विशेष
काठमाडौँ । लामो फुटबल इतिहास बोकेको रानीपोखरी कर्नर टिम (आरसीटी) ले आफ्नै फुटबल संग्रहालय स्थापना गरेको छ । नेपाली फुटबलमा इतिहास रचेको क्लब आरसीटीले रानीपोखरीनजिकै रहेको आफ्नै क्लब भवनमा संग्रहालय स्थापना गरेको हो ।
आरसीटीले स्थापना गरेको संग्रहालय नेपाली क्लबहरु र फुटबलकै पहिलो संग्रहालय पनि हो । अहिलेसम्म अन्य क्लबले आफ्नो क्लबको इतिहास झल्काउने संग्रहालय स्थापना गरेको छैन । रानीपोखरी नजिकै रहेको क्लब भवनमा रहेको संग्रहालय दैनिक २ बजेदेखि ५ बजेसम्म खुला हुन्छ ।
संग्रहालयमा आरसीटीले जितेका ट्रफी, जर्सी, रेकर्ड र रोचक इतिहासलाई अभिलेखका रूपमा सजाइएको छ । केही पुराना खेलाडीले आफूले जितेका ट्रफी, मेडल संग्रहालयलाई दिएपछि यसले मूर्त रूप लिएको हो । क्लबले रचेको इतिहासको सफलताका प्रमाण जोगाउन क्लबका पदाधिकारी, खेलाडीहरुले इतिहास जीवन्त पार्न संग्रहालय स्थापना गरेका हुन् ।
संग्रहालयमा आरसीटीले जितेको सहिद स्मारक लिग ट्रफी, राष्ट्रिय लिग ट्रफी, महेन्द्र गोल्डकप, पासाङ ल्हामु ट्रफी, रुपक स्मृति अन्तर्राष्ट्रिय फुटबल, शुभजन्मोत्सव कप र महावीर च्यालेन्ज सिल्डको ट्रफी र मेडलहरु राखिएको छ । फुटबलमा मात्र होइन, आरसिटीले भलिबल, एथलेटिक्स र पौडी लगायत खेलमा प्राप्त गरेको ट्रफी र मेडलहरु पनि संग्रहालयमा राखिएको छ ।
अखिल नेपाल फुटबल संघअन्तर्गत बि डिभिजनमा रहेको काठमाडौं रानीपोखरीनजिकै रहेको आरसीटी ८४ वर्षअघि स्थापना भएको हो । काठमाडौंको रानीपोखरी नजिकै रहेका टोलहरु कमलाक्षी, भोटाहिटी, महाबौद्ध, त्यौड, न्हैकन्तला र बालकुमारीका युवाले आ–आफ्ना समूह बनाएर फुटबल खेल्ने क्रममा आरसीटी क्लबको स्थापना भएको मानिन्छ । राणा प्रधानमत्री वीरशमशेरका छोरा तत्कालिन कमान्डर इन चिफ रुद्र शमशेरले आरसिटी क्लब स्थापना गर्न सहयोग गरेको इतिहास छ ।
नेपालकै इतिहासमा ए डिभिजन लिगमा एकै क्लबका तीन टोलीले खेलेको रेकर्ड अहिलेसम्म कसैले भंग गर्न सकेको छैन । आरसिटी क्लब कुनै बेला अन्नपूर्ण क्लब, सुपर आरसिटी र आरसिटी नामबाट ए डिभिजन लिग खेल्ने गर्थे । कुनैबेला ए डिभिजनमा दबदबा राख्न सक्ने आरसिटी २०७० सालमा बि डिभिजनमा घटुवा भएको थियो । हाल बि डिभिजन खेल्दै गरेको आरसीटी अर्को सिजन ए डिभिजनमा उक्लने योजनामा छ ।
ए डिभिजनदेखि सी डिभिजन फुटबल एकै सिजन खेल्ने क्लब आरसिटी हो । आरसिटीले आधिकारिक रूपमा २०२४ सालबाट बि डिभिजन फुटबल खेलको थियो र आरसीटीले २०२८ देखि ३० सालसम्म लगातार सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको थियो । त्यसपछि क्लबले २०३३, २०३७ र २०३८ लिगमा सफलता हात पार्यो । त्यसक्रममा अन्नपूर्णले २०३९ सालमा लिग उपाधि जितेको थियो ।
आरसिटीले नेपाली फुटबलमा इतिहास मात्र रचेको छैन, प्रजातन्त्रका लागि संघर्ष पनि गरेको इतिहास छ । राणा शासनविरुद्ध एक ढिक्का भएर लडेको आरसिटीले पञ्चायतकालिन समयमा पनि प्रजातन्त्रको लागि हतियार बनेर लडेको थियो । सन् १९९० सालको महाभूकम्पअघि नै स्थापना भएको आरसिटी तत्कालीन समयमा राणशासनविरुद्ध जनताको प्रतिनिधित्व गरेर खेल्ने टिमका रूपमा इतिहासमा दर्ज छ ।
आरसिटीले अर्को दुर्लभ इतिहास पनि बनाएको छ । त्यो हो पञ्चायती व्यवस्था र राजनीतिक व्यवस्थाको खिल्ली उडाउन १ सय १ गोल गरेर । कुरा ०३३ सालको सहिद स्मारक ए डिभिजन लिगको हो । त्यसबेला आरसिटीले अन्नपूर्ण क्लबलाई १ गोलका विरुद्ध १ सय १ ले पराजित गरेको थियो, जुन नेपाली फुटबलमा दुर्लभ इतिहासका रूपमा चर्चा गरिन्छ । आरसिटीले आफूभित्रकै अर्को समूह अन्नपूर्णलाई एक सय एक गोल गरेर शासकमाथि उपहास गरेको थियो । त्यसबेला १ सय १ गोल गर्नुको उद्देश्य तत्कालीन समयको राजनीतिक व्यवस्थाको खिल्ली उडाउनु रहेको त्यसबेलाका खेलाडीहरुको भनाइ छ ।
त्यस्तै, आरसिटी क्लबले लगाउने जर्सीसमेत प्रतिबन्धमा परेको इतिहास छ । जर्सीको अगाडिको भागमा चार तारा भएको (हालको नेपाली कांग्रेसको झन्डा स्टाइल) मा आरसिटीआरसीटीले बनाएको त्यसबेलाको जर्सी श्री ५ को सरकारले प्रतिबन्ध लगाएको थियो । आरसीटीको उक्त जर्सी ०२२ सालताका प्रतिबन्धमा परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७३ १२:५२
प्रतिक्रिया दिनुहोस्