
काठमाडौं । कश्मीर आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको नेपाल ठेगाना बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको छ । उपमहानगरका प्रवक्ता शिव रानाका अनुसार, न्यौपाने वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका भतिज पर्छन् ।
वडाध्यक्ष न्यौपानेले पनि सुदीप मारिएको पुष्टि गरे । सुदीप गत शनिबारमात्रै घुम्न भनेर घरबाट निस्किएका थिए ।
"गएको शनिबार घुम्न गएको थियो । आमालाई पनि लगेको थियो, छोरी ज्वाइँ–छोरी पनि सँगै थिए । त्यस्तो दु:खद घटना भयो," वडाध्यक्ष न्यौपानेले भने । अरू तीनजना सकुशल रहेको उनले बताए ।
वडाध्यक्ष न्यौपानेका अनुसार, सुदीप धरानमा ब्याच्लरमा पब्लिक हेल्थ पढ्थे । "ऊ एकदम राम्रो विद्यार्थी हो । बाबुको पढाइ राम्रो थियो । केही समय काठमाडौं पनि पढेको हो । पछिल्लो समय धरानमा पढ्दै थियो," उनले भने ।
वडाध्यक्ष न्यौपानेका अनुसार, सुदीपको शव आजै नेपाल ल्याउने तयारी गरिएको छ । त्यसका लागि उनी आफैँ काठमाडौं आएका छन् । "आज साँझसम्म काठमाडौं शव ल्याउने कुरा छ । म अहिले भर्खर काठमाडौं आएँ," उनले बाह्रखरीसँग भने ।
जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण भएको थियो । जसमा कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमले आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान गएको बताएका थिए । तर, उनको नेपालको ठेगाना र आधिकारिकता पुष्टि हुन सकेको थिएन ।