खेल
काठमाडौं । स्पेनले विश्वकप छनोटमा मेसेडोनियामाथी सहज जित निकालेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोटको युरोपियन छनोट अन्तर्गत शनिबार राती भएको खेलमा स्पेनले मेसेडोनियालाई ४–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा स्पेनले मेसेडोनियामाथी एकतर्फी जित निकाल्यो । स्पेनलाई जिताउन माचिन पेरेज, भिटोलो नाचो मोन्रियल र अरिट्ज अडुरिजले समान एक एक गोल गरे । मेसेडोनियाका डार्को वेलकोवस्कीले आत्मघाती गोल गरे ।
खेलमा स्पेनले ३४ औं मिनेटमा मेसेडोनियाका वेलकोवस्कीको आत्मघाती गोलबाट अग्रता लिएको थियो । आत्मघाती गोलबाट अग्रता लिएको स्पेनले दोस्रो हाफमा तीन गोल गर्यो । खेलको ६३ औं मिनेटमा पेरेजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । ८४ औं मिनेटमा मोन्रियलले अग्रता तेब्बर बनाए । त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा अडुरिजले गोल गरेपछि स्पेनले मेसेडोनियालाई सहजै पराजित गर्न सफल भयो ।
यो जितसँगै समूह ‘जी’ मा रहेको स्पेनले विश्वकप छनोट सम्भावना कायम राखेको छ । र, चार खेलबाट १० अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ । समान १० अंक नै भएपनि इटाली गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ ०९:१५
प्रतिक्रिया दिनुहोस्