विदेश
काठमाडौं । आउँदो मंगलबार अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनाव अगाडि प्रचार अभियान उत्कर्षमा पुगेको छ ।
राष्ट्रपतिका दुई उमेदवारहरु रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले फ्लोरिडा राज्यमा मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन जोडदार प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।
फ्लोरिडा राज्यलाई अमेरिकाको ठूलो ‘स्विङ‘ (दुई पार्टीबीच समर्थन यताउता भइरहने) राज्य मानिन्छ । सन् २०१२ मा भएको राष्ट्रपति चुनावमा बाराक ओबामाले उनका रिपब्लिकन प्रतिद्वन्द्वी मिट रोनीविरुद्ध मात्र ०.९ प्रतिशत मार्जिनबाट जितेका थिए ।
यो वर्ष फ्लोरिडा राज्यका मतदाताहरू राष्ट्रपति पदका उमेदवारलाई लिएर कसलाई भोट हाल्ने भनेर अझै पनि अनिर्णीत भएको बताइएको छ ।
चुनावअघिको सर्वेक्षणका अनुसार फ्लोरिडामा ट्रम्प तथा हिलारीेबीच कडा प्रतिस्पर्धा भएको देखिएको छ । हालैका दिनमा चुनावपूर्व भएका सर्वेक्षणबाट ट्रम्पप्रति समर्थन बढेको संकेत मिलेको बताइएको छ, तैपनि धेरै सर्वेक्षणहरुले हिलारी क्लिन्टनभन्दा ट्रम्प पछाडि रहेको बताएका छन् ।
रियल क्लियर पोलिटिक्सको सर्वेक्षणमा औसतले हिलारी क्लिन्टनलाई अगाडि देखाएको बताइएको छ । तर, सर्वेक्षण विश्लेषण गर्ने वेबसाइट ‘फाइबथर्टीएट’ले ट्रम्पको जित्ने सम्भावना ५२.६ प्रतिशत भएको देखाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३ ११:३१
प्रतिक्रिया दिनुहोस्