खेल
काठमाडौं । इटालीले विश्वकप छनोटमा प्रभावशाली जित निकालेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोटको युरोपियन छनोट अन्तर्गत शनिबार राती भएको खेलमा इटालीले लिचेस्टाइनलाई ४–० ले हराएको हो ।
लिचेस्टाइनको घरेलु मैदानमा भएको खेलमा इटालीले घरेलु टोलीलाई सहजै पाखा लगायो । इटालीलाई जिताउन आन्द्रेया बेलोटीले दुई तथा किरो इमोबिली र एन्टोनियो क्यनड्रेवाले समान एक एक गोल गरे । इटालीले चारवटै गोल पहिलो हाफमा गरेको थियो ।
इटालीले खेलको ११ औं मिनेटमा बेलोटीको गोलबाट सुरुआती अग्रता लिएको थियो । त्यसको एक मिनेटपछि इमोबिलीले इटालीको अग्रता दोब्बर पारे । ३२ औं मिनेटमा क्यनड्रेवाले अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ४४ औं मिनेटमा बेलोटीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा इटालीले ४–० को अग्रता लियो । दोस्रो हाफमा गोल हुन सकेन र इटालीले खेल ४–० ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै समूह ‘जी’ मा रहेको इटालीले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । जितपछि ४ खेलबाट इटालीको १० अंक भएको छ । समूहको दोस्रो स्थानमा छ । यो ससमूहमा स्पेनसाग समान १० अंक नै भएपनि गोल अन्तरका आधारमा इटाली समूहको दोस्रो स्थानमा छ ।
समूह ‘जी’ अन्तर्गत नै शनिबार भएको खेलमा इजरायलले अल्बानियालाई ३–० ले पराजित गर्यो । जितसँगै यो समूहमा इजरायल तेस्रो स्थानमा छ भने पराजित अल्बानिया चौथो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ ०९:०७
प्रतिक्रिया दिनुहोस्