विशेष
रातभरि जंगलको बासले राम्ररी सुत्न नपाइने, डरले निद्रा नपर्ने । दिउँसोपख घरमा आएर रोटी खाएँ । एकछिन भित्तामा अडेस लागेर बसेको मात्र के थिएँ, आँखा झप्किएछन् । केहीबेरमा बाहिर हल्लाखल्ला सुनियो, “तँ माओवादी होस्, यसलाई यहीँ मार्नुपर्छ, किन माओवादीलाई बास दिइस् ?”
एउटा मान्छे एकहोरो बोलिरहेको थियो । कसैको प्रतिवाद सुनिँदैनथ्यो ।
“के हो ...?”
पुलिस आएजस्तो लाग्यो । झ्यालबाट लुकेर चिहाएँ । दुईजना पुलिस एकजना मान्छेलाई समाइरहेका थिए । ती मान्छे रक्सीको मातमा एकोहोरो बोलिरहेका थिए । मेरा बा’तिर औंलो तेस्र्याउँदै नानाथरी गाली गरिरहेका थिए । पुलिसले ‘हुन दिनुस्, बूढो मान्छेलाई किन दुःख दिनू’ जस्तो भावमा उनलाई पछिल्तिर तानिरहेका थिए ।
अनेकथरी गालीगलौज खाँदा पनि मेरा बा केही बोल्न सक्नुभएन । बालाई माओवादी भनेर गाली गरिरहेका मान्छे गाउँकै कांग्रेस नेता थिए, जो प्रहरी चौकीमा लुकेर बाँचिरहेका थिए । नत्र माओवादीले सिध्याइहाल्थे । माओवादीप्रतिको रिस मेरा बामा पोखिरहेका थिए । बाको टिठलाग्दो र आक्रोशमिश्रित अनुहार पढिसकेपछि मेरो मनमा विद्रोहको राग उर्लियो । मैले सोचें, “माओवादी त यसकारण पो जन्मिँदा र बढ्दा रहेछन् !”
खेतीकिसानी गरिरहेका र गाउँलेले भलाद्मीका रूपमा पत्याएका निर्दोष मान्छेलाई माओवादीको आरोप लागिरहेको थियो । कहिल्यै रक्सी, कक्कड, सुर्ती नखाएका मेरा बा एउटा जँड्याहाको गाली खाइरहेका थिए ।
गाउँमा कोही जाँडरक्सी खाएर होहल्ला गर्यो भने बा तत्काल तह लगाउन अघि सर्नुहुन्थ्यो । यसबेला भने बा निरीह देखिनुभो । साथमा पुलिस भएकाले प्रतिकार गर्न सक्नुभएन । अहिले केही गरिहाले माओवादीका नाममा गोली खाने खतरा त्यत्तिकै थियो । नत्र उहाँले पनि सकेको गर्नुहुन्थ्यो होला । म पनि उसलाई ठेगान लगाउन सक्थें तर पुलिस साथमै भएकाले बाहिर निस्किन सक्ने अवस्था थिएन । उनी पुलिस चौकीमा बस्न पुलिसलाई माओवादीबारे ‘सीआईडी’ गर्ने विश्वासपात्र भएकाले जाइलाग्नु सहज थिएन ।
कतिबेला पुलिस त्यहाँबाट टाढिएला र म निस्केर जंगलतिर भागूँला भन्ने बाध्यता थियो । पुलिस भित्र पसेर मलाई भेट्टायो भने त पक्रेर लगिहाल्थ्यो । शायद बाले पनि त्यहाँ अनावश्यक विवाद बढाएर पुलिसलाई घरभित्र पसाल्नुभन्दा केही नबोलेर छिटो पन्छाउनु नै बुद्धिमानी ठानेर केही नबोल्नुभएको होला ।
दुई दिनअघि मात्र एमाले नेता हस्तबहादुर केसी हाम्रो घरमा बास बसेका थिए । बुवासँग राम्रो चिनजान भएका कारण उनी प्रायः त्यो बाटो हिँड्दा हाम्रो घरमा बास बस्थे । दाह्री पालेका, दार्शनिकजस्ता देखिने हस्तबहादुरलाई ती कांग्रेस नेताले माओवादी ठानेछन् । शायद उनीसँग एमाले, माओवादी भनेर छुट्ट्याउने ढंग थिएन । कम्युनिस्ट भनेपछि सबै माओवादी भन्ने बुझाइ थियो शायद । हस्तबहादुरलाई बास दिँदा उनको दिमाग तातेछ । रक्सी खाएर दुई जना पुलिससहित बालाई ठीक गर्न हाम्रो घर आएका रहेछन् ।
लामो गाली खाँदा पनि बाले केही प्रतिक्रिया नजनाएपछि पुलिसले नै समाएर ती नेताजीलाई चौकीतिर लिएर गए । जाँदा माओवादीलाई बास नदिन बालाई चेतावनी दिए । नेताजी र पुलिस गएपछि हतारहतार जंगलतिर उकालो लागें । बाटोभरि सोचिरहें– यो अन्याय कति दिन सहने ? केही नगर्दा पनि निर्दोष किसानले माओवादीको आरोप खेप्नुपर्ने ? जनताले आफ्नो खेतीपातीमा घोटिएर ज्यान पाल्न पनि नपाउने ? कोही फटाहा मान्छे रक्सी खाएर पुलिसको आडमा जथाभावी गाली गर्दै हिँड्न मिल्ने ? यो अन्यायले पक्कै पनि माओवादी बढाउन बल मिल्छ !
शायद त्यतिबेला नै माओवादीहरु सम्पर्कमा आएको भए म पनि तातो आक्रोशमा बन्दुक बोकेर जंगलतिर दौडिन्थें होला । मैले त्यति छिटै बढेको माओवादीको संख्यालाई यस्तै कारणको उपज ठानें । मानिसहरूलाई माओवादी बन्न बाध्य पार्ने पुलिस र स्थानीय पुलिस नजिकका मान्छेहरूको रवैया असह्य थियो । पुलिस ज्यादतीको त कुरा गरी साध्य नै थिएन । झन् गाउँमा डेरा जमाएर बसेका असई कन्हैयालाल सिंह सरदार भनेपछि त सबैको सातो जान्थ्यो । उनले बाटामा त्यत्तिकै हिँड्दा पनि रुखमा चरालाई निशाना लगाउँदै बन्दुक पड्काउँथे । टाढा कतै कोही मानिस दौडिरहेको देखे पनि बन्दुक पड्काइहाल्थे । गाउँमा दर्जनौं मान्छे मारिसकेका थिए ।
उनले हाम्रो गाउँमात्रै होइन, प्वाङ गाविसको छिपखोलास्थित माओवादी नेता गणेशमान पुनको घरमा समेत पुगेर उपद्रोह गरे । पुन घरमा नभेटिएपछि उनका वृद्ध बुवालाई ड्याङ्गै गोली हानेर घरमै ढालिदिए । त्यस्ता आतंक त उनले गाउँमा कति मच्चाए कति । उनको अगाडि पर्नु भनेको कालको मुखमा पर्नुसरह थियो । त्यसैले हामी जंगलतिर दौडन्थ्यौं । पुलिसको नजिक पर्न सक्दैनथ्यौं । सरदारलाई कोही माओवादी जस्तो लाग्नेबित्तिकै गोली चलिहाल्थ्यो । पक्राउ गर्ने, सोधपुछ गर्ने केही थिएन । सिधै गोली ।
यस्तो त्रासपूर्ण वातावरणमा पुलिस र ‘सीआईडी’सँग कोही बोल्न सक्ने कुरै थिएन । मेरा बा पनि त्यही तापमा पेलिनुभो । दशैंमा मेरा माइला दाइ घरमा आए । जेठा र माइला दाइ सरकारी सेनामा थिए । दाइहरू सेना भए पनि बा गाउँका भलाद्मी, न्याय–अन्याय हेर्ने, सामाजिक काममा अगुवाइ गर्ने, पूर्ववडाध्यक्ष भएका कारण माओवादीले पनि दाइहरूलाई खासै केही गरेका थिएनन् । अर्कोतिर युद्धमा सेना प्रयोग नभइसकेका कारण पनि माओवादीले सेनालाई टार्गेट बनाइसकेका थिएनन् ।
दाइ घरमा आएका बेला बुवालाई दिइएको मानसिक यातना र धम्कीबारे गाउँलेहरूले सबै कुरा बताइदिएछन् । त्यो कुरा सुनेपछि दाइको पारो तातेछ । सेना भएका कारण पुलिससँग डराउने कुरा थिएन । सिधै प्रहरी चौकीमा गएर ती नेताको सातो खाएछन् । पुलिसकै अगाडि भनेछन्, “तिमीहरुका हात मात्रै होइन, मन्टो नै काटिनुपर्ने हो । निर्दोष मान्छेलाई अनावश्यकरुपमा गाली गर्ने, धम्काउने, त्रसित बनाउने ?”
दाइले प्रहरी चौकीमै गएर नेतालाई थर्काएको देखेर सबैलाई अचम्म लागिरहेको थियो । हामीलाई पनि रिस उठ्नेबित्तिकै चौकीमा गएर यसरी पोख्न पाउने भए कस्तो हुँदो हो भन्ने लाग्यो । त्यतिबेला सेना भनेपछि प्रहरीभन्दा वरिष्ठ मानिने । पुलिसले पनि सेनालाई केही गर्ने आँट गर्दैनथ्यो । दाइले जस्तै गरी प्रतिकार गर्न पाउँदा हामीलाई पनि मनमा शान्ति त मिल्दो हो !
दाइ दशैं बिदा सकेर जागिरमा फर्किए ।
त्यसको एक वर्ष नबित्दै–
गाउँको फेदीबाट बग्ने पुमा खोला किनारस्थित दानीपीपल भन्ने ठाउँमा हाम्रो घर र खेत थियो । त्यो घरखेत माइला दाइकै भागमा परेको थियो । घर खेतीपातीको समयमा मात्र प्रयोग हुन्थ्यो, अन्य समयमा घर खाली नै हुन्थ्यो । घरको तलतिर खेत थिए, खेतको छेउबाट मूल बाटो थियो । माओवादीहरु धेरै दिनसम्म त्यही घरमा लुकेर बसेछन् र मूल बाटोमा हिँड्दै गरेका कांग्रेस नेता र गाविसका पूर्वअध्यक्षलाई दिउँसै खुकुरी प्रहार गरी हत्या गरेछन् । ती मारिने मान्छे मेरो बुवालाई गाली गर्ने नेताका भाइ थिए । दाइले ‘टाउको काटिनुपर्ने’ भनेर गाली गरेको एक बर्ष नबित्दै दाइकै घरमा लुकेका माओवादीले टाउको काटिदिएपछि बर्बाद भयो ।
हामी साह्रै आतंकित भयौं । ममात्रै होइन, अब सबै परिवार जंगलतिर दौडिने अवस्था आउन थाल्यो । अब के कसो हुने हो, प्रहरीले अब के गर्ने होला भन्ने पीर बा–आमालाई पनि हुन थाल्यो । पहिले बालाई लगाएको माओवादीको आरोप साँच्चिकै जस्तो हुन थाल्यो ।
प्रहरीले हामीलाई निशाना बनायो । त्यो घटनापछि बालाई प्रहरीले माओवादीकै रूपमा व्यवहार गर्न थाल्यो । तत्काल मेरा बालाई नियन्त्रणमा लिएर घटनास्थल लगे । अनेक धम्की र यातना दिए । घर, खेत र मूल बाटोको वरिपरि भएका चुथ्रा र ऐंसेलुका झाङ फाँड्न लगाए । बाको दिनहुँ काम नै त्यही भयो । झाडी फाँड्ने र पुलिसले भनेका थप काम गर्ने । भनेका मानेर काम गर्नुबाहेक अरु विकल्पै थिएन । पुलिसले धेरै दिन बालाई सतायो, अनेक काममा जोतायो । काम लगाउँदा पुलिसले भन्थ्यो रे, “सरकारी सैनिकका माओवादी बा ! सैनिक छोरा जन्माएर आफूचाहिँ माओवादी हुने बूढो ?”
मेरा बा कहिलै माओवादी हुनुहुन्थेन र हुनुभएन पनि । तर, युद्धका अनेकथरी घटनाले मेरा बालाई माओवादीको बिल्ला लगाइदियो । दाइहरू सैनिक नभएको भए त्यो घटनापछि शायद प्रहरीले हामी सबैलाई गोलीले उडाइदिने थियो । नत्र भेटेजति सबैलाई गोलीले भुट्थ्यो । दाइले भनेजस्तै घटना उनकै घरबाट हुनु कम्ती खतरनाक कुरा थिएन । हामी त लामो समयसम्म भीमकाय त्रासमा बाँच्यौं । पुलिस आएर कतिबेला घिसार्दै लैजान्छ र गोलीले भुट्छ भन्ने चिन्ताले भोक, निद्रा हरायो । बालाई थप दुःख दिन नसके पनि प्रहरीले मलाई भने टार्गेट बनाइरह्यो । ‘यसका दाइहरू सैनिक भए पनि यसको माओवादीसँग सम्पर्क छ र यसले नै सबथोक गरिरहेको छ’ भन्ने खालका विवरण प्रहरी नजिकका मानिसहरूले टिपाए । प्रहरी लिस्टमा मेरा थप माओवादीजन्य विवरण चढ्दै थिए ।
माओवादीले हाम्रै घर किन प्रयोग गरेका होलान् भन्ने विषयमा मैले पछि अनुमान गरें । पहिलो कुरा त त्यो घर बाटोको छेउ र एकान्तमा थियो । घरमा कोही मानिस थिएनन् । नजिकमा अरु घर पनि थिएनन् । सेल्टर गोप्य राख्न सजिलो थियो । घरबाट बाटो प्रष्ट देखिन्थ्यो । माओवादीले टाढै आफ्नो शिकार देख्न सक्थे । घरनजिकै पुग्दा बाटोमाथि झाङ थिए । माथिबाट माओवादी झर्दै गरेको देख्न सकिँदैनथ्यो । उनीहरूलाई आक्रमणमा जान सजिलो थियो ।
दोस्रो– सैनिकको घर भएका कारण प्रहरीले निगरानी गर्दैन भन्ने माओवादी बुझाइ थियो । केही खतरा भइहाले सैनिककै परिवारलाई होस् भन्ने लागेको हुनुपर्छ । दुवै कोणबाट उचित देखेपछि माओवादीले हाम्रो घरलाई आधार बनाएर हत्याको योजना तयार गरेछन् । समस्याजति हाम्रै थाप्लोमा आइपर्यो ।
त्यत्रो घटना भइसकेपछि अब दाइहरू पनि पुलिसले बालाई दुःख दिएको विषयमा केही बोल्न सक्ने अवस्था रहेन । हामी थप निरीह बन्दै गयौं । प्रहरीले हामीमाथिको निगरानी बढाउँदै गयो । राति हाम्रो घरवरिपरि घुम्ने, हाम्रा गतिविधिको पिछा गर्ने क्रम लामो समयसम्म चल्यो ।
त्यसपछि त झन् म घरमा बस्न सक्ने अवस्थै आएन । रातदिन लुकीलुकी हिँड्नुपर्र्ने भयो । पुलिसले मेरोबारे सोधीखोजी गथ्र्यो । फलानो कहाँ छ भनेर खोजिरहन्थ्यो । बाले ‘पढ्न गएको छ, के काममा कता गएको छ’ भन्दै टारिरहनुहुन्थ्यो । अब म धेरै समय घरभित्र रहने अवस्था रहेन । पहिले खाना खान आउने गरेकोमा अब बाहिरबाहिरै खाना माग्दै गुजारा गर्न थालें । एक्लै भूमिगत भएर ज्यान बचाउने यात्रामा हिँडेको हिड्यै भएँ । जंगल यात्राको अवधि बढ्दै गयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३ ०९:५७
प्रतिक्रिया दिनुहोस्