष्टि लगाइरहेका छन् । र, खोजिरहेका छन् आफ्नै विम्ब–प्रतिविम्ब ।

जादुयी शब्द शिल्पी रमेशको भर्जिन कलमले कति शब्द कोर्‍यो होला ? कति जिन्दगी चिहायो होला ? शायद त्यसैको फेहरिस्त पनि हो– ‘छुटेका अनुहार’ ।

Global Ime bank

० ० ०

विराटनगर । मोरङ अटो मोबाइल्स कम्पनीमा काम गर्थे । जिन्दगी (अ)निबन्ध थियो– अलयात्मक । अगद्यात्मक । अबान्कीपूर्ण । पूरै फुक्काफाल ।

तिनताक काठमाडौं राजधानी त छँदै थियो, त्योभन्दा बढ्ता थियो– सपनाको सहर । एकथान जिन्दगीमा अनेक थान सपना साँचेका । अझ भनौं— सपनाको बोझले थिचिएकाले त्राण पाउने थलो थियो– काठमाडौं । अभिभावकले थमाएका सपनाका पोका–पन्तुरा बोकेर हिँडेकाहरूको गन्तव्य पनि काठमाडौं नै हुन्थ्यो प्रायः ।

यसको ठीक उल्टो थिए रमेश । सपना भएको भए उनी विराटनगरतिरै बरालिइरहेका हुन्थे । आम मानिसले पाउने औसत वेतनभन्दा बढी नै थियो उनको । एक थान घर, एक थान परिवार । उही सासको ओहोरदोहोर । आफ्नै जहान–परिवारको स्याहारमात्रै जीवनको गन्तव्य हुन्थ्यो भने विराटनगर बाँच्न, जिन्दगीको रंगमञ्चमा नाच्न र सन्ततीका लागि ‘भविष्य’ साँच्न पर्याप्तै हुँदो हो ।

तर उनलाई लेख्नु थियो– आफ्नै डिको नमिलेको जिन्दगी । 

लेख्नु थियो उनलाई– अरूका हरफ नमिलेका जिन्दगी ।

लेख्नु थियो उनलाई– तमाम स्वरूप नमिलेको जिन्दगी ।

काठमाडौंको उडान भरे । ‘लेखेर बाँच्ने’ सपना बोकेर काठमाडौं आएका रमेश अरूको जिन्दगी देखेर वाक्क भए । राजधानी पसेकै दुई दिनमा उनको परिभाषा बदलियो– काठमाडौं त ‘दीर्घ रोगी’ पो रहेछ ।

धूलो–धूवाँ । अस्तव्यस्त । गञ्जागोल । भीडभाड । उकुसमुकुस । दम, छाती रोग, नाक, कान, घाँटीको संक्रमण काठमाडौं सहरका उपहार थिए । लेखनमा बहार आउला भनेको रुघा–खोकी पो सदाबहार बन्यो । त्यसबाट मुक्ति पाउन उनी कावासोती (नवलपरासी) हानिए ।

दशैंको मुखमा कावासोती पुगेका थिए । पर्यावरणमा अत्तर छर्किएझैं दशैं मगमगाइरहेको थियो । शरदको आँगनमा सयपत्री ढकमक्क फुलेका थिए । तिहारको प्रतीक्षामा रहेका मखमली मुस्कुराउने तरखरमै थिए ।

तर, उनको पिसाब अत्यन्त पोल्न थाल्यो । विराटनगरबाट काठमाडौं, काठमाडौंबाट कावासोती पुगेको बानीलाई दोष दिए उनले । दुई–चार दिन बाटो हेर्दा पनि निको नभएपछि पानीलाई पनि दोष दिए । निको हुनुको सट्टा रगत मिसिन थालेपछि उनी आत्तिए र चिकित्सकलाई देखाए ।

“यो गम्भीर रोग हुन सक्छ, यहाँ उपचार हुँदैन, तपाईं काठमाडौं गइहाल्नुस्,” चिकित्सकले तुरुन्तै काठमाडौं रेफर गरिदिए । अस्पतालबाट फर्कने बेला उनले पेनकिलर लिएका थिए । दुई–चार दिन त्यसले काम गरिहाल्यो । निको भयो दुख्न ।

त्यहीबीचमा काठमाडौं आएर अस्पताल पुग्छन् त चिकित्सकले अनुहार नमज्जासँग बिगारे । भने, “अवस्था निकै क्रिटिकल छ जस्तो छ । तुरुन्त भर्ना हुनू !”

हिँडेर गएका थिए । नर्सले ह्विलचेयरमा राखे । तल आकस्मिक कक्षमा पो पुर्‍याइयो– अशक्त बिरामीलाई झैं । शरीरका रौं उचालिन थाले । पक्षघात भएझैं भए हातगोडा । कुँजो भयो मुटु ।

तर, उपचारसँग झस्किएका होइनन् । रोगसँग अत्ताल्लिएका होइनन् । उमेरको छोरो अस्पतालको शय्यामा पुग्यो भनेर आमाबाबु चिन्तित हुनुहोला भनेर झसंग भएका पनि होइनन् । रोग लाग्यो भने उपचार हुन्छ, यो उनलाई थाहा छ । रोग लाग्यो भने मान्छे मर्छ– यो पनि उनलाई थाहा छ । 

उनी आत्तिनुको एउटै कारण हो– उपचार गर्ने पैसा छैन । अस्पतालमा मनग्गे बिल उठ्ला, भुक्तानी कसरी गर्ने ? रोगसँग होइन, पैसासँग डर थियो उनलाई ।

१०–१२ वर्ष भयो घर छाडेको । अभिभावक निश्चिन्त छन्– छोरो जागिरे छ । साथीसंगतिलाई पनि थाहा छ– यसले प्रशस्तै पैसा कमाउँछ । तर, आफूलाई मात्रै थाहा छ– रोग लागिसक्यो, उपचार गर्ने पैसा छैन ।

दाजु काठमाडौंमै थिए । सीधै भन्न सकेनन् । मोबाइलमा ‘टेक्स्ट’ गरे, “उपचार गर्न काठमाडौं आएको, डक्टरले मृगौलामा खराबी हुन सक्छ भन्यो । पैसा नलिइकन पो आएँ ।”

दाजु पैसा बोकेर दगुर्दै आए । भाइसँग पैसा छैन भनेर होइन, भाइले पैसा ल्याउन बिर्सिएछ भनेर । उपचार भयो । तत्क्षणको आवश्यकता टर्‍यो । त्यसपछि उनका चक्षु उघ्रिए– मैले बाँचेको शरीर हो भने रोग मैले कमाएको हुँ । मसँग बल, बुद्धि, विवेक छ भने आफ्नो रोगको उपचार गर्न आफैं सक्षम हुनुपर्छ । त्यस्तो लागेको ६–७ महिनापछि उनी कोरिया हानिए ।

० ० ०

कोरिया उड्दा उनी विल्कुल रित्ता थिए । जस्तो उनको गोजी थियो । देश छाड्नु पर्दाको पीडालाई विमानस्थलमै मिल्काएका थिए । र, खाली गरेका थिए मथिंगल । उनी कोरिया उडेको घर–परिवारलाई मात्रै थाहा भयो ।

देश छाड्नु एक साताअघि कार्यालयमा राजीनामापत्र बुझाएका थिए । राजीनामा बुझ्नेले सोधेका थिए, “किन राजीनामा दिँदै छौं ?”

उनले एक वाक्यमा उत्तर दिएका थिए, “कोरिया जान ।”

कोरिया प्रस्थान गर्नुअघि उनले सम्झौता गरेका थिए— म सागबारी (कृषि फार्म)मा काम गर्न जाँदै छु ।

मुटुमा देशको नाम होइन, मस्तिष्कमा केवल काम थियो । कामलाई ‘काम’जत्तिकै ‘वीर्यवान’ बनाउन विदेश हानिएका थिए उनी ।

कृषक परिवारमा जन्मिए । खेतबारीमा फलेका अनाज खाएर हुर्किए । तर, उनले अनौ समाउन पाएनन् । कोदालोकोदाली पनि समातेनन् । कुनै न कुनै ‘भाग्य’ले तगारो तेस्र्याइरह्यो ।

“पढेको मान्छेले हलो जोत्नु हुँदैन । खेतबारीमा काम गर्नु हुँदैन,” पढेवापत घर–परिवार–समाजको रूढ चिन्तनले अनौसँग विमुख गरायो उनलाई । तर, कोरिया गएकै दिन उनले १८ घण्टा माटोसँग मुकाबिला गर्ने र पसिना सिञ्चन गर्ने सौभाग्य पाए उनले ।

कोरियाले नै सिकायो उनलाई– काम ज्ञान हो । काम ध्यान हो । काम विज्ञान हो । र,  काम अनुष्ठान हो ।

० ० ०

खाङवङ्दो । दक्षिण कोरियाको उत्तरी सीमावर्ती भूभाग । ग्राम्य इलाका । अगाडि बगान । बगानका दायाँबायाँ धनसार । दुइटा कोठा । झिँगटी, टायल लगाएका छाना । एउटा कृषकको घरमा काम गर्न पुगे उनी । पाँच महिनाका लागि वैतनिक कामदार थिए उनी ।

नाम्दङ फ्युद मालिक थिए उनका । असाध्यै मेहनती । कामलाई पूजा गर्ने प्रकृतिका । वयोवृद्ध (हजुरबा, हजुरआमा) पनि थिए त्यस घरमा ।

कोरिया पुगेको दुई–तीन दिन भएको थियो । तालिम अवधि पनि थियो त्यो । कोरियन भूमि । त्यहाँको स्वाद । हावाको नाद । जनजिब्रोसँग चिनापर्ची गर्नुपर्ने । नेपाली जिब्रो कोरियन स्वादमा अभ्यस्त हुन समय लागिहाल्यो । तालिम–अवधिमा चम्चाले खाना खाएका थिए उनले । तर, नाम्दङकहाँ पुगेकै दिन चपस्टिकले खानुपर्ने भयो । तिनताक काठमाडौंमै पनि कोरियन, चाइनिज रेस्टुँरा खुलिसकेका थिए । त्यहाँ गएर पनि चपस्टिक उचालेका थिएनन् । कोरिया पुगेर चपस्टिक उचाल्ने भाग्य पनि आफ्नै निधारमा छ भनेर कसरी थाहा पाउनू !

‘मे’को पुछार, उखरमाउलो गर्मी । नाम्दङले रेस्टुँरामा पुर्‍याए, जहाँ बरफ राखिएको चाउचाउ उनको प्रतीक्षामा थियो । चाउचाउमाथि चपस्टिक तेर्सिएको थियो । चपस्टिकमा आँखा पुग्नेबित्तिकै भोकले भन्दा गलायो उनलाई— जीवनमै चपस्टिक छोएको छैन, कसरी चाउचाउ च्याप्नू ?

अघिसम्म पेटमा सल्बलाइरहेको भोकको रसायन क्षणभरमै दूर भयो । निधारमा पसिनाका बुँद देखा पर्न थाले । एकदमै चिल्लो । लामो । काँटा–चम्माले केहीसीप नचल्ने, चपस्टिकको सहायताले खानुपर्ने । दुई–चारपटक प्रयास त गरे तर मुखमै नपुग्ने । हैरान भए उनी ।

पर बसेर हेरिरहेका कोरियनहरू मुखामुख गर्थे । उनीहरूले भन्ठान्दा रहेछन्– विदेशीले कोरियन नुडल्स मन पराएन !

उनले चपस्टिकले खान नजानेको नाम्दङलेसमेत बुझेनन् । उनी नाम्दङलाई चम्चा–काँटा ल्याइदेऊ भन्न चाहन्छन् तर भन्न सक्दैनन् । भाषा नजान्नुको सकस बल्ल ठम्याए उनले । रमेशको दुःख त्यहीँका कोरियनले पहिचान गरेछन् । उनले गुगल ट्रान्सलेसनको सहायताले सोधे, “कुन देशबाट आएको ?”

उनले भने, “नेपाल ।”

उनले तत्कालै सर्च गरे– नेपालका मानिसले केले खाना खान्छन् ?

मोबाइलको पर्दामा देखिइहाल्यो– नेपालीले हातैले खान्छन् । त्यस्तै पर्दा चम्चाकाँटाको प्रयोग गर्छन् । चपस्टिक उनीहरूको संस्कार होइन ।

त्यो थाहा पाएपछि उसले भन्यो, “हातैले खाऊ !”

त्यत्रा मानिसका अघिल्तिर हातले चाउचाउ कसरी खानू ! अक्मकाए रमेश । उसैले पसलेलाई काँटा ल्याउन अह्रायो । चपस्टिकको दुःखबाट पार पाए उनले ।

“नेपालमा छँदा तीन–चार मिनेटभित्रै खाना खाइसक्थें । त्यस दिन चाउचाउ खान झन्डै २५ मिनेट लाग्यो,” चपस्टिकको दुःख उधिन्छन् उनी ।

० ० ० 

केरियन खानाबाट आस्वादित हुन सकेनन् उनी । कोरियन खाना देख्नबित्तिकै दिगमिगाउँछन् उनी, अहिले पनि ।

नुनको सट्टामा चिनी र अजिनोमोटो प्रयोग गरिएको खाना देख्नेबित्तिकै लागेको भोक पनि फिर्ता हुन्छ । तर, त्यस दिनको स्वाद ओठमा झुन्डिने थियो ।

तालिम केन्द्रमा चाउचाउलगायतका खानेकुरा मात्रै खान पाउँदा पेट अघाएको थिएन । खाङवङ्दो पुगेकै दिन झोल हालेको खानेकुरा देख्दा आँतै रसायो । भातको छेउमा ग्रेभी मासु थियो ।

“खे खोगी मगयो ?” नाम्दङले भने ।

उनले शुरूको अक्षर बुझेनन् बीच र अन्तिमको मात्रै बुझे– ‘खोगी’ भनेको ‘मासु’ । ‘मगयो’ भनेको ‘खान्छौ’ ?

उनले दुवै वाक्यलाई जोडेर अथ्र्याए । भाषा पूरै नजान्ने । ‘खाने’ भन्ने जनाउ दिँदै मुन्टो हल्लाए । एकदमै मीठो । सुस्वादु । कोरियामा यघिविघ्न मिष्ठान्न परिकारको कल्पना गरेका थिएनन् उनले । थपीथपी खाए ।

नाम्दङकी श्रीमतीले सोधिन्, “मीठो छ ?”

उनले फेरि टाउको हल्लाएर भने, “मीठो छ ।”

नाम्दङको श्रीमती हर्षविभोर भइन् । बा—आमा खुसी भए ।

“विदेशीले कोरियन खाना मन परायो,” घरै हाँस्यो ।

त्यस्तै २०–२५ दिन भएको हुँदो हो । नाम्दङले साथीभाइको जमघट गरेका रहेछन् । उनले रमेशलाई भने, “आज राम्रोसँग काम गर । आज कुकुरको मासु खानुपर्छ ।”

“कुकुरको मासु खाने ?” उनी एकैपटक आत्तिए । भुइँचालो गएभन्दा बढ्ता भयो ।

अत्ताल्लिँदै भने, “नाइँ..नाइँ.. खान्नँ !”

रमेशको अनुहारको भावभंगिमा देखेर नाम्दङको श्रीमती खित्का छाड्न थालिन् । उनले भनिन्, “तिमी कसरी कुकुरको मासु खाँदैनौं ? तिमीले आएकै दिन कुकुरको मासु खाएको ! त्यसपछि पनि पाँच–छ पटक कुकुरको मासु खाइसक्यौ !”

त्यसपछि पो थाहा पाए । शुरूकै दिनको ओठमा झुन्डिएको स्वाद कुकुरको मासुको पो रहेछ !

तब न अल्पज्ञान भयंकरम् ! शुरूको अक्षर नबुझ्दा कुकुरको मासु पेटमा पुगेको थियो उनले ।

० ० ०

कोरियन सहृदयी हुन्छन् । सहयोग, सद्भाव र सम्मान उनका अचल सम्पत्ति हुन् । भनौं न अक्षय कोषजत्तिकै । लाग्छ– त्यही ब्याजले उनीहरू उन्नति र प्रगतिको पथमा अविराम लम्किइरहेका छन् ।

कोरियाबाट फर्कनुभन्दा तीन महिनाअघिको मात्रै कुरा हो । एकजना सहयोगी भेटिए । बैंकमा । सहयोगी निकै वृद्ध थिए । अनुहारका धर्सा समेत बूढा भइसकेका । कपाल काँसझैं फुलेका थिए । भाषामा निकै पोख्त र पारंगत भइसकेका थिए रमेश ।

उनले सोधे, “कहाँबाट आयौ ?”

रमेशले उत्तर फर्काए, “नेपाल !”

नेपालको नाम सुन्नेबित्तिकै उनका आँखा विस्फारित भए । भने, “अब कहाँ जान्छौ ?”

संयोग नै मान्नुपर्छ । ती वृद्ध र रमेशको बाटो एउटै पर्दो रहेछ । उनले भन्न थाले, “म पुर्‍याइदिन्छु तिमीलाई, हिँड ।”

आधा बाटोमै पर्दो रहेछ वृद्धको घर तर उनलाई किन दुःख दिनु ? रमेशले टाउको हल्लाउँदै भने, “भै गो पर्दैन, म ट्याक्सीमा जान्छु !”

तर, वृद्ध मान्न तयार भएनन्, “तिमी पैसा कमाउन यत्रो टाढाको देश आएका छौ । किन ट्याक्सीमा गएर पैसा खर्च गर्छौ ? प्रेमिका, श्रीमती, बाबु–आमा छाडेर आएका होलाउ, बरु त्यो पैसा उनीहरूलाई पठाऊ, खुशी हुन्छन् ।” अनुहार बिगारे वृद्धले ।

उनको गाडीमा नगई धरै पाएनन्, वृद्धले ।

बाटामा ती वृद्धले आफ्ना कथा सुनाए । १९६० को दशकमा उनी पनि साउदीमा श्रम बेच्न गएका रहेछन्, जतिबेला कोरिया गरिबीको पर्याय थियो, निर्धनको प्रतिविम्ब थियो, अभावले ग्रस्त थियो ।

उनले रमेशलाई सुझाए, “म पनि चिसो देश छाडेर मरुतुल्य, उष्ण साउदी भूमिमा काम गर्न गएको थिएँ । तीन वर्षपछि पैसा कमाएर फर्किएँ । तिमीहरूको देश पनि एकदिन कोरियाजस्तै हुन्छ । पैसा कमाएपछि यहाँ बस्नु हुँदैन । आफ्नै देश फर्कनुपर्छ ।”

तर, उनी नेपाल फर्किएको वृद्धको सुझावले मात्रै होइन ।

सन् २०१६ को मेतिरै हुनुपर्छ । धूपले खारिएको थियो कोरिया भूमि । गर्मीले असिन–पसिन तुल्याएपछि शीतल, सियाँल खोज्दै उनी गाउँ पसेका थिए, खाल्चनतिर । एकजना वयोवृद्धा भेटिइन्, चौतारामा । ८० वर्ष उमेर हाराहारीकी ती वृद्ध निकै विक्षिप्त थिइन् । सन्तानको माया र सुखबाट ओझेल परिसकेकी ती वृद्ध क्षितिजमा घाम हेर्दै टोलाउँदै थिइन् । शायद काल पर्खिइरहेकी होलिन् । सन्तानबाट विमुख ती आमा घामसँग पनि प्रार्थना गरिरहेकी हुँदी हुन्, “ओई मृत्यु, छिट्टै मलाई लिन आइजो !”

रमेश देख्नेबित्तिकै उनको अनुहारमा पुलुक्क घाम झुल्कियो । सोधिन्, “कहाँबाट आयौ ?”

३२ वर्षका रमेश । कोरियन धूपले श्यामल थियो अनुहार । ती वयोवृद्धाले रमेशको अनुहारमा आफ्नै कान्छो छोराको प्रतिच्छाया देखिछन् । भन्न थालिन्, “मेरो कान्छो छोरा पनि तिम्रै उमेरको छ । शहरतिरै बस्छ । अरूअरू छोराहरू बेलाबेला भेट्न आउँछन् । ऊचाहिँ आउन पाउँदैन । तीन वर्ष भयो, उसको अनुहार देखेकी छैन ।”

रमेशको अनुहार हेरेर छोराको नियास्रो मेटिन् वृद्धाले । रमेशलाई वृद्धाको भन्दा पनि आफ्नै आमाको चिन्ता भयो । ती वृद्धाको अनुहारमा आमाको प्रतिच्छाया देख्न थाले रमेशले पनि ।

वृद्ध सुनाउँदै थिइन् पीडा, “पोहोरसम्म काम गर्थें, यसपालिदेखि काम गर्न सक्न पनि छाडें । सरकारी घरमा बस्छु । खाना त्यहीँ खान्छु । दिनभरि यहीँ बस्छु, राति सुत्नमात्रै जान्छु त्यहाँ ।”

रमेशको घर पनि हटिया नजिकै पर्छ । घर नजिकै धारो छ । उनले सोच्न थाले— मेरै उमेरका मान्छेहरू त्यो धारामा पानी खान जाँदा हुन् । मेरी आमा तिनै अनुहारमा मलाई खोज्नुहुँदो हो र भन्नुहुँदो हो, “मेरो छोरो पनि परदेश बस्छ । घर आउन पाउँदैन । तीन वर्ष भो उसको अनुहार मेरो आँखाबाट छुटेको !”

त्यसपछि उनी कोरियन वैभव छाडेर सदाका लागि देश फर्किए । कोरियाको अनुहार उनको आँखाबाट छुटिगो ।

० ० ०

लेखनसँग उनको स्वभाव जोडिएको छ । उनी जस्ता छन्, उनका शब्द त्यस्तै छन्– पानीजस्तै कलकल । हरपल । सरस । सलिल ।

साथीसँग रिस उठ्ने तर हानाहान गर्न नसक्ने । चित्त नबुझ्ने तर बाझ्न नसक्ने । बोल्न खोज्ने तर अभिव्यक्त गर्न नसक्ने । त्यसको जवाफ लेख्थे । कापीमा पोख्थे । त्यसको स्पष्ट चित्र छैन । घुर्मैलो याद आउँछ । धुमिल सम्झनामात्रै बाँकी छन् ।

त्यस्तै ७–८ कक्षा पढ्दाताकाको कुरा हो । कक्षा छाडेर चलचित्र हेर्न गए, साथीको लहैलहैमा । सर्लाहीको हजरियाबाट बरथवा पुग्नुपर्ने । हरिभक्त कटुवालले कवितामा भनेजस्तै हात्तीछाप चप्पल बीचमै च्वाट्ट चुँडियो । चार–पाँच किलोमिटर दूरी, चप्पलले धोका दियो भनेको, साथी त झन् मापाका निस्के । उनलाई छाडेर बाटो लागिहाले ।

एक हातमा चप्पल च्यापेर हस्याङ्फस्याङ् गर्दै फिल्म हल पुगेको, समयले पनि धोका दियो । फिल्म लागेको पाँच मिनेट पछि पुगे उनी । फिल्म छुटाइदिने चप्पल । ढिलो हिँड्न नजान्ने समय । नपर्खने साथी । तिनैविरुद्ध विद्रोह ओकल्न मन लागेको थियो । तर, उनले मुख फोर्न सकेनन् ।

र, लेखे, “फिल्म हेर्न जाँदा चप्पल चुँडियो । लीलामणिले छाड्यो । सेवकले छाड्यो । सबैले छाडे । म धर्धरी रोएँ ।”

“झगडा पनि गर्न नसक्ने, साथीहरूका अघिल्तिर रुन पनि नसक्ने, चिच्याउन पनि नसक्ने । केही पनि गर्न नसक्नुको पीडा भयानक हुन्छ । त्यसैको अभिव्यक्ति हो लेखन,” लेख्न थाल्दाको क्षण सम्झन्छन् उनी ।

विद्रोह अभिव्यक्तिको स्वच्छन्द माध्यम बन्यो उनको– लेखन ।

० ० ०

उनको साहित्यको सूत्रपात काव्यबाटै भएको हो । तर, कवितामा जे भन्न सकेनन्, त्यही कुरा निबन्धमा भन्न थालेका छन् उनले । तथापि यी दुवै उनका प्रिय विधा हुन् ।

कैशोर्यकालमा बाल्यअसन्तुष्टि पोख्ने माध्यम थियो लेखन । यौवनवयसँगै समाजको चेतना जोडिएर आयो । ज्ञानको क्षितिजसँगै लेखनको आयाम पनि बदलियो । देश दुनियाँ देखेका रमेश तिनै अनुभूति लेखोटमा पस्कन्छन्् । र, पाठकलाई आह्लादित तुल्याउँछन् ।

उनले जुन भाषा, शैलीमा निबन्ध लेख्छन्, पाठकले आफ्नै छाया भेट्छन् । र त, युवा पुस्तामाझ परिचित पनि छन् । त्यही चर्चालाई पुँजीकृत गर्दै ‘छुटेका अनुहार’ बोकेर आएका छन् उनी ।

उनी जुन बाटो हिँड्दै आए, त्यही बाटोको डोब हो, ‘छुटेका अनुहार’ । जुन समाजमा हुर्किए त्यही समाजको प्रतिच्छाया हो, ‘छुटेका अनुहार’ । जुन माटोमा खाइखेली गरे, त्यही माटोको सुगन्ध हो, ‘छुटेका अनुहार’ ।

र, त्योभन्दा बढी ‘छुटेका अनुहार’ समाजको ऐना हो, जसले तपाईं–हाम्रा आँखाबाट छुटेका अनुहार छर्लंगै देखाइदिन्छ ।


(शायनको ‘छुटेका अनुहार’ शनिबार (आज) दिउँसो २ः३० बजे मण्डला थिएटर, अनामनगरमा अनावरण हुँदैछ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC