अर्थ व्यवसाय
काठमाडौं । गैरआवासिय नेपालीद्वारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले १ बराबर १ अनुपातमा हकप्रद सेयर निस्कासको तयारी गरेको छ ।
हकप्रद सेयर निस्कासनका लागि कम्पनीले एनसीएम मर्चेण्ट बैकिङ लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेकोे छ । हकप्रद सेयर निस्कासनपछि सानिमामाईको पुँजी २ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुग्ने छ । अहिले कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाट क्षमताको २ आयोजना बनाउन हकप्रद सेयर निस्कासन गर्ने लागेको हो ।
सानिमामाईको पाँचौ वार्षिक साधारणसभाले २८ मेगावाटको तल्लोलिखु र ५४ मेगावाटको मध्यतमोर आयोजना बनाउनका लागि १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको हो ।
सानिमाले पहिलो चरणमा २८ मेगावाटको तल्लोलिखु आयोजना अघि बढाउने भएको छ । दुबै आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) हुँदैछ । यस्तै आवश्यक लगानी जुटाउन बैंकसँगको छलफल अन्तिम चरणमा पुगेको छ । सानिमामाईले २२ मेगावाटको माई, ७ मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ ०९:३१
प्रतिक्रिया दिनुहोस्