देश
काठमाडौं । बागलुङ देवीस्थानका होमबहादुर छन्त्यालले अफ्रिका, इजरायल, मकाउलगायत देशमा पठाइदिने भन्दै ३४ जना युवालाई ठगे । उनले दुबईमा बसेर संगठित रूपमा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
नवलपरासीका जयश्वर घिमिरे र अशोक बुर्जा, दाङका सुदिप नेपाली, रविन परियार, केशव परियार र डम्बरबहादुर बुढाथोकी, सल्यानका खर्कविर घर्तीलगायत विभिन्न जिल्लाका ३४ जनाबाट ४ देखि ६ लाख ५० हजार रुपैयाँका दरले रकम उठाएर ३४ छन्त्याल फरार भएका थिए । प्रहरीका अनुसार उनले विदेश पठाउने भन्दै पैसा उठाउने र आधा बाटोमा लगेर अलपत्र पार्ने गर्दै आएका थिए ।
युवाहरूलाई विदेश पठाउने बहानामा ठगी गरेकै आरोपमा सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी पुण्यप्रसाद दंगाल पनि पक्राउ परेका छन् ।
उनले कतिपयलाई भूकम्पपीडितको कोटामा र कतिपयलाई राम्रो पारिश्रमिकको लोभ देखाएर अमेरिका, क्यानडा, युरोप पठाइदिने भन्दै लामो समयसम्म ठगी गरेका थिए । दंगालले विजय भण्डारी, मोहिनी ताल्चा महत, सगुन मानन्धर, छिरिङ तामाङ, रामबहादुर तामाङ, सुधनाथ पुडासैनीलगायत ८ जनाबाट ४ देखि ८ लाख रुपैयाँका दरले ठगी गरेको प्रहरीको भनाइ छ । त्यस्तै, धापासीका देवजंग खड्कीले पनि क्यानडा पठाइदिने भन्दै लामो समयदेखि ठगी गर्दै आएका थिए । उनले बुढानीलकण्ठका मच्छे श्रेष्ठलगायत केही युवालाई क्यानडा पठाइदिने भन्दै दक्षिण अफ्रिकासम्म पु¥याएर अलपत्र पारेको प्रहरीले जनाएको छ । युवाहरूलाई साउथ अफ्रिकामा अलपत्र छाडी खड्की नेपाल आएको र पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गएको साउनयतामात्र महानगरीय प्रहरी अपराध महाशाखामा ७ सय ८२ वटा ठगीका उजुरी परेका छन् । यीमध्ये १ सय ६० वटा मुद्दा दर्ता भएका छन् भने बाँकी उजुरीमा छलफल गरी पीडितलाई न्याय दिलाइएको प्रहरीको भनाइ छ । पछिल्लो समय युरोप, अमेरिका, क्यानडा, अस्टे«लियालगायत देशमा पठाइदिने भन्दै ठगी गर्नेको संख्या बढेको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले जानकारी दिए । थापाका अनुसार खाडी मुलुकमा भन्दा पनि युरोप÷अमेरिकाको सपना देखाएर ठगी गर्नेहरू बढी छन् ।
“युरोप÷अमेरिका भन्नेबित्तिकै मानिसहरूले सोच्दै नसोची पैसा बुझाउने गरेका कारण ठगहरूले पनि नयाँ–नयाँ उपाय अपनाउँदै ठगी गर्ने गरेका छन्,” एसएसपीथापाले भने ।
महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार युरोप तथा अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियागमा २२ वटा मुद्दामा २२ जना पुरुष र २ जना महिला गरी २४ जनालाई कारबाही गरिएको छ ।
त्यस्तै, कन्सल्ट्यान्सी ठगीको अभियोगमा ४४ वटा मुद्दा दर्ता गरिएको छ, जसमा ४१ पुरुष र ५ महिला गरी ४६ जनालाई कारबाही गरिएको छ । १२ वटा म्यानपावर कम्पनीलाई पनि ठगीकै अभियोगमा मुद्दा दर्ता गरिएको छ, जसमा ९ पुरुष र ४ महिला गरी १३ जनालाई कारबाहीको दायरामा ल्याइएको छ ।
अमेरिका पठाइदिने भन्दै ठगी अभियोगमा ५ वटा, रसिया ३, खाडी मुलुक १३, युरोपियन देश ५, जापान ४, अष्टे«लिया १, क्यानडा ३, थाइल्यान्ड १, सिंगापुर १, माल्दिभ्स १ र दक्षिण अफ्रिकामा एउटा गरी ३८ देशमा पठाइदिने भन्दै ठगी गर्नेलाई मुद्दा चलाइएको उजुरी छानबिन युनिटका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए । “ठग्नेका पनि अनेक रूप हुन्छन् । कोही गफका भरमा लाखौं ठगी गरेर फरार हुन्छन् । केहीको सामान्य चिनजानका मानिस विदेशमा हुन्छन् र उनीहरूको नाम लिएर ठगी गर्छन्,” पन्थीले भने, “कोहीचाहिँ विभिन्न देश लैजाने भन्दै नेपालबाट हिँडाए पनि बीचैमा अलपत्र छाडेर भाग्छन् ।” पन्थीका अनुसार उजुरी परेका मध्ये २० जना अझै फरार छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३ १६:२३
प्रतिक्रिया दिनुहोस्