खेल
काठमाडौं । आशिष लामाले तेस्रो रन फर नर्थ काठमाडौंको खुलातर्फ स्वर्ण जितेका छन् । नर्थ काठमाडौं विकास अभियान र तार्केश्वर नगरपालिका द्वारा संयुक्त आयोजित प्रतियोगितामा आशिषले निर्धारित ८.५ किलोमिटर दूरी ३० मिनेट १० सेकेन्डमा पूरा गरे ।
प्रतियोगितामा रविन खनाल दोस्रो र सुरज पुन मगर तेस्रो भए । रविनले ३३ मिनेट ४१ सेकेन्ड तथा सुरजले ३४ मिनेट ३९ सेकेन्ड समय खर्चे । छात्रमा काभ्रे स्थली माविका राजकुमार मगर पहिलो भए । निर्धारित ८.५ किलोमिटर दूरी उनले ३६ मिनेट ८ सेकेन्डमा दूरी तय गरे । ३७ मिनेट ९ सेकेन्डसाथ कालिकाशरण स्कुलका राजकुमार घले दोस्रो तथा ३७ मिनेट १८ सेकेन्डसाथ नेपाल राष्ट्रिय उमाविका अर्जुन गौतम तेस्रो स्थानमा रहे ।
छात्राको ८.५ किलोमिटर दौडमा श्री नागर्जुनकी विमला बलामी पहिलो भइन् । विमलाले ४५ मिनेटमा दूरी तय गरिन् । पृथ्वीनारायण उमाविकी सीता पुटुवार दोस्रो तथा पृथ्वीनारायणकै दीपा अधिकारी तेस्रो बने । सीताले ४८ मिनेट ४९ सेकेन्ड तथा दीपाले ५१ मिनेट २ सेकेन्ड समय लगाए ।
विजेतालाई विशेष अदालतकी न्यायाधीश प्रभा बस्नेत, आयोजक विकास अभियानका अध्यक्ष सुनील बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दौडमा करिब २ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक विकास अभियानका महासचिव अनिल धितालले जनाएका छन् । छात्र÷छात्राको प्रतिस्पर्धामा उत्तर भेगीय विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १७:०९
प्रतिक्रिया दिनुहोस्