वासिङ्टन । अमेरिकाको मिनिसोटा राज्यमा अश्वेत युवकमाथि गोली प्रहार गर्ने प्रहरी अधिकारीमाथि गैरन्यायिक हत्याको मुद्दा चलाइएको छ ।
आरोपीत प्रहरी अधिकारी किम पोटरविरुद्ध १० वर्षको कैद र २० हजार डलर क्षतिपूर्ति माग गर्दै मुद्दा चलाइएको बीबीसीले जनाएको छ । २० वर्षीय अश्वेत अमेरिकी डन्टे राइटले आइतबार ट्राफिक नियम उल्लंघन गरेपछि भएको विवादका क्रममा पोटरले गोली चलाएकी थिइन् ।
टेजर (अचेत बनाउने विद्युतीय हतियार) चलाउनुपर्नेमा झुक्किएर बन्दुक चलाउन पुगेकाले डन्टे राइटको मृत्यु भएको प्रहरीको दाबी छ । तर, राइटका परिवारजनले भने प्रहरीले शक्तिको दुरुपयोग गर्दै जानाजान गोली चलाएको आरोप लगाएका छन् ।
मिनिसोटा राज्यको कानुनअनुसार जोखिम सिर्जना गर्ने गरी लापरबाही गर्ने र होसपूर्वक अन्य व्यक्तिको मृत्यु वा शारीरिक हानि गर्नेमाथि नैरन्यायिक मुद्दा चलाउन पाइने व्यवस्था छ ।
बुधबार पक्राउ परेकी पोटर एक लाख डलर जमानतमा रिहा भइकी छन् । आरोपित प्रहरी पोटर र स्थानीय प्रहरी प्रमुख टिम ग्यानोनले राजीनामा दिइसकेका छन् ।
गत वर्ष अर्का एक प्रहरी अधिकारीले अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको हत्या गरेको आरोपमा सुनुवाइ जारी रहँदा मिनियापोलिसमा यो घटनाले तनाव बढाएको छ ।