विशेष
काठमाडौं । भारतले कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि देशभर ५ सय र १ हजारका नोट मंगलबार मध्येरातदेखि नचल्ने घोषणा गरेपछि त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै भारतमा पुराना ५ सय र १ हजारका नोट अबैध घोषणा गरेका हुन् । उनले यसको सट्टा २ हजारका नयाँ नोट बजारमा आउने जानकारी गराए ।
भारतले आज सबै बैंकहरु बन्द गरेको छ भने बिहीबारसम्म एटीएम पनि बन्द हुनेछन् ।
भारतले यस्तो घोषणा गरेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएको छ । तर भारतको अप्रत्यासित रुपमा आएको घोषणाले गर्दा नेपाल राष्ट्र बैंकले यसको असरका बारेमा आजदेखि मात्र अनुसन्धान थाल्ने भएको छ ।
चालु आर्थिक वर्षको भदौसम्म नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको थियो । असोजको विवरण आउन बाँकी रहेकाले भारु संचित यो भन्दा बढी छ । भारु नचलेपछि कारोबारमा समस्या आउने देखिएको छ ।
नेपालमा १ हजार र ५ सय रुपैयाँ भारु भारतसँग मात्र कारोबार हुने भएपछि नेपाल राष्ट्र बैंकले त्यहाँको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई डलर बेचेर भारु खरिद गर्दै आएको थियो ।
नेपालको कुल व्यापारको ६५ प्रतिशत भन्दा बढी भारतसँग छ । बैंकका अतिरिक्त व्यक्तिसँग धेरै भारु संचिती रहेको अनुमान छ ।
भारत सरकारले मंगलबार साँझ निर्णय गरेकाले यस विषयमा राष्ट्र बैंकले अहिलेसम्म कुनै निर्णय नगरेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । आज राष्ट्र बैंकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३ ०९:०८
प्रतिक्रिया दिनुहोस्