पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् । मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको संलग्नता हुने हो ।
पुरुषलाई शारीरिक रुपमा शक्तिशाली छु भन्ने लाग्छ । ठूलो पदमा भएका वा दुर्व्यसनीमा फसेका व्यक्तिहरु यस्तो कार्यमा संलग्न हुने गरेका छन् । अहिले यस्तो कार्यमा संलग्नलाई फाँसी दिनुपर्छ भन्ने कुरा पनि आइरहेको छ । तर, फाँसी हुँदैमा यस्ता घटना रोकिन्छन् जस्तो लाग्दैन । किनकि फाँसीको कानुन भएका कतिपय देशमा पनि यस्ता घटना भइरहेका छन् । कतिपय देशमा गोली हानेर नै मारिन्छ तर समस्या उस्तै छन् । त्यसैले यस्ता घटना हुन नदिन मनोवैज्ञानिक हिसाबले सचेत हुनु जरुरी छ ।
के गर्ने त ?
यसको समाधानको बाटो भनेको सचेतना हो । केही गैरसरकारी संस्थाले यसमा काम पनि गरिरहेका छन् । तर, त्यसले मात्रै पुगेन । सरकार नै लाग्नु पर्यो । हरेक घर परिवारमा आफ्ना छोराछोरीलाई सचेत पार्नुप¥यो । नत्र यस्ता घटना भइरहन्छन् । छोरालाई केटी मान्छेसँग गर्ने व्यवहारका बारेमा घरमा नै बाबुआमाले सिकाउनु पर्छ ।
कञ्चनपुर घटनाको प्रभाव
कञ्चनपुर घटनापछि अहिले मानिसहरुलाई सचेत गराएको छ । लुकेर बसेका पीडितहरुपनि अहिले स्वतःस्फूर्त रुपमा बाहिर आएर समस्याका बारेमा प्रहरीकँहा उजुरी गर्न थालेका छन् । कञ्चनपुर घटनाका बारेमा मिडियामा पढेअनुसार सुरुको प्रमाणहरु नै नष्ट गरिएको सुनिएको छ । राज्यका निकायहरुबाट नै यस्तो भएको हो भने त्यो साह्रै गलत भयो । राज्यका निकायहरुलाई पनि यसबारेमा आगामी दिनमा सचेत गराउनुपर्दछ ।
अभिभावकलाई कारवाही
अब बलात्कारका घटनामा संलग्न पीडकका आमाबाबुलाई पनि सजायँ गर्नुपर्ने अवस्था आएको छ । आफ्नो छोराको बानी व्यहोरा कस्तो बनाउने भन्ने त सबैभन्दा पहिला अभिभावकले नै हो । अभिभावकले राम्रो व्यवहार नसिकाएकाले नै छोराले बदमासी गर्ने हो । त्यसैले अभिभावकलाई सचेत गराउनका लागि पनि कारवाहीको व्यवस्था गर्नु जरुरी देखियो । आफ्नो कारणले आफ्ना बाबुआमाले दुःख पाउने थाहा पाएपछि छोराहरुलाई पनि यस्ता गतिविधिबाट टाढा रहन र आफूलाई नै नियन्त्रणमा राख्न मद्यत पुग्न सक्छ ।
मैले मनोवैज्ञानिक परामर्श गर्ने गरेको छु । म कहाँ कस्ता बालिका पनि आएभने तिनीहरु ६, ७, ८ र ९ कक्षामा पढ्ने । घर आएर सधैं झोक्राएर बस्ने रहेछन् । बुझदै जाँदा उनीहरुमाथि दुर्व्यवहार हुँदो रहेछ । कतिपयलाई परिवारबाट । कतिपयलाई शिक्षकहरुबाट । केही दिन अघिपनि एक जना बृद्धले आफ्नै नातिनीलाई लामो समयदेखि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
प्रहरीकोमा उजुरी हाल्नु भन्दा म कहाँ आउने कतिपय अभिभावक मान्नु हुन्न । किन रे भने ‘‘मेरो घर बिग्रन्छ’’ भन्नुहुन्छ । समाजमा बेइज्जती हुन्छ रे । बरु उसैलाई जोगिने तरिका सिकाइदिनू भन्ने पनि छन् । त्यसो गर्दा अपराधीको मनोबल झन् बढिरहेको छ । यस्तो हुँदा बालिकालाई मनोवैज्ञानिक रुपमा असर पर्न सक्छ । मैले कस्तो मान्छे पनि देखेको छु भने उनीहरु पछि विवाह गर्न पनि तयार नहुने । विवाह भइहालेमा पनि सफल नहुने । पति पत्नीबीच शंका उपशंकाको अवस्था हुने । त्यसैले सत्य तथ्यमा जानुपर्छ । सत्य तथ्यमा नगइकन यस्तो समश्या समाधान हुँदैन । समाजमा यथार्थ कुरा नआएसम्म यस्ता समश्या समाधान हुँदैनन् ।
पूँजीवादले हो त ?
गृहमन्त्री तथा केही नेताहरुले पूँजीवादले गर्दा बलात्कारका घटना भएको भनेर हालै भनेको कुरा मैले पनि सुनें । तर, मलाई त्यस्तो लाग्दैन । कुनै व्यापार गर्नका लागि यस्ता घटना भइरहेका होइनन् । यो सबै विकृत मानसिकताको उपज हो । बृद्ध मान्छे संलग्न छ, आफ्नै काकाले बलात्कार गरेको छ । आफ्नै भाञ्जीलाई बलात्कार गरेको छ । परिवारमै चेलीहरु असुरक्षित हुने अवस्था आयो । नैतिकता नै हरायो । अलिकति जाने बुझेको मान्छेलाई नैतिकताको बन्धन हुन्छ । त्यसले गर्दा यस्ता घटना गर्नुअघि मान्छे डराउँछ । तर, अहिले नैतिकता नै हराएको जस्तो देखिएको छ ।
शिक्षा पनि भएन
यस्ता घटना हुनुमा शिक्षा नभएर पनि हो । हामी आफ्ना छोराछोरीलाई यौनका कुरा घरमा सिकाउँदैनौ । लजाउँछौं । विद्यालयमा पनि अहिले शिक्षा दिइँदैन । यौन सम्बन्धी पढाइ नै छैन । त्यसैले विद्यालय तहमा नै शिक्षाको व्यवस्था गर्नुपर्छ ।
एउटा नाम चलेको विद्यालयमा गएर बुझेको प्रजनन् स्वास्थ्य सम्बन्धी एउटा विषय राखिएको रहेछ । तर, त्यो पढाउने बेलामा शिक्षक पनि लजाउने, विद्यार्थीपनि हाँस्ने रे । त्यस्तो हुँदो रहेछ । त्यस्तो भएपछि बालबालिकाले कहाँ गएर सिक्ने ? दुर्व्यवहार भनेको के हो भनेर कसरी बुझ्ने ? एक जना स्कूलका प्रिन्सिपललाई यौन शिक्षाको बारेमा हामी विद्यार्थीहरुलाई पढाउँछौं भनेर मैले प्रस्ताव राखेको थिएँ । उनले त उल्टो झपार्न खोजे अब तपाईंहरु केटाकेटीलाई ‘सेक्स’ को बारेमा सिकाउने ? झन् भाँड्ने भने । यस्तो छ हाम्रो देशमा चलन ।
त्यही भएर बालबालिकाहरुलाई अप्ठेरो भइरहेको छ । उनीहरुले यसबारेमा सिक्नै पाइरहेका छैनन् । हामीले त विद्यालय तहदेखि नै यौन दुरुपयोग भनेको के हो ? चकलेट दिएर वा तर्साएर कसरी कसैले दुरुपयोग गर्न सक्छ भनेर बालबालिकालाई सचेत गराउनुपर्ने हो । त्यसको प्रतिवाद गर्न घरमा आमाबाबुले, विद्यालयमा शिक्षकले र समग्रमा राज्यले सिकाउनुपर्ने हो, आँट जगाइदिनुपर्ने हो । तर, भइरहेको छैन । कोही मान्छे दूर्व्यवहारमा प¥यो भने समाजलाई र समग्रमा राज्यलाई त्यसले नकारात्मक असर गरिरहेको हुन्छ ।
यसलाई रोक्न सचेतना
यसप्रकारका गतिविधिलाई रोक्नका लागि बृहद् रुपमा सचेतना कार्यक्रम चलाउनु जरुरी रहेको छ । राज्यका तर्फबाट नै यो काम गर्न सकिन्छ । बलात्कारका घटनापछि कुनै बालिकाको मृत्यु भयो भने बाबुआमाको मनमा के खेल्ला ? कति दुःख लाग्छ । त्यसैले घरघरमा आफ्ना छोराछोरीलाई बाबुआमाले पहिला नै यसप्रकारका कुराहरुमा सचेत गराउनु पर्छ ।
अहिले यस्ता घटना बढेका हुन् ?
अहिले मिडियामा जताततै बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण जस्ता गतिविधिका समाचार आइरहेको देख्न पाइन्छ । खासगरी साउन १० गते निर्मला पन्त बेपत्ता भएकोमा भोलिपल्ट उनको शव भेटिएको दिनदेखि अहिले सम्म देशैभरीबाट यस्ता गतिविधि मिडियामा आइरहेकोले बढेको हो कि जस्तो लागेको छ ।
मिडियामा आएको हिसाबले हेर्दा हो जस्तो पनि लाग्छ । तर, पहिला पनि यस्ता घटना नभएका होइनन् । थुप्रै घटना लुकाइएका थिए । तर, अहिले फटाफट सार्वजनिक भइरहेका छन् । फरक त्यही हो । हाम्रो राष्ट्रिय मनोचिकित्सा परामर्श प्रतिष्ठानमा पनि यसखालका थुप्रै मुद्दा परामर्शका लागि पहिला आएका छन् । तर, प्रहरीकहाँ जान उनीहरु विविध कारणले चाहेका थिएनन् । त्यसैले घटना पहिला पनि नभएका होइनन् , लुकाइएका हुन् । प्रहरीकोमा जाँदा बेइज्जती हुन्छ भनेर लुकाइने वा मेलमिलाप गराइने गरिन्थे । अहिले बढी सार्वजनिक भएका मात्र हुन् ।
मिडियाले प्रोत्साहन त गरेन ?
मिडियामा धेरै यस खालका घटना आउँदा कतै यस्ता गतिविधि बढ्नलाई प्रोत्साहन त मिलेको छैन भन्ने प्रश्न पनि उठेको छ । यसमा केही हदसम्म सत्यता पनि छ । कतिपय घटनामा पुरुषसँग रिस उठ्यो भने महिलाले आरोप लगाइदिने गरेको पनि मैले देखेको छु ।
त्यसैले कतिपय राम्रो ओहदामा रहेका पुरुष पात्रपनि समस्यामा परेको मैले देखेको छु । वास्तवमै सत्य कुरा छ भने त त्यो बाहिर ल्याउनैपर्छ । तर, कतिपय अवस्थामा भने नक्कली कुरापनि बाहिर आएको मैले आफैंले महसुस गरेको छु । जस्तो कि कुनै महिलाको कोहीसँग केही विषयमा कुरा मिलेन भने यौन दुर्व्यवहारको आरोप लगाएर पत्रकार सम्मेलन गरेको एउटा घटना मेरै अगाडि छ । उनले आरोप लगाएको व्यक्तिलाई मिडियाले एक वचन सोध्नुपथ्र्यो त्यसबारेमा लगाइएको आरोपको बारेमा अर्को पक्षलाई सोधेर मात्रै समाचार बनाइनुपथ्र्यो तर त्यसो भएको देखिएन ।
त्यसैले अहिले कतिपय पुरुषहरुलाई अप्ठेरो पनि परिरहेको छ । जसले जे भन्यो त्यसकै आधारमा होइन कि मिडियाले क्रसचेक गरेर मात्रै समाचार हाल्नुपर्छ । नत्र अनाहकमा पुरुषहरु समेत पीडित हुनुपर्ने अवस्था उत्पन्न हुन सक्छ । त्यसैले यसमा मिडिया सतर्क हुनुपर्छ । तर, सत्य कुरा ल्याउन छोड्नु हुन्न ।
पोर्न साइट बन्द समाधान हो ?
यो बाहिरी कुरा भयो । भित्रको कुरा भनेको परिवारको कुरा हो । परिवारबाट नै उचित शिक्षा दिनु पर्छ । नैतिक शिक्षा दिनुपर्छ । कुनै समस्या हो भने चिकित्सकको जानुपर्छ । पोर्न साइट बन्द गर्ने वा रक्सी चुरोट खायो भनेर फ्याक्ट्री बन्द गर्ने भन्ने कुरा समश्याको समाधान होइन । मान्छेलाई पशुको जस्तो व्यवहार गर्नबाट रोक्नका लागि सबैभन्दा पहिला परिवार, त्यसपछि विद्यालय, त्यसपछि समाज वा राज्यको भूमिका हुन्छ । त्यसका लागि आम रुपमा सबैलाई सजग पार्न अभियान चलाइनुपर्छ ।
‘डिप्रेसन’ बढेको छ
अहिले युवायुवतीहरुमा डिप्रेसनको मात्रा बढेको छ । त्यसै झोक्राएर बस्ने जस्ता समस्या देखिएका छन् । फेरि बाहिर ल्याउन पनि मान्दैनन् । कसैलाई मानसिक समश्या छ भने त्यो भन्न चाहदैनन् । जस्तो मधुमेह छ भने मलाई चिनी हालेको चिया नल्याउ है भन्छन् मान्छे ।
तर, मानसिक समस्या छ भने त्यो भन्दैनन् । मैले कलेजमा कतिपय युवायुवतीलाई समस्यामा देख्छु । उनीहरुलाई सोध्दा भन्दैनन् । ठीक छ भन्छन् । मैले त कतिपयका आमा बाबुको नम्बर लिएर तपाईको छोरा वा छोरीमा यस्तो समस्या छ है भन्दिने गरेको छु । फेरि अभिभावक नै पनि आफ्नो बच्चालाई त्यस्तो समस्या छ भनेर स्वीकार गर्दैनन् । छोराले जथाभावी बोल्ने वा बोलेको बोल्यै गर्ने समस्या हुन्छ तर अभिभावकले त्यसलाई छोरो ‘स्मार्ट’ भएको भनेर बुझ्ने गरेको हुन्छ । वास्तवमा छोराको त्यो व्यवहार पनि मानसिक समस्या हो । त्यसैले यस्ता समस्या लुकाउनु हुँदैन । बेलैमा उपचार गर्नुपर्छ । नत्र समाज र देशलाई नै समश्या पर्न सक्छ । अहिले देशमा भइरहेकाझैं समस्या बढ्दै जान्छन् । त्यसैले सबैपक्ष यसमा सचेत भएर लाग्नु जरुरी छ ।
(बाह्रखरीका लागि लेखनाथ अधिकारीसँगको कुराकानीमा आधारित)
तस्बिर फेसबुकबाट