साहित्य
सामाजिक सञ्जालमा अहिले ‘तरकारीवाली’ ट्रेन्ड निकै लोकप्रिय छ । तरकारी बेचेर जीवन चलाउने गोरखाकी कुसुम श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा राखिएपछि उनी रातारात चर्चाको शिखरमा पुगिन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन ‘तरकारीवाली’मय भए । गोरखामा तरकारी बेचेर जीवनका आवश्यकता पूरा गर्ने कुसुमजति चर्चा अहिले कसैको छैन । उनलाई मोडल बनाएर तस्बिरको व्यापार गर्न सारा मिडिया उद्धत छन् । सामाजिक सञ्जालमा कसैले खिचेर राखेको तस्बिरकै कारण गाउँकी सामान्य युवती नेपालको सीमा नाघेर भारतमा समेत उत्तिकै चर्चामा आइन् । बीबीसीजस्तो लोकप्रिय मिडियाको हिन्दी संस्करणमा उनीबारे लेखिएको समाचार अहिले पनि १ नम्बरमा छ । पाकिस्तानमा चिया बेच्ने अर्सद खान ‘चायवाला’का रूपमा चर्चित भइरहेकै बेला कुसुमको पनि तस्बिर भाइरल भएको हो । मिडियाले कुसुमलाई ग्ल्यामरको दुनियाँसँग जोडेर हेर्न थालेका छन् । उनको तस्बिर कुनै मिडियामा अर्थपूर्ण रूपमा प्रकाशित भएर होइन, फेसबुकमा राखेको पोस्टका आधारमा भाइरल भएको हो ।
कुसुमको तस्बिर भाइरल हुनुको कारण खोतल्दै जाने हो भने खासै केही रहस्यमय अर्थ पाइँदैन । तरकारीको भारी बोक्दै गरेको र बजारमा बिसाएर मोबाइलमा कुरा गर्दै गरेको फोटो सामाजिक सञ्जालमा जताततै भरिएको छ । तस्बिरमा उल्लेख गर्न खोजेको कुरा या सन्देश केही पनि छैन । न त पत्रकारिताको दृष्टिले नै तस्बिर कुनै मूल्यवान छ । सामाजिक सञ्जाल र मिडियामा पनि उनको तस्बिरलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको छैन । सबैको एकै सन्देश या सार छ– धपक्क बल्ने सुन्दर युवतीले भारी बोकिन् ।
जुन अर्थमा तस्बिरको चर्चा भएको छ, त्यो अर्थमा भन्ने हो भने सुन्दर युवतीहरू बजारमा बुख्याँचाजस्तै ‘शो–पिस’का रूपमा मात्रै रहनुपर्छ भन्ने बजारमुखी मानसिकतालाई प्रस्तुत गरेको छ । सौन्दर्यको प्रयोग सधैं ग्ल्यामरसको दुनियाँमा मात्रै प्रयोग हुनुपर्छ भन्नु आफैंमा प्रदूषित मानसिकता हो । सुन्दर मान्छेलाई माटो सुहाउँदैन भन्नुको तुक केही पनि छैन । सबै कुरालाई ग्ल्यामरसँग जोडेर हेर्ने हो भने समाजका अरु सौन्दर्यहरू मुर्झाएर जान्छन् । राम्री शिक्षिका, राम्री कर्मचारी, राम्री तरकारीवाली, राम्री दाउरावाली ... ! सौन्दर्य र कर्म कहाँनेर जोडिन्छन् ?
सुन्दर मान्छेहरूको श्रम, बौद्धिकता, विवेक केवल ग्ल्यामरमा मात्रै उपयोग गर्नुपर्छ भन्ने भावले अहिले समाचार आइरहेका छन् । मिडियाहरु पनि सामाजिक उत्तरदायित्व वहन गर्नेभन्दा पनि विषयलाई कसरी अतिरञ्जित बनाएर उठाउने र लोकप्रियता हासिल गर्ने भन्ने सवालमा अगाडि बढिरहेका छन् । मिडियाले समाजलाई डो¥याउने भन्दा समाजलाई मिडियाले डो¥याउने खालको अवस्था देखिएको छ । कसैले कुनै सुन्दर तस्बिर खिच्यो र त्यसलाई सामाजिक सञ्जाल या मिडियामा राखेर चर्चित भयो भने मिडियाले चर्चाको प्रलोभनमा परेर नानाथरी मसला जोड्नु आफैंमा गलत कर्म हो ।
सामाजिक सञ्जाल अहिले निकै शक्तिशाली छ । सानाभन्दा साना कुरामा पनि सामाजिक सञ्जालमा बहस र चर्चा हुन्छन् । सञ्जालमा एकथरी जमात यस्तो पनि सक्रिय छ, जसलाई जुनसुकै कुराको पनि गलत अर्थ लगाएर चर्चा कमाउनु छ । कतिपय सामान्य कुरा पनि सामाजिक सञ्जालमार्फत असामान्य बनिदिन्छन्, जसले गर्दा सामान्य कमजोरीमा पनि व्यक्ति या संस्थाले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । कुनै पनि विषयको गहिराइमा पुगेर भन्दा पनि अरुले लेखेको हेरेर विरोध गर्ने परिपाटी बढिरहेको छ । तथापि सामाजिक सञ्जालमा उठेका विषयका कारणले मुलुक ठूला दुर्घटनाबाट बचेका उदाहरण पनि हाम्रासामु छन् । मिडियामा लेख्दा आचारसंहिता, सेन्सरसिप जस्ता विविध कुरा हुन्छन् तर त्योभन्दा पनि प्रभावकारी मानिने सामाजिक सञ्जालमा भने यस्तो कुनै पनि मानक छैन । किनकि व्यक्तिले जे सोच्छ, त्यही अभिव्यक्त गर्ने न हो ।
कुसुमका बारेमा सामाजिक सञ्जालमा व्यापक चर्चा हुनु एउटा पक्ष तर त्यसैलाई लिएर पक्ष–विपक्षमा आवाज मुखरित गरेर उनीबारे विविध टीकाटिप्पणी हुनु शोभनीय होइन । उनको चर्चा हुनुको पछाडि उनको कुनै पनि हात छैन, केवल उनको सौन्दर्य छ । अझ भाग्यवादी दृष्टिले हेर्ने हो भने उनलाई ‘भाग्यमानी’ पनि भन्न सकिन्छ । उनले चर्चा र लोकप्रियताका लागि मोडलहरूले जस्तै फोटोका लागि भारी बोकेकी होइनन् । यो उनको दिनचर्या हो । उनीजस्ता कयौं सुन्दरीहरू अहिले पनि गाउँपाखा र मेलापात गरिरहेका छन् । यो हाम्रा लागि कुनै नौलो विषय होइन ।
भर्खर ११ कक्षामा पढ्ने मान्छे भनेको सामान्यतयाः त्यति परिपक्व होइन । अहिले उनका लागि प्राथमिकता भनेको अध्ययन नै हो । के गर्दा भविष्य उज्यालो हुन्छ या कुन बाटो हिँड्नुपर्छ भन्ने परिपक्व सोच अहिले पनि उनमा विकास हुन सकेको छैन । उपभोक्तामुखी बजारले अहिले उनलाई चलचित्रमा समेत अभिनय गराउने कम्मर कसिसकेको छ । चलचित्रमा अभिनय गर्न अनुहारमात्रै काफी हुने भए किन सुन्दर मान्छेहरू चलचित्र क्षेत्रमा टिक्न सकेनन् ?
अर्को कुरा– मान्छेको चर्चा या सौन्दर्यलाई पैसा कमाउने साधनमात्रै किन देख्छौं हामी ? सुन्दर मान्छेलाई सामान्य किसानै भएर जीवन काट्न सुहाउँदैन ? उनलाई चलचित्रमा अभिनय गराउने भन्नेहरूको एउटै सोच छ– पोस्टरमा ‘सामाजिक सञ्जालमा भाइरल तरकारीवालीले खेलेको पहिलो चलचित्र’ भनेर चलचित्रको नामभन्दा ठूलो अक्षरमा लेख्ने । चलचित्रका नाममा कलाको व्यापार गर्न नजान्ने र स्क्यान्डलका आधारमा मात्र चलचित्र चलाउन खोज्नेहरूले हिजो अर्चना पनेरुलाई नांगो पारेकै हुन । भलै यी दुई पात्रलाई दाँज्न मिल्दैन । तर, सन्दर्भका दृष्टिले दुवै एकैखाले हुन् । निहित स्वार्थका लागि व्यक्तिको व्यक्तिगत जिन्दगी नै तहननहस पार्ने कुरामा हामी अभ्यस्त भएका त छैनौं ?
नेपाल कृषिप्रधान देश हो । यहाँका अंसख्य मानिस कृषिमा निर्भर रहनुका दृष्टिले पनि कुनै युवतीले तरकारी बोकेको कुरा त्यति धेरै निधार तन्काउनुपर्ने कुरा होइन । नेपालमा कयौं सुन्दरीहरू माटोको क्रिम लगाउँछन्, हिलोले फेसवास गर्छन् अनि गोबरको पफ्र्युम दल्छन् । यसमै उनीहरू जीवन भोगिरहेका छन् । श्रमको मूल्य सौन्दर्यमा मापन गर्नु श्रमकै अवमूल्यन गर्नु हो । सौन्दर्य सधैं ‘शो–पिस’का रूपमा मात्रै रहनुपर्छ भन्ने मानसिकताले हामीलाई जबसम्म गाँजिरहन्छ, तबसम्म हामी उपभोक्तामुखी चरित्रको दास भइरहन्छौं । कुसुम आफैंमा एक परिश्रमी युवती हुन् । उनीजस्ता लाखौं युवती कृषि कर्ममा छन् । उनीहरूलाई उनीहरूकै जिन्दगीमा रम्न दिऊँ, काँचो दिमागलाई खलबल नपारौं ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ ११:२५
प्रतिक्रिया दिनुहोस्