खेल
काठमाडौं । रेडबुल फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा रजनी फुटसलले विजय भएको छ । समूह एको खेलमा रजनी फुटसलले आदर्श फुटसललाई ७–२ गोल अन्तरले पराजित गरेको हो ।
आदर्श फुटसलको होम ग्राउन्डमा भएको खेलमा रजनी फुटसलका लागि रुसन केसीले ५ गोल गरे भने म्यान अफ द म्याच घोषित सुमन कार्कीले २ गोल गरे । आदर्श फुटसलका अविरल रिजाल र संमजय बानियाँले एक÷एक गोल फर्काए ।
त्यसैगरी हाइवे र बीजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलको होम ग्राउन्डमा भएको खेलमा हाइवेले अवे टिम बीजी ब्रदर्शसँग २–२ गोलको बराबरी खेल्यो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले एक÷एक गोल गरे भने बीजी ब्रदर्शका सुमन गुरुङ र आकाश लामाले एक÷एक गोल गरे । यस खेलको म्यान अफ द म्याचको उपाधि हाइवे फुटसलका विज्ञान कटवाल भए ।
नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा समूह बीको अंक तालिकामा ताहाचल फुटसल शीर्ष स्थान रहेको छ भने समूह एमा किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ भने ४ खेल खेलेको किकअफको १२ अंक छ ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १८:१४
प्रतिक्रिया दिनुहोस्