विशेष
नेपालजस्तो तेस्रो विश्वदेखि समृद्धशाली मुलुकसम्म पैसा हुने र नहुनेबीचको भेद उस्तै हुन्छ । हुनेखाने र हुँदा खाने वर्गबीचको खाडल संसारभरि एउटै हो । पैसाले मान्छे–मान्छेबीच ठूलो र सानोको लक्ष्मणरेखा खिच्छ ।
धर्तीमा पहिलो पटक आँखा खोलेदेखि अन्तिम पटक नचिम्लिँदासम्म मान्छेलाई हरदम पैसाले लखेट्छ ।
यही पैसाले देखाउने जात्रालाई प्रदीप भट्टराईले सेतो पर्दामा उत्रारेर अब्बल ‘जात्रा’ देखाएका छन् ।
पैसा नहुँदाको टोकसो र बिनामेहनत अकस्मात भेटिएको पैसाप्रतिको लोभले मनोविज्ञानमा ल्याउने उतारचढाव नै ‘जात्रा’ को मूल कथा हो ।
चलचित्रका मुख्य पात्र फणिन्द्र तिमल्सिना (विपीन कार्की), जोयेस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना ठाकुर (रवीन्द्र झा)ले पैसा कमाउन र लुकाउन गरेको संघर्ष नै चलचित्रको मुख्य कथानक हो ।
२ घण्टा २६ मिनेट लामो यो सोसल ड्रामामा आर्थिक रूपमा कमजोर फडिन्द्रलाई केन्द्रमा राखेर निर्देशक भट्टराईले पैसालाई परिवार, समाज र नातागोताबाट पाइने, इज्जत, सम्मान र सामाजिक प्रतिष्ठाको जरो भनेका छन् ।
सूत्रभन्दा बाहिर रहेर निर्माण गरिएको ‘जात्रा’मा निर्देशक भट्टराई स्वयंले कथा लेखेका हुन् । मह जोडीसँग लामो समय काम गरेको अनुभव उनले पर्दामा राम्रैसँग देखाएका छन् । पछिल्लो समयका उत्कृष्ट हास्यप्रधान चलचित्रको सूचीमा ‘जात्रा’ शीर्ष स्थानमा पर्छ ।
गम्भीर विषयमा ठाउँअनुसारको संवादले दर्शकलाई २ घण्टा २६ मिनेट पूरै बाँध्छ । चरित्र, स्थान र पात्र छनोटमा पनि निर्देशक भट्टराई अब्बल देखिएका छन् ।
समानान्ततर चरित्र भए पनि फणिन्द्र (पुस्तक पसले) पात्र चलचित्रमा सुरुदेखि अन्तिमसम्म हाबी हुन्छ । विपीनले यो पात्रको अभियनमा कहीँ खोट लगाउने ठाउँ छाडेका छैनन् । ‘छड्के’, ‘पशुपतिप्रसाद’ र ‘कालोपोथी’बाट आफूलाई आशालाग्दो कलाकारको रूपमा प्रस्तुत गरेका विपीनले ‘जात्रा’ मार्फत ‘भर्सटाइल’ कलाकारका रूपमा आफ्नो करिअरलाई उज्यालो बनाएका छन् ।
मुन्ना (नाई) बनेका रवीन्द्रको अभिनय उत्तिकै अब्बल छ । अधिकांश सिनमा उनी बोल्न थाले कि दर्शक हाँस्न थाल्छन् । कपडा पसले (जोयस) बनेका कार्यकारी निर्माता रवीन्द्र पनि उत्तिकै जमेका छन् । सम्पदा (वर्षा राउत)ले आम गृहिणीको प्रतिनिधत्व गर्दै आफूलाई अब्बल नायिकाको रूपमा प्रस्तुत गरेकी छन् ।
‘जात्रा’ले नेपाली चलचित्र उद्योगमा एक अर्को नयाँ कुशल युवा निर्देशक जन्माएको छ ।
भट्टराईलाई डेब्यु निर्देशनले साथ त दिन्छ नै, तर पहिलो चलचित्रको शाख जोगाउन उनले अब निकै दबाब झेल्नुपर्नेछ । ‘जात्रा’ले बनाएको मानककै हाराहारीमा आउन उनी आफैंले आफैंसँग प्रतिस्पधा गर्नुपर्नेछ ।
कार्यकारी निर्माता बानियासँगै निर्माताद्वय सिङ्गे लामा र यादव पौडेलको लगानी प्रदीपले सुरक्षित गरिदिएका छन् । लोकेशन, क्यामरा र लाइटमा पनि उनले राम्रो साथ पाएका छन् ।
चलचित्रमा केही कमजोरीबाट मुक्त भने छैन । मध्यान्तरअघि र पछिको गति एकैनासे छैन । चलचित्र सकिएर क्रेडिट लाइन सुरु हुँदा दर्शक केही खिन्न हुन सक्छन् । ‘जात्रा’को सिक्वेल बनाउनकै लागि त्यसो गरिएको भए ठीकै हो नत्र हलबाट बाहिर निस्किने बेला ‘यो सिन किन राखिएको होला ?’ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
हरिवंश आचार्यले गाएको ‘नोट...नोट...नोट...’ बोलको गीत क्रेडिट लाइनमा राख्नुभन्दा तीन पात्रहरू पैसाको बोरा लिएर भाग्दै गर्दा पृष्ठभूमिमा राखेको भए सुन्दर हुन्थ्यो ।
केहीबाहेक अधिकांश चलचित्रले एकपछि अर्को निराशा थपिरहेका बेला ‘जात्रा’ले ट्रेन्ड ब्रेक गर्छ ।
कमेडीको नाममा भद्दा संवाद राख्ने प्रचलनबाट ‘जात्रा’ले आफूलाई जोगाएको छ । चलनचल्तीको सामान्य संवादले पनि हँसाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।
कथा सुरु भएदेखि नसकिँदासम्म हरेक सिनमा हाँस्न बाध्य बनाउने यस्ता चलचित्र बनिरहनुपर्छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ ०७:३४
प्रतिक्रिया दिनुहोस्