site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खल्लो दाइँ !
गाउँमा बस्दाजस्तो रोपाइँ र दाइँको रमाइलो त बेसी बसेपछि नै सकिएको थियो । करिब २० रोपनीको मुलपानी खेतको रोपाइँ र दाइँ दुवैमा गाउँभर हल्लीखल्ली हुन्थ्यो । यस वर्ष रोपाइँ त हैन दाइँमा पुगेँ । गएको वर्ष पनि गएको थिएँ । धेरै सजिलै भयो दाइँ तर त्यसको पुरानो स्वाद चाहिँ गुमिसकेको छ । यान्त्रिक र खल्लो हुन पुगेको रहेछ ।
 
रोपाइँमा हिल्याउने काम अगिल्लै दिन हुने हुनाले बिहान खाना खाइवरी हली र बाउसे अलि चाँडै बेसी झर्थे । गोरु बेसीमै हुने भएकाले उनीहरू आआफ्ना गोठमा पुगेर गोरु ल्याउन्जेल रोपार आइपुगे हुन्थ्यो । बीउ काड्ने चाहिँ अलि चाँडै खेतमा पुग्थे । खाजा लिएर जाने आमा वा फुपु दिदीलाई पछ्याउँदै म खेतमा पुग्दा भने रोपाइँ सुरु भइसकेको हुन्थ्यो । हिलो खेल्ने रहर लाग्ने उमेर भएपछि म रोपाइँमा खासै मिसिन पाइन । रोपाइँमा हिलो खाने र खुवाउने रमाइलो अझै सम्झन्छु । रोपारहरू बालाई हिलो खुवाउन हच्किन्थे । म फेला पर्थेँ । हिलो मुखमा कोच्याइदिन्थे । खेतमा लडाइदिन्थे । म पहिले पहिले त रुन्थेँ । तर, पछि रमाइलो लाग्न थालेको थियो । 
 
दाइँको भने रोमाञ्च नै बेग्लै हुन्थ्यो । गाउँबाट दँयेरेहरू लिएर बिहान नहुँदै बा बेसी झर्नुहुन्थ्यो । म आमाहरूसँगै खेतमा आउथेँ । मुलपानीबाहेक अरू खेतको दाइँमा म आएको सम्झना छैन । अलि सानो खलोको दाइँ एक दिने हुन्थे । त्यस्ता ४-५ वटा दाइँ हुन्थे हाम्रो घरमा । मुलपानीको दाइँ भने गाउँमै ठूलोमध्येको हुन्थ्यो । 
 
मोही, अचार र टपरीहरू लिएर आमाहरू खेतमा आइपुग्दा एउटा कुन्यु फुटाइसकेका हुन्थे । मियोमा १०-१२ वटा गोरु नारिएका हुन्थे । धान झाँट्न सुरु भएसकेको हुन्थ्यो । हामी पुगेपछि आमाहरू  भात पकाउन व्यस्त हुन्थे । म परालमा खेल्थे । गोरुको नजिक जान डर र रहर दुवै लाग्थ्यो । दिनभर १०-१२ जनाले झाँट्दा एउटा ठूलो कुन्युमात्र सकिन्थ्यो । आमाहरूको काम गुन्द्री बुन्ने नल झिक्नु पनि हुन्थ्यो । अनि बेग्लाबेग्लै जातका धानको बीउ जोगाउने जिम्मा पनि आमाहरूकै हुन्थ्यो । बा दयेँरेलाई अह्राइपह्राइ गर्नुहुन्थ्यो । उनीहरूसँग काममा मिसिनु भएको भने मैले कहिल्यै थाहा पाइन । बेलुका खलो कुर्न भने बा बस्नुहुन्थ्यो । मैले अलि जिद्दी गरे म पनि बस्न पाउँथे । खला नजिकै पकाएको दाल, भातभन्दा मलाई मुला वा काँचो मेवाको तिल हालेर पकाएको अचार मीठो लाग्थ्यो । 
 
साँझ खाना खाएपछि दयेँरेहरू चाँडै नै सुत्थे । केहीले आगो ताप्दै कथा भन्थे । आहान भन्थे । जातिगत घोचपेच चल्थ्यो । दाइँमा बास बस्न मन लाग्ने मूल कारण यही कथा हुन्थ्यो । कतिले मैले नबुझ्ने वयस्क ठट्टा पनि गर्थे । बेसीको धान गाउँ लगेर खान बिस्तारै कठिन हुन थालेपछि धेरै खेती हुनेहरू बेसी नै बस्न थाले । त्यसपछि दयेँरे बढाएर भए पनि एक राते दाइँ हाल्न थालियो । दाइँको रोमाञ्च पनि बिस्तारै घट्दै जान थाल्यो । म पनि अन्यत्रै व्यस्त हुन थालेँ ।
पोहोर पनि म मंसिरको धान भित्र्याउने बेला आएको थिएँ । धान झाँट्ने काम खेतालाले नै गरेका थिए । साँझतिर ट्य्राक्टरमा हालेर धान ल्याइएको थियो । 
 
यस वर्ष थ्रेसर मेसिनले झाँट्ने हुनाले बेलैमा काम सकिन्छ भनेका थिए । मैले साँझ पर्ने बेलातिर सकिएला कि भन्ने ठानेको थिएँ । तर, ट्य्राक्टरले तानेर लाने र त्यसैको इन्जिनबाट चल्ने थ्रेसर त निकै शक्तिशाली हुँदो रहेछ । उहिले ६-७ हल गोरु, १०-१२ जना खेतालाले २ रात ३ दिन लगाएर सिध्याउने दाइँ त त्यो अजंगको दैत्यले एकै छिनमा सक्ने रहेछ । जम्माजम्मी २ घन्टा चानचुन मिनेटमा २० रोपनीको खलोको दाइँ गर्दो रहेछ । धान र पराल छुट्ट्याउनेमात्र हैन गोरुले माडेजस्तै पराल धुस्नु नै बनाउँदो रहेछ । अब त दाइँ थाले होलान् भनेर खेतमा पुग्दा त सबै काम सकिएको । एकैछिनमा ट्य्राक्टर बोलाएर घरैमा धान भित्र्याइयो । 
 
गाउँमा गोरु हुने घर धेरै कम भइसकेछन् । पहिले गोरु नहुने घर बिरलै हुन्थे । गोरु नै नभएपछि बोकाले दाइँ हुने कुरै भएन । बोकै पो कतिका घरमा होलान् र ? यसैले खेत जोत्न, हिल्याउन र साउन पनि मेसिनै लगाउने चलन सुरु भएकै केही वर्ष भइसक्यो । हाते थ्रेसरले धान राम्ररी निखारेन र पराल माडेन भनेर गुनासो गर्नेहरू अहिलेको दैत्याकार थ्रेसरसँग रमाएका छन् ।
 
करिब ३ लाख रुपियाँ पर्ने भारतमा बनेको पावर थ्रेसरले धानमात्र हैन गहुँ, मास, भट्ट, तोरी सबै चुट्ने रहेछ । घन्टाको २ हजार २ सय लिए पनि सिजनमा भ्याइनभ्याई हुँदोरहेछ । दिनको ४ घन्टामात्र काम पाए पनि ३ महिनामा मेसिनको मोल उठ्नेरहेछ । 
 
दाइँ धेरै सजिलो भएछ तर खल्लो पनि उत्तिकै । पुरानो स्वाद त पटक्कै छैन । त्यसो त गाउँमा तन्देरीहरू पनि धेरै कम छन् । मेसिनको प्रयोगले सजिलो भएको मात्रै छैन खाडी झरेका तन्देरीहरूको खाँचो पनि टारेको छ ।    
 
तस्बिर : बाह्रखरी
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro