विशेष
निशा रावल
ओलम्पियन (तेक्वान्दो)
मेरो यो पटकको दसैँ अमेरिकामा बित्नेछ । म अमेरिकामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा विशेष अथिति बनेर त्यसतर्फ जानेछु । त्यसैले मेरो दसैँ अमेरिकामा हुनेछ । त्यहाँ पनि धेरै नेपालीहरू हुनुहुन्छ, खेलाडीहरू छन् । त्यसैले नेपालमा जस्तै रमाइलो हुन्छ भन्ने लागेको छ । नेपालमा जस्तै त्यहाँ पनि टीका, जमरा र गुरुहरूको आशीर्वाद लिएर दसैँ मनाउनेछु ।
नेपालमा भएको भए काठमाडौँमै मनाउने थियौं । मामाघर जाने, टीका लगाउने, मिठो मिठो खाने योजना थियो । दसैंको बेला फुर्सद हुने हुँदा साथीहरूसँग घुम्न पनि गइन्थ्यो । तर, अमेरिकामा पनि दसैं रमाइलो नै होला भन्ने लागेको छ । यो पटकको दसैँमा नयाँ अनुभव हुनेछ ।
शिरिष गुरुङ
ओलम्पियन (पौडी)
यो पटकको दसैं विशेष मनाउनेछु । किनकि मेरो सपना थियो ओलम्पिक खेल्ने, ब्राजिलको ओलम्पिक खेल्न पाएँ र मेरो सपना पनि साकार भयो । त्यसैले यो पटकको दसैं विशेष तरिकाले मनाउने योजना छ ।
अघिलो वर्ष ओलम्पिक तयारी गर्दा दसैं मनाउन पाइएन, त्यो बेला थाइल्याण्डमा बित्यो दसैं । यो पटक फ्री छु । अब जाडो महिना सुरु भएकोले अभ्यास पनि त्यति धेरै हुँदैन । त्यसैले यो पालिको दसैं निकै रमाइलो होला भन्ने लागेको छ ।
दसैंको दिन ठूलो ड्याडीको घरमा गएर टीका लगाउनेछौं । त्यहाँ नाचगान हुन्छ हाम्रो । तास खासै खेल्दिनँ, ठूला मान्छेहरू मात्र खेल्छन् । त्यसैले हामीचाहिँ विभिन्न परिकार खाएर, नाचेर दसैं मनाउने हो ।
दसैंको बेला काठमाडौँको रोड निकै खुला हुन्छ । म, बाइक राइडमा सोखिन पनि हुँ । त्यसैले अन्य बेला बाइक काठमाडौँमा राम्ररी कुदाउन पाइन्नँ । तर, दसैंमा खुला हुने हुँदा बाइक राइड मज्जाले गर्ने योजना छ । साथीहरूसँग बाइक राइड गर्दै विभिन्न ठाउँ घुम्ने योजना पनि छ ।
अनिल गुरुङ
कप्तान (फुटबल)
दसैं सधैं विशेष हुनेगर्छ । हामी बुद्ध धर्म मान्ने भएकाले टीका लगाउँदैनौं, अरु सबै अन्य नेपालीले जसरी मनाउँछन्, त्यसरी नै मनाउने गर्छौं । यो पाली दसैमा परिवार, नातेदार, आफन्तहरूसँग गेट टुगेदर गरेर मनाउने प्लान छ । विशेष योजना केही छैन । घरमै दसैँ बित्नेछ ।
यो दसैँमा खासै प्लान गरेको छैन । तर, स्कुल पढ्दाको ३–४ जना साथीहरू विदेशबाट आउँदैछन् । उनीहरूले गेटटुगेदर गरेर मनाउनुपर्छ भनेका छन् । साथीहरू धेरै पछि आउँदैछन्, रमाइलो होला भन्ने लागेको छ ।
त्यसबाहेक यो दसैंमा मेरो दैनिकी अभ्यासमा बित्नेछ । सबै खेलाडीलाई बिदा त हुन्छ तर अहिले पनि सेल्फ ट्रेनिङ गरेर बिताउने गरेको छु । दसैँलगत्तै सोलिडारिटी कप फुटबल हुँदैछ । त्यसैको लागि आफूलाई तयारीमा राख्ने योजना छ ।
सोमपाल कामी
क्रिकेट खेलाडी
यो दसैँ मेरो विशेष हुनेछ । म यो दसैं गुल्मीमा मनाउनेछु । म गुल्मीमा धेरैपछि दसैँ मनाउँदैछु । दसैंको लागि भनेर आमाबुबा पनि गुल्मी आउनुभएको छ । त्यसैले निकै रमाइलो हुनेछ ।
मेरो गुल्मी बसाइ निकै अवस्मरिय बनेको छ । किनकि मैले मेरो गाउँमा धेरै कम मान्छेलाई चिनेको छु । तर, यहाँ मलाई सबैले चिन्नुहुने रहेछ । मलाई भेट्न धेरै टाढा टाढाबाट आउनुभएको छ, आइरहनु भएको छ ।
मलाई यहाँ भेट्न आउनेहरूले खसी, कुखुरा, फलफूल लिएर आउनुहुन्छ । दसैंको मौसममा आश्चर्यजनक कुराहरू हुँदा मलाई निकै गर्व लागेको छ ।
यो पालिको दसैँमा पूजाहरू हुन्छ । मन्दिर गएर परेवा उडाउने योजना छ । गाउँमा सबै आफन्तको घरमा गएर टीका लगाउने योजना पनि छ । जे होस्, दसैँ भव्यताका साथ मनाउने योजना छ । मलाई त अहिलेबाटै दसैँ लागेको छ । मेरो समर्थकहरूको माया देखेर दंग छु ।
दीपक बिष्ट
कीर्तिमानी पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक
मेरो यो पटकको दसैं टीका नलगाई हुनेछ, किनकि मेरो हजुरआमाको जुठो परेको छ । तर, पनि सबै परिवार यहीँ छन् । यो पालिको दसैँ काठमाडौँमै बित्नेछ । दसैंमा टीका नलगाए पनि गेटटुगेदर हुन्छ, रमाइलो गरिन्छ ।
अन्य दसैंमा पुख्र्यौली घर गइन्थ्यो । डडेल्धुरामा पूजा हुन्थ्यो । तर, यो पाली जुठो परेकोले त्यसो हँुदैन । डडेल्धुराको साटो सबै काठमाडौँमै छौं । बुबाआमा सबै यतै छन् । त्यसैले काठमाडौँमा फरक दसैँ हुनेछ ।
अरुबेला परिवारलाई समय दिन पाइँदैन । तर, यो दसैंको पाँच दिनचाहि परिवारसँग हुनेछु । परिवारसँग बसेर आफ्नो, परिवारको भविष्यबारे छलफल गर्नेछौं, किनकि अरुबेला फुर्सद नै हँुदैन । यसपटक दसैंको अरु खासै नयाँ प्लान केही छैन । मेरो दसैँ पारिवारिक रमाइलोमै बित्नेछ ।
दीपक श्रेष्ठ
कराँते पूर्वखेलाडी तथा प्रशिक्षक
यो पटकको दसैँ फूलपातीकै दिनबाट लाग्यो मलाई । फूलपातीको दिन पोखरा घुम्न गयौं परिवारसहित । ३ दिने पोखरा बसाइ निकै रमाइलो भयो । अन्य खासै अर्को प्लान बनेको छैन । दसैँ चापागाउँ (घर)मा मनाउनेछौं ।
घरमा ९० वर्षकी हजुरआमा हुनुहुन्छ । उहाँको हातबाट टीका र आशीर्वाद लिनेछु । त्यस्तै बाबुआमाको हातबाट पनि टीका लगाउनेछौं । जे होस्, दसैँ साधारण नेपालीले जसरी मनाउँछन्, हामी पनि त्यसैगरी मनाउँछौं ।
दसैंमा रमाइलोका लागि तास खेल्ने चलन छ । तर, मलाई खेल्न आउँदैन, हेरेर रमाइलो गर्छु । त्यसबाहेक दसैंमा बिदा हुने हँुदा सबै आफन्त, नातेदारसँग भेट हुन्छ । उहाहरूसँग रमाइलो गर्ने, गेटटुगेदर गर्ने योजना छ ।
दसैंको बेला परिवारसँग हलमा गएर फिल्म हेर्ने योजना पनि छ ।
रबिना महर्जन
टेबल टेनिस खेलाडी
दसैँमा टीका लगाउन मिल्दैन । काका र ठूलीआमाको जुठो छ । तर, टीकाबाहेक अन्य कुराहरू दसैंमा गरिन्छ । परिवारसँग बसेर दसैँ मनाइन्छ । दसैंमा ट्रेनिङहरू छैन । गेमहरू पनि छैन । त्यसैले रमाइलो गरेर बित्नेछ दसैँ ।
दसैंमा तास खेल्न रमाइलो हुन्छ । हल्का तास खेल्ने, नातेदारकोमा गएर ग्यादरिङ गर्ने, मिठो मिठो परिकार बनाएर खाने योजना छ । घुम्न जान एकदमै मन पर्छ । तर, यो पालिको दसैंमा घुम्न जाने प्लान बनिसकेको भने छैन । यदि प्लान बन्यो भने साथीहरूसँग घुम्न पनि जान सकिन्छ ।
दसैँको बिदामा फिल्महरू हेरेर बस्नेछु । फिल्म हेर्न हलमा भन्दा पनि घरमै बसेर हेर्न रमाइलो लाग्छ । त्यसैले घरमै बसेर फिल्महरू हेरिन्छ । अरु त खासै प्लान छैन दसैंको ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७३ १२:३२
प्रतिक्रिया दिनुहोस्