साहित्य
“निधि ! के भएको यो तेरो घाँटीमा ?” मैले आफ्नी ७ वर्षकी छोरीसँग सोधेँ ।
“काँ ?” ऊ अझै खेल्नमै व्यस्त थिई बाटामा थापेको पानीसँग ।
“यहाँ, पछाडि गर्धनमा । कहाँ ठोक्काइस् फेरि ? अस्ति खुट्टामा थियो निलडाम, आज गर्धनमा । होइन, के गर्छेस् हँ तँ ?” मैले उसलाई झकझक्याएर उसको ध्यान आफूतिर मोड्न खोज्दै भनें, “सीधा भएर बस !”
यो मेरो अति व्यस्त शनिबारको दिनचर्याबाट चिम्ट्याएको एक मुठ्ठी समय थियो, जब म निधिलाई नुहाइदिँदै थिएँ । प्रायः सधैं व्यस्त नै रहन्थेँ म । तर, शनिबार त न सूर्य उदाएको ख्याल गर्ने समय हुन्थ्यो मसँग, न अस्ताएको ।
छोरी जन्मिएको समय याद थियो । त्यसपछिका केही महिना सुत्केरी बिदामा बस्ताको समयमा मैले उसलाई ध्यानपूर्वक हेरेकी थिएँ, खेलाएकी थिएँ । त्यसपछि त ऊ कसरी हुर्किएर यत्री भई, आश्चर्य लाग्छ ।
अरु दिन पकाएर, ख्वाएर अफिस धाउने ध्याउन्नमै बित्छ । छुट्टीको दिन पनि सासू, लोग्ने र केही महिनादेखि हामीसँगै बस्दै आएका कान्छो ससुराको छोरा कपिल दाइको सेवा टहलमै बित्छ ।
कपिल दाइ वल्र्ड बैंकमा काम गर्थे र प्रायः देशविदेश डुलिरहन्थे । घरमा खासै टिक्थेनन् । केही वर्षपहिले उहाँकी श्रीमती घर छोडेर बेपत्ता भइन् । कहाँ गइन् भन्ने पत्तोअत्तो थिएन । नातागोतामा गाइँगुइँ सुनिन्थ्यो– एकआपसमा पट्टक्कै मेल थिएन, काटामार परिरहन्थ्यो । त्यसैले कपिल दाइले बेपत्ता बनाए । मारेर कतै फाल्न लगाए पैसा दिएर । तर, मेरी सासू र पति परमेश्वर भन्थे– लोग्ने घरमा हुन्थेन, त्यसैले एउटा टिपेर हिँडी ।
मलाई उनीसँग डर लाग्थ्यो । उनको बारेमा सुनेका राम्रा–नराम्रा कुराहरुले अत्याउँथ्यो, त्यसैले मैले उनको हामीसँग बस्न आउने कुराको घोर विरोध गरेकी थिएँ । तर, मेरो विरोध कहिले टिकेको थियो र उनीहरुसामु ?
काठमाडौंमै पोस्टिङ थियो उनको यतिबेला । पहिले केही दिनका लागि भनेर आएका उनी ७–८ महिनादेखि हामीसँगै थिए ।
उनी आएदेखि हाम्रो जीवनस्तर अलिकति होइन, धेरै नै सहज भएको थियो । त्यसैले सासू र सासूको छोरा कपिल दाइ काठमाडौं बसुन्जेल अन्त कतै नजाऊन् भनेर उनलाई रिझाउन लागिपर्थे । मलाई पनि उनी बेसै लागे सुनेका कुरामा भन्दा व्यवहारमा ।
महिनामा दुईफेर मासु नदेख्ने घरले हप्तामा दुई–चार फेर मासु र मनग्य फलफूल देख्न थालेको थियो । दूध सकिएर लाजले भुतुक्कै हुँदै पाहुनालाई कालो चिया दिन नपरेको निकै भइसकेको थियो । सासू गाडीमा पशुपतिनाथको दर्शनमा हप्तैपिच्छे पुग्न भ्याउनुहुन्थ्यो । सासूका छोरा पनि दाइको गाडीको रवाफ साथीभाइलाई देखाउन पाउने कुनै मौका छोड्थेनन् । मलाई भने अप्ठ्यारो लाग्थ्यो । निधिको लागि ल्याइएका महँगा लुगा, जुत्ता र खेलौनाको म विरोध पनि गर्थें । तर, सासू र सासूका छोराको कुराले मेरो विरोधलाई टिक्न दिँदैनथ्यो ।
सासू भन्नुहुन्थ्यो, “बरा ! कति मन रुँदो हो । पापीनीले घर उजाडेर हिँडी, नत्र यसको पनि काखमा सन्तान हुन्थे । सानो चोटले त होइन, बिहै नगरी बसेको । अब त बिहे गर्दै गर्दिनँ भन्छ । यै निधिलाई काखमा लिएर सन्तानको रहर मेट्छ । यसमा तेरो मेरो के जान्छ ?”
म मौन हुन्थेँ ।
बेसै थिए उनी । कहिल्यै उनको कुनै व्यवहार अप्रिय लागेन । यत्रा महिनामा कहिल्यै उनले नजर उठाएर मलाई नियालेर हेरेको यादै छैन । आमाको, भाइको र भाइको छोरीको खुब ख्याल राख्थे । मन खोलेर सबैमाथि पैसा खÞर्च गर्थे । म विरोध गर्थें तर मेरा बूढा भन्थे, “छ र त खÞर्च गर्छन् । डलरमा कमाउँछन् । दायाँ–बायाँ कोही छैनन् हेरविचार गर्नुपर्ने हामीबाहेक । के भो त ?”
निधिले छप्ल्याङ गरेको पानी मेरो अनुहारसम्म आइपुग्यो ।
“हैन, टिकेर बस्न सक्दिनस् भन्या ?” म कराएँ, “सारा दिन छैन मसँग तँसँग बिताउन । उठ् ! छोड् यो पानीसँग खेल्न ।”
मैले उसलाई जÞबर्जस्ती उठाएर उसको वरिपरि तौलिया बेर्दै भनेँ ।
“एकैछिन आमु !” निधि लाडे पल्टिई ।
“चिसो पानी खन्याइदिऊँ ?” मैले छेउको बाल्टिन उचालेँ ।
उसले मुख बिगारी । मैले हाँस्दै तौलियाले उसलाई पुछ्न थालेँ । मेरो हात उसको छातीमा पुगेपछि उसले ‘ऐया !’ भनी बिस्तारै ।
“के भो ?” मैले हात रोकेँ ।
“दुख्यो ।”
“कहाँ ?” मैले सोधेँ ।
उसले छातीको एक छेउमा औँला राखी । मैले उसले औँला राखेको र त्यसको वरिपरि राम्ररी हेरेँ । खासै केही देखिन्थेन, तर नियालेर हेर्दा छालाको रंग अलि बेग्लै– पहेँलो, खैरो–खैरो देखिन्थ्यो ।
“के भयो ?” मैले फेरि सोधेँ । यसपटक मेरो स्वरमा चिडचिडाहट नभएर गम्भीरता थियो ।
“मलाई था छैन,” उसले हातमा लिएको खेलौनासँग व्यस्त हुँदै भनी ।
“यता हेर् निधि !” मैले उसको हातबाट खेलौना खोस्दै कठोर स्वरमा भनेँ, “कहीँ ठोक्किएको थ्यो ?”
“था छैन !” उसले रोऊँ–रोऊँ गरी तर मैले त्यता ध्यानै नदिई उसको पूरा शरीरमा आँखा गाडेर हेरेँ । त्यस्ता प्रष्ट, अप्रष्ट अरु केही दाग देखिए । मेरो मुटु बेस्मारी धड्किन थाल्यो । पहिल्यै किन ध्यान दिइनँ मैले यी दागतिर ?
“निधि ! बच्चा ! याद गरेर भन त, कसरी चोट लाग्यो यति धेरै ठाउँमा ? कहाँ ठोक्कायौ ?” मैले आँखामा उत्रिएको वाफले भिज्दै भनेँ ।
“आमु ! स्वेर भनेको, कहीँ ठोकेको छैन । लुगा लगाइदिनू न मलाई जाडो भयो,” उसले फेरि खेलौना टिपी ।
मैले उसलाई अँगालेर रुँदै भने, “दुखेको छैन तँलाई ? यतिविधि निलडाम...।”
“नरुनू न आमु... ठूलो ड्याडीले माया गरेको हो क्या...!”
उसले मलाई अँगाली ।
मेरो अगाडि सारा सृष्टि गल्र्यामगुर्लुम ढल्यो । म उसलाई छोडेर त्यहीँ थचक्क बसेँ । मेरो मुटुले रगत पम्प गर्नै छोडेझैं भयो । आँखाअगाडि अन्धकार छायो । यस्तो लाग्यो– म जीवित नै छैन । टाढा कहीँ आफ्नै स्वर गुन्जिएको सुनेँ मैले, “ममी ! प्लिज मलाई भिनाजुको कोठामा नपठाउनुस् । म जान्नँ अब त्यहाँ ।”
० ० ०
“के भन्छे यो ?” ममी कराउनुभो, “किन ? के भो र ?”
“के–के के–के भन्नुहुन्छ । हात समात्नुहुन्छ । यताउता छुनुहुन्छ । अब उहाँले केही अह्राउनुभयो भने मलाई जा नभन्नू, कि आफैँ जानू कि भाइलाई पठाउनू ।”
म हातको गिलास त्यहीँ फालेर रिसाउँदै बाहिर निस्किएँ ।
“हेर हेर यसको बुद्धि । बढेर बाँसजत्री भैसकी तर एक पैसाको बुद्धि छैन । भएदेखि मैले यत्रो पिर किन गर्नुपथ्र्यो र ?” ममी कराउनुभयो ।
ममीले १२ वर्षकी ममा देख्न चाहेको बुद्धिमता र व्यवहारिकता के थियो– म कोसिस गरेर पनि बुझ्न सक्थिनँ ।
भिनाजु अर्थात् ठूलो बुबाको छोरीको देवर, जो धनकुटाबाट सरुवा भएर काठमाडौं आएका थिए । उनी साथीहरूसँग मिलेर डेरामा बस्थे । तर, प्रायःजसो शनिबार हाम्रो घर आउँथे । पहिलेपहिले ममी झिँजो मान्नुहुन्थ्यो । तर, जब भिनाजुले ममा चासो देखाउन थाले, ममी उनलाई घर आइरहन प्रोत्साहित गर्न थाल्नुभयो । ममी अनेक बहानामा मलाई उहाँको सामु पार्नुहुन्थ्यो । म भने आफूभन्दा १६–१७ वर्ष ठूलो, अविवाहित भिनाजुसँग खुब डराउँथेँ ।
ममीको खुला निमन्त्रणा पाएर भिनाजु पनि कुनै शनिबार, कुनै बिदामा घर आउन बिराउँदैनथे र घरमा ममीले उपलब्ध गराइदिनुभएको एकान्तमा उनी मेरो हातमात्र थाम्थेनन्, मेरो शरीरमा यताउता छुन, सुमसुम्याउन पनि भ्याउँथे । म त्यो छुवाइ, सुमसुम्याइको कुनै खास मतलब त लगाउन सक्थिनँ तर पनि उनको त्यो दर्ख¥याउने छुवाइसँग त्रसित भएर ममीसँग गुनासो गर्थेँ । तर, ममी एउटै कुरा भन्नुहुन्थ्यो, “बुद्धि नभएकी स्वाँठ ! दिमाग पनि घुँडैमा छ जस्तो छ ।”
त्यस्तो बेला म सधैं कामना गर्थें, “हरे ! आज मेरो बाबा जीवितै हुनुभएको भए !”
मेरो बाबा केही वर्षअघि एक्सिडेन्टमा परेर बितिसक्नुभएको थियो । ममीलाई मद्दत गर्ने मनकारी माइती थियो उहाँको । त्यसमाथि बाबाले पनि राम्रै जोडजाम गरेर छोड्नुभएको थियो । तर, पनि ममी आफ्नो दुखेसो आउने–जाने कसैलाई नसुनाई छोड्नुहुन्थेन । उहाँको सबैभन्दा ठूलो दुखेसो मलाई लिएर हुन्थ्यो । १२ वर्षकी मेरो बारेमा उहाँ ‘हुर्केबढेकी छोरी, बाउ छैनन्, मैले कसरी पार लाउनू ?’ भनेर सबैसँग सुनाउँदै हिँड्नुहुन्थ्यो ।
ममीको व्यवहार भाइ र मप्रति सधैं फरक हुन्थ्यो । भाइ बोर्डिङ स्कुलमा पढ्थ्यो, म सरकारी स्कुलमा । १०–११ वर्षको भाइ केटाकेटी थियो उहाँको नजरमा । तर, १२ वर्षकी म जवान, परिपक्व । उहाँको त्यो व्यवहारको बारेमा मैले उहाँसँग गुनासो गरे उहाँ निर्धक्क भन्नुहुन्थ्यो, “तैँले रिस गरेर हुन्छ ? तँ त अर्काको घर जाने जात, भाइले त भोलि ठूलो भएर यो घर चलाउनुपर्छ । मलाई पाल्नुपर्छ ।”
त्यतिबेला मलाई उहाँसँग भन्दा धेरै भगवानसँग चित्त दुख्थ्यो, के बिग्रन्थ्यो उनको यदि मलाई पनि छोरा बनाइदिएको भए ?
जबदेखि भिनाजु हाम्रो घर आउन थालेका थिए, ममी मलाई मेरो उमेरभन्दा ठूली बनाएर देखाउन लागिपर्नुभएको थियो । भिनाजु पनि मेरो अग्लो शरीरका कारण मलाई उमेरदार नै देख्थे शायद । त्यसैले त एक्लै भेट्यो कि मेरो हात समातेर मायाप्रेमका कुरा गर्न भ्याउँथे अनि कहिले गाला त कहिले थुतुनो मेरो मुखैमा जोड्न ल्याउँथे । म बडो मुस्किलले उनको पञ्जाबाट फुत्केर ममीसँग गुहार माग्न जान्थेँ । तर, ममी एउटै कुरा भन्नुहुन्थ्यो, “मुर्ख बुद्धि !”
बिस्तारै मैले ममीसँग गुनासो गर्न छोडिदिएँ । भिनाजुसँग सकभर आफैं बचेर बस्न कोसिस गर्थें । तर, पनि उनी मौका छोपेर मलाई एकाधफेर अँगालेर छातीमा टाँस्न, टोक्न, चिमोट्न भ्याइहाल्थे । म एक्लैमा उनको हातले दर्फ¥याएको, निलडाम छोडेको ठाउँमा सुमसुम्याएर रुनबाहेक अरु केही गर्न सक्थिनँ ।
यस्तैमा डेढ वर्ष बित्यो ।
त्यो शनिबार भिनाजु आएको एकैछिनपछि ममी ‘जÞरूरी काम’को लागि घरबाट निस्कनुभयो– मलाई भिनाजुको आदरसत्कारको जिम्मा दिएर । मैले उहाँलाई रोक्न, उहाँसँगै जान खुब कोसिस गरेँ तर मेरो केही लागेन ।
म चिया–खाजा लिएर भित्र पसेपछि भिनाजुले कोठाको ढोका बन्द गरे । म डरले नीलो कालो भएँ ।
“किन डराएकी लाटी ? म बिहे गर्छु क्या तिमीसँग मैले भनेको मान्यौ भने । सत्य !” उनले मेरो हात समातेर मलाई आफूतिर तान्दै भने ।
“भिनाजु ! बिन्ती मलाई छोडिदिनुस्, म तपाईंसँग बिहे गर्दिनँ,” मैले फुत्किने प्रयास गर्दै भनें ।
“ल हेर ! म भने तिमीलाई रानी महारानी बनाएर राख्छु भनेर सोच्छु । तिमी भने मेरो वास्ता गर्दिनौ । यता आऊ, मैले भनेको मान, म तिमीलाई दुखाउँदिनँ, प्रमिस ।” उनले मलाई बेस्सरी आफ्नो छातीमा च्याँपे ।
म निसासिएर झन् बेसरी छटपटाएँ । उनको सासको दुर्गन्धले मलाई बान्ता होला जस्तो भयो । तर, मैले आफूलाई उनको बन्धनबाट मुक्त गर्न सकिनँ । उनको मुख मेरो अनुहारमा जोतिएको थियो अनि एउटा हात मेरो शरीरमा सलबलाइरहेको थियो ।
म रोइरहेँ । आफूलाई उनको पञ्जाबाट मुक्त गर्ने प्रयास पनि गरिरहेँ । तर, उनको जोरजबर्जस्तीको अगाडि मेरो केही लागेन । उनले मलाई जुरुक्क उचालेर ओछ्यानमा पल्टाए र मेरो शरीरलाई आफ्नो शरीरले थिचे । मेरो सास अड्कियो । मैले डर र त्रासको अधिकतामा चलमलाउन बिर्सें । केवल भगवान् भाकिरहेँ । भिनाजुले मेरो सुरुवालको इँजार ताने ।
ढोकाबाहिर बिहानदेखि बेपत्ता मेरो भाइ करायो, “साँची ! ए साँची ! ढोका खोल त !”
भिनाजुले चिच्याउन तत्पर मेरो मुखमा आफ्नो हात राखे र कानमा मुख जोडेर भने, “गैहाल्छ, तिमी एक्कैछिन चुप लाग ।”
ममा मानौं, नयाँ जीवन सञ्चार भयो । सधैं शत्रूजस्तो लाग्ने भाइ ईश्वरतुल्य लाग्यो । मैले आफ्नो मुखमा भएको भिनाजुको हातमा टोकिदिएँ । भिनाजुले रन्थनिएर मेरो मुखबाट हात हटाए । म सास नफेरि चिच्याएँ, “भाइ ! एकैछिन पर्खी, म ढोका खोल्छु ।”
भिनाजु मबाट अलग भए । म ज्यान छोडेर ढोकातिर दगुरेँ । त्यो दिन म भाइलाई अँगालेर खुब रोएँ ।
ममी घर आउँदा भिनाजु गइसकेका थिए । मैले लुछाचुँडीमा फाटेको कुर्ता फेरिसकेको थिएँ । तर, नीलो भएको ओठ लुकाउने कुनै उपाय थिएन मसँग । मैले उहाँलाई अँगालेर कोकोहोलो मच्याएर रुनुभन्दा पहिल्यै ममीले भन्नुभयो, “दुई दिन घरबाट बाहिर ननिस्की । स्कुल नजा । सबै ठीक भैहाल्छ ।”
म डेग चल्न सकिनँँ । त्यसपछि मैले उहाँसँग केही भनिनँ ।
३ महिना नबित्दै, १४ वर्ष पनि नपुगेकी मेरो तिनै भिनाजुसँग बिहे भयो ।
मेरो विरोध र रुवाबासीले केही फरक परेन । जसको छायाँसँग पनि डराउँथेँ, उनैलाई मसँग हरेक रात बलात्कार गर्ने लाइसेन्स प्राप्त भयो ।
ममी दंग पर्नुभयो बिनाखर्च, पढेलेखेको, सरकारी जागिरे, राम्रै घरको केटालाई मेरो जिम्मा लगाएर । भिनाजु खुसी भए, यत्रो समयदेखि जोरजबर्जस्ती गर्दा प्राप्त गर्न नसकेको शरीरमाथि कब्जा जमाएर । सबै फाइदामा थिए, शिवाय म । मेरो त सबै सम्बन्धप्रतिको मान र भरोसा टुटेको थियो । झन् लोग्ने भन्ने शब्दप्रति त घृणा नै उब्जिएको थियो मेरो मनमा । शारीरिक सम्बन्ध एउटा घृणायुक्त, जबर्जस्तीबाहेक केही रहेन ।
छोरीको बोझ मनमर्जी उतारेर हलुका हुनुभएकी मेरी जननीलाई मैले आफ्नो डराएको, तहसनहस भएको हृदय खोलेर देखाउन सकिनँ । मेरो कम उमेरको ख्याल नगरेर मनमर्जी मेरो शरीरलाई भोग्ने त्यो अधम पुरुषलाई त झन् के भन्न सक्थेँ म– जसको लागि एउटा शरीरबाहेक अरु केही छँदै थिइनँ म ।
भिनाजुले आफ्नो घरपरिवार सबैको मर्जीको विपरीत मसँग बिहे गरेका थिए । त्यसैले म उनका घरपरिवार र आफन्तको आँखाको छारो थिएँ । उनीहरु मेरो उमेर पनि हेर्थेनन्, अघिल्तिरै भन्थे, “पढेलेखेको, जागिरदार केटो देखेर फसाई यसले । नत्र हाम्रो बाबु कहाँ त्यस्तो हो र ? अनुहार जूनजस्तो, चरित्र भने औँसीभन्दा कालो । थुइक्क लबस्तरी !”
मेरो मन घरधरी रुन्थ्यो आफ्नो चरित्रमाथिको यत्रो ठूलो आक्षेप सुनेर । तर, मेरी आफ्नी आमाले नसुनिदिएको पीडा म अरु कसैलाई देखाउन सुनाउन सक्दिनथेँ । नातागोता र आफन्तमा म चरित्रहीन भएँ, जसले एउटा पढेलेखेको सम्भ्रान्त परिवारको चरित्रवान युवकलाई आफ्नो रूपजालमा फसाएर बिहे गर्न बाध्य पारेथेँ । मेरा चरित्रवान पतिदेव मेरो सफाइमा एक शब्द खर्च गर्थेनन् । परिणाम– मलाई हेर्ने सबैको नजर मैलो भयो । नातागोताकै पुरुष पनि मलाई सजिलै उपलब्ध चिज ठानेर पछि पर्थे ।
१४ वर्ष पनि नपुगेकी एउटी किशोरी, जसलाई शरीरको, शारीरिक सम्बन्धको राम्रो ज्ञान थिएन । ऊ सबैको नजरमा यस्तो चिज थिई, जो चाहेको कुरा प्राप्त गर्न आफ्नो शरीर प्रयोग गर्थी ।
स्वास्नीमान्छेलाई काल पनि त्यति सजिलै आउँदैन । खासगरी मजस्तोलाई । त्यसैले त जिन्दगीले दिएको त्यतिका विष पिएर पनि म मरिनँ, बरु मेरो जिन्दगी झनै कष्टकर हुँदै गयो ।
मेरा हजारौं लाखौं प्रार्थनाको विरुद्ध मैले १६ वर्षकै उमेरमा छोरी जन्माएँ । कति भगवान भाकेथेँ छोराको लागि तर छोरी जन्मिई ।
मलाई छोरा यसकारण चाहिएको थिएन कि म छोरा र छोरीमा भेदभाव गर्थें । म फेरि अर्की म चाहन्नथेँ । म हुनुको अपराध म झेलिरहेकै थिएँ । त्यसैले अर्को म मलाई चाहिएकै थिएन ।
घरमा पनि कोही खुसी भएनन् छोरी जन्मिएकोमा । मेरो कोखमा उसलाई रोप्ने उसको बाउले समेत उसलाई काखामा लिएर खुसी प्रकट गरेनन् । तर, मेरो त बाध्यता थियो ।
त्यसैले मैले उसलाई छातीमा टाँसेर मनमनै भनें, “म तँलाई अरु केही दिन सकौँ÷नसकौँ तर मेरोजस्तो जिन्दगी कदापि दिन्नँ ।”
० ० ०
“आमु ! जाडो भयो के !” निधि मलाई कोट्याइरहेकी थिई ।
मैले आफ्नो आँसु पुछेँ । रोइसकेँ म रूनुपर्ने जति आफ्नो लागि । अब यसको लागि मैले आँसु बगाउने होइन, हिम्मत जुटाउनु छ ।
सबै चिज त्यसै लथालिंग छोडेर म निधिलाई लुगा फेराई भित्र पसेँ । कोठाको एकान्तमा मैले निधिसँग फकाई–फकाई सबै कुरा सोधेँ– उसले जे–जति भन्न सकी र मैले जे–जति सुन्न सकेँ । आँसु कतिबेलै रोकिएनन् ।
म दनदनाउँदै कपिल दाइको कोठामा छिरेँ उनको खप्पर फुटाउँछु भनेर । तर, उनी कोठामा थिएनन् ।
यी वर्षहरूमा मैले सबैखाले आघात सहँदै कसैगरी ब्याचलर इन नर्सिङ सकेर एउटा प्राइभेट अस्पतालमा काम सुरु गरेकी थिएँ । मुटुको रोगी सासू हामीसँग बस्न थाल्नुभएको धेरै भैसकेको थियो । यो महँगो सहरमा घिस्रिरहेको जिन्दगी सुखी नभए पनि खासै गुनासो गर्ने ठाउँ थिएन । तर, अब आएर कपिल दाइ मेरो अतीत दोहो¥याउँदै थिए मेरी सात वर्षकी छोरीसँग । के म फेरि एकपटक यो अन्याय, यो अत्याचार हुन दिन्थेँ आफूसँग ? म चुप बस्न सक्थेँ मेरी आमाले जस्तै ? अहँ ! म कदापि यस्तो हुन दिन्नँ ।
म दाँत बाँधेर बडबडाउँदै सासूको कोठातिर लागेँ ।
सासू र उनका छोरा कुनै गहकिलो मन्त्रणामा लागेका थिए ।
मैले कुरा निकाल्नेबित्तिकै महाभारत मच्चियो । दुवैलाई विश्वास लागेन ।
“निधिसँग सोध्नुस्,” म कराएँ, “उसले त झुटो नबोल्ली !”
“त्यो बालखलाई के थाहा ? त्यसले त त्यही भन्ली जे तैंले सिकाएकी छस्,” मेरो शरीरको हकदार, हरेक रात मेरो आत्माको, मेरो शरीरको बलात्कार गरेर १५ वर्षकी मेरो गर्भमा मातृत्वको जग हाल्ने मेरो पतिदेवले भने ।
“म किन सिकाउँछु छोरीलाई यस्तो कुरा ?” म आक्रोशपूर्वक कराएँ, “भैगो छोड्नुस् ! तपाईंहरूलाई पत्यार नलाग्दैमा म चुप बस्नेवाला छैन । मेरो साथमा जे भयो, सो भयो । अब म निधिको साथमा त्यो सब हुन दिन्नँ । म तपाईंको दाइसँग कुरा गर्छु,” म ढोकातिर बढेँ ।
“बाबु आज बिहानै सुर्खेत गा’छ एक हप्ताको लागि,” सासूले सानो स्वरमा भनिन् ।
म एकैछिन के गरौँ के गरौँ भएँ ।
“यता सुन्,” सासूले मलाई हातको इशाराले आफ्नो छेउमा बोलाइन् । तर, म परैबाट उनीहरुलाई हेरिमात्र रहेँ, डेग चलिनँ ।
“बाबुले यसलाई पनि आफ्नै अफिसमा हाल्न ला’छन्,” मेरी सासूले टाउको झुकाएर आफ्नो ओछ्यानमा बसेको आज्ञाकारी छोरातिर इशारा गर्दै भनिन्, “कहिलेसम्म डेरामा बस्छौ ? घरबार जोड्न परेन ? छोरीलाई त्यति महँगो स्कुलाँ हाल्या’छौ, घरको भाडा उत्तिकै छ । कसरी र कहिलेसम्म चलाउँछौ यसरी ? बाबुको राम्रो ठाममा काम भए, ठूल्बाबुले जस्तै कमाइ भए सुख तैँलाई त हो !”
मैले पतिदेवतिर हेरेँ । उनको अनुहारमा पूर्ण सहमति थियो । मेरो मनमा डढेलो सल्क्यो । केको बदलामा ? के म पनि मेरो आमाजस्तै पाषाण बनेर चुप रहन सक्थेँ ? सोचेरै घिनाएँ म ।
“मलाई अरु केही थाहा छैन । त्यो मान्छे यहाँ, मेरो घरमा अब भित्रिने छैन, नत्र म पुलिसमा रिपोर्ट लेखाउँछु,” मैले भनेँ ।
“यो घर तेरो हो र ?” सासूले भनिन्, “चार पैसो कमाएर ल्याउँदैमा घर तेरो हुन्छ कि क्या हो अब ? घरमुलीको मर्जी । मेरो छोरोको इच्छा ।“
मैले आशापूर्ण भावले मेरी छोरीको बाउतर्फ हेरेँ ।
“केटाकेटीको कुरालाई अर्थको अनर्थ लाएर पनि हुन्छ ?,” मेरो पतिदेवले असहज हुँदै भने, “यस्ता कुराले घर सम्बन्ध बिग्रन्छ । दाइले कति सहयोग गर्नुभा’छ, कत्रो ढाडस भा’छ उहाँ हामीसँगै भएर । केही दिनमा मेरो पनि उहाँकै अफिसमा नियुक्ति हुँदैछ । त्यसपछि तैंले धेरै काम नगरे हुन्छ । किन बेकारमा त्यो बालखको कुराले सबै बिगार्छेस् ?”
सल्लाहले केही हुनेवाला थिएन । झगडा झमेला गरेर उनीहरूसँग पार पाउने मेरो औकात थिएन । फेरि कुरो बाहिर आए निधि पनि मजस्तै बदनाम हुन्थी । के म त्यो सात वर्षकी बच्चीको बालापन दागदार बनाउने हिम्मत राख्थेँ ? अहँ सक्दिनथेँ ।
कति सजिलो छ आदर्श र आँटका कुरा गर्न र वास्तविकतामा झेल्न, कसैले मजस्तै आईमाई र आमासँग सोधिहेरोस् ।
मैले लगातार बगिरहेको आँसु पुछें र दृढ स्वरमा भनें, “तपाईंहरूलाई हामी चाहिन्छ कि कपिल दाइ ?”
“के कुरा गर्छेस् साँची तँ त...”
“मलाई अरु केही सुन्नु छैन,” मैले उनको कुरा काटेँ, “तपाईं कपिल दाइलाई केही भन्नुहुन्न, यति सबै सुनेर देखेर पनि सँगै राख्नहुन्छ भने म र निधि यो घरमा बस्दैनौं । अब तपाईं निर्णय गर्नुस् ।”
यसपटक म सिधा पतिदेवसँग सम्बोधित थिएँ ।
“साँची तँ...”
“छोड येल्लाई,” सासूले हात हल्लाउँदै क्रोधित स्वरमा भनिन्, “हेरौँ काँ जाँदिरै’छ । बडो धम्काउने भा’की । कसैको नभाको यसकी छोरी... जा सुन्दैन बाबुले तेरा कहीँ नभाका कुरा, जे गर्छेस् गर् ।”
मैले केहीबेर उनको झुकेको गर्दनमा हेरेँ र निर्णायक कदम बाहिरतिर बढाएँ ।
“एकपटक यो घरको संघारबाट बाहिर निस्केपछि तेरो र तेरी छोरीको जिम्मेवारी मेरो हुनेछैन साँची, होस गर्,” उनले भने ।
मैले फर्किएर आँशुले धमिलो भएको आँखाले पालैपालो दुवैलाई हेरेँ ।
“मेरी छोरी ? मेरीमात्रै ?” मेरो घाटी रुँघियो, “त्यसो भए त सकिहाल्यो नि । मेरी छोरीको सुरक्षाको लागि म पराइहरुको मुख किन हेरूँ ?” म अघि बढें ।
उनी उठ्न खोजे तर सासूले तानेर फेरि बसाउँदै भनिन्, “जान दे बाबु त्यसलाई ! हेरौँ काँ जाँदी रै’छ ? चार दिनमा फर्केर आउँछे । कसले हेर्छ त्यसलाई ? हाम्लाई के फरक पर्छ ? खुट्टा भए जुत्ता कति कति । राम्रो पैसा कमाउने जागिर भएसी, घरबार भएसी भने जस्ता पाइन्छन् ।”
“त्यो त ठीकै छ तर निधि...”
“छोरी मोरी न हो ? छोरा भए पो ? किन फिक्री अर्छस् ? त्यै पनि औकातमा फर्केर आएपछि आइहाल्छे नि यो फिर्ता ।”
मैले कोठामा आएर आफ्नो र निधिको सामान प्याक गर्न थालें । अलिअलि भएको गहना पोको पारेँ ।
“आमु ! हामी कहाँ जाने ?” निधिले सोधिरही तर मैले भन्न सकिनँ, “जहाँ म तँलाई सुरक्षित राख्न सक्छु ।”
कहाँबाट दिन्थेँ म उसलाई घरमा नपाएको सुरक्षा ? साँच्चै, कहाँ जान सक्थेँ म ? एउटा ममीको घर थियो तर जहाँ म सुरक्षित रहन सकिनँ, त्यहाँ मेरी छोरी कसरी सुरक्षित रहन सक्थी ?
म नाबालक छोरी च्यापेर मानिसहरूको यो जंगलमा सुरक्षा खोज्न निस्किएँ । डर त खुब लागेको थियो तर यतिबेला मलाई त्यो घरभन्दा यो जंगल सुरक्षित लाग्दैथियो ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७३ १३:३५
प्रतिक्रिया दिनुहोस्