अर्थ व्यवसाय
काठमाडौं । राजस्व संकलनको तुलनामा खर्च बढेपछि चालु आर्थिक वर्षको चार महिनामा बजेट घाटा भएको छ । कात्तिक ११ गतेसम्म बजेट घाटा २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
गत ११ गतेसम्म १ खर्ब ४१ अर्ब १६ करोड रुपयैयाँ राजस्व संकलन भएकोमा १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ खर्च भएपछि बजेट घाटा भएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार राजस्व संकलन २४.९४ प्रतिशत र खर्च १३.६९ प्रतिशत छ । चालु आवमा सरकारले ५ खर्ब ६५ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
समीक्षा अवधिमा विकास खर्च भने कम छ । महालेखाका अनुसार हालसम्म ४ प्रतिशत खर्च भएको छ । कात्तिक ११ गतेसम्म १२ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालु आवमा ३ खर्ब ११ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । साढे ३ महिनामा विकास खर्चको अवस्था नाजुक देखिएको छ । सरकारले चालु आवमा पुँजीगत खर्च ५६ प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य अनुसार साढे २ खर्ब रुपैयाँमात्र पुँजीगत खर्च हुने देखिन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ ११:२०
प्रतिक्रिया दिनुहोस्