-1744985963.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि शिक्षक आन्दोलन थप कडा हुने बताएका छन् । अध्यक्ष सुवेदीले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।
महासंघको मंगलबार बसेको बैठकले आन्दोलनलाई थप कडा र दरिलो बनाउने निर्णय गरेको थियो । आजदेखि शिक्षकहरूले आजदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै छन् ।
“यतिका दिनसम्म यहाँहरूले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदाझैँ अनुशासति, संयमित र मर्यादित भएर जुलुसमा सहभागी हुनुहोला । गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला, ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरूलाई पनि प्राप्त होस् । महासंघले निषेध गरेका कुनै पनि काम नगर्न नगराउनुहुन सबै साथीमा विनम्र अनुरोध गरिन्छ,” सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
शिक्षकहरूले शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २२ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा प्रभावित भएको छ । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने निर्णय गरेको थियो । तर, बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्मका लागि परीक्षा सार्ने निर्णय गरेको थियो ।