खेल
काठमाडौं । रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी फुटसललाई ४–३ गोल अन्तरले पराजित गर्यो । ताहाचललाई जिताउन विशाल गुरुङ, सुनिल बस्नेत, विनय महर्जन र सुजित बुढाथोकीले एक–एक गोल गरे ।
ताहाचल फुटसलको होम ग्राउन्डमा भएको खेलमा अवे टिम सामाखुसीका लागि सुजन महर्जन र सुभास बानियाँले एक÷एक गोल गरे भने एक गोल ताहाचलका तर्फबाट आत्मघाती रुपमा पायो । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ताहाचल फुटसलका विशाल गुरुङ घोषित भए ।
त्यसैगरी किकअफ फुटसल सीतापाइलाको होम ग्राउन्डमा भएको खेलमा किकअफले चउर रिक्रियसन सेन्टरलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै १२ अंकका साथ लिगको शीर्ष स्थान ओगटेको हो । किकअफलाई जिताउन रजिन पाण्डेले ह्याट्रिक गरे भने प्रवेश जोशीले २ एवं आरुस सिंह र विजय श्रेष्ठले एक÷एक गोल गरे । चउरका रोचक गुरुङले सान्त्वना एक गोल फर्काए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार किकअफ फुटसलका रजिन पाण्डे घोषित भए ।
नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा छनोट चरण पार गरेका १६ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १८:४५
प्रतिक्रिया दिनुहोस्