काठमाडौं । सरकारको कार्यशैलीलाई लिएर प्रमुख प्रतिपक्षी मात्र होइन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद नै रूष्ट बनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने ने क पा का सांसद विरोध खतिवडाले सरकारको कार्यशैलीका कारण मुख देखाएरै हिँड्न लाज भएको बताए ।
‘माफिया’को माग अनुसार भन्सार शुल्क बढाएर नपुगेर चिनी आयात रोकेर मुल्य वृद्धि गरिएको भन्दै उनले आपत्ती समेत जनाए । उनले किसानलाई भुक्तानी दिने नाममा १५ प्रतिशतबाट बढाएर भन्सार कर ३० प्रतिशत पुर्याएको र त्यतिले पनि नपुगेर आयात रोकेर मुल्यवृद्धि गरिएको उनको भनाइ थियो ।
“प्रधानमन्त्री कार्यालयमा केही दिनअघि व्यापारीहरूले प्रति किलो ५४ रुपैयाँमा आयात भएको चिनी ६४ रुपैयाँभन्दा बढीमा बेच्दैनौँ भनेर तामा तुलसी छोएर भनेका थिए” उनले सदनमा भने, “अहिले ८५ रुपैयाँ छ, गर्वका साथ घोषणा गर्दै हिँडेका छन्–दसैँ तिहारमा १०० नघाउँछौँ ।”
उनले सरकार निरीह बनेको र चिनीको चास्नीमा कुन–कुन झिँगा लटपटिएका छन् भनेर समयक्रममा खुल्दै जानेसमेत बताए । निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका खतिवडाले निजगढ विमानस्थलको सन्दर्भको उठान समेत गरे । विमानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभएको, लागत कति लाग्छ पनि थाहा छैन । तर, रूख काट्न हतार भएको प्रसंगलाई ‘दौरा न सौराको खल्ती’को उपमा दिए ।
त्यतिमात्र होइन डीपीआर प्रतिवेदन र सम्झौताको अन्तिम टुंगो नलाग्दै रूख काटिए ‘हत्यारा’ हुने चेतावनीसमेत दिए । यस्तै, निर्मला हत्याकाण्डबारे अनुसन्धानमाथि अनुसन्धान र छानवीन समिति बनाइएको प्रति कटाक्ष गर्दै हरेक घटनामा आयोग बनाउँदै जाने हो भने राज्य संयन्त्रलाई तलब खुवाएर राख्नुको कुनै अर्थ नहुने उनले बताए ।
“हत्या, चोरी डकैती, बलात्कार सबैमा आयोग बनाउने अनि कहाँ को लुक्या छ भनेर खोज्दै हिँड्ने ?” उनको प्रश्न थियो । “हरेक घटनामा आयोग बनाउने हो भने राज्य–संयन्त्र विघटन गरौँ । मुख देखाएर हिँड्न लाज भइसक्यो,” उनको सुझाव थियो ।
पाँच वर्ष मुख थुन्ने ?
सत्तारूढ दलको सांसद हुँदाहुँदै पनि जनताको गुनासा राख्नुपर्ने गहन दायित्व आफूसँग रहेको उनले बताए । “सत्तारूढ दलका सांसदले बोल्नै हुँदैन भने पाँच वर्ष चुप लागेर बस्नुपर्यो,” उनले बाह्रखरीसँगको कुराकानीमा भने । उनले सरकारका अवयवहरूले राम्रोसँग चल्न र काम गर्न नसक्दा योजना प्रभावकारी ढंगले लागु हुन नसकेको बताए । त्यसबारे बोल्नु सांसदको ‘ड्युटी’ भएकाले सरकारको विरोध या असन्तुष्टिको रूपमामात्रै बुझ्नु नहुने उनको तर्क थियो ।“जनताका असन्तुष्टि र गुनासाहरू बोल्ने हाम्रो काम हो,” उनले भने ।
त्यस्तै, विभागीय मन्त्रीको कार्यशैलीका कारण पनि सरकालाई अप्ठ्यारो परेको उनको निष्कर्ष छ । उनले सरकारका संयन्त्रले सरकारलाई सहयोग गरिरहेको थाहा हुँदाहुँदै पनि ‘एक्सन’ लिन नसकेको बताए । यसबारेमा दलको बैठक र पार्टीको फोरममा कुरा उठ्ने उनको भनाई थियो ।
वृद्धभत्ता बढाउँछु भन्ने, भाडा बढाउने ?
प्रधानमन्त्रीको कार्यशैली र रवैयाका कारण सरकार र पार्टी दुवै ‘असफल’ भएको निष्कर्ष सोही पार्टीका अर्का सांसद मेटमणि चौधरीको छ । दाङका प्रतिनिधिसभा सदस्य रहेका चौधरीले प्रधानमन्त्री अत्यन्त साँघुरो घेरामा बस्न रुचाउने, गुटलाई प्राथमिकतामा राख्ने र आफ्ना मान्छेबाहेक अरूको विश्वास नगर्ने खालको मनोविज्ञानबाट गुज्रीरहेकोले सरकारको योजना बिफल बन्दै गएको उनको तर्क रहेको छ ।
“क्याबिनेटकै मन्त्रीहरू सरकारको योजना, उद्देश्य, नीति र कार्यक्रमप्रति गम्भीर (सिरियस) छैनन्,” उनले भने, “सरकार सबै चिजमा हात हाल्ने तर कतै सफल हुन नसक्ने देखिएको छ ।”
उनले चुनावअघि वृद्धभत्ता बढाउने र सामाजिक सुरक्षाको दायरा अझै फराकिलो बनाउने भनेर सरकारले प्रतीज्ञा गरेको तर सरकारमा पुगेपछि दसैँको मुखमा उल्टै भाडा बढाएर जनतामाथि विश्वासघात गरेको आरोपसमेत लगाए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सरकारको डेलिभरी (सेवा–प्रवाह)मा चुस्तता दिने लगायतका विषय समेत गफमा सीमित भएको दृष्टान्त दिँदै उनले प्रधानमन्त्रीले तत्काल कार्यशैली परिवर्तन नगरे जन–असन्तुष्टि अझै चुलिँदै जाने बताए ।
पार्टी र सरकार दुवैतिर ‘भद्रगोल’
प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकारको दैनिक कार्य सञ्चानमात्रै होइन, पार्टी सञ्चालनसमेत ‘भद्रगोल’ बन्न पुगेको चौधरी बताउँछन् । उनले सरकारले जनतालाई सेवा दिन नसकेर गुनासो बढिरहेका बेला पार्टीका कार्यकर्ताले सरकारलाई सल्लाह सुझावसमेत राख्न नपाएको बताए । उनले स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत मातहतका कमिटीको बैठक नबस्ने र नीतिगत निर्णय नै नहुने हुँदा भद्रगोल हुन पुगेको समेत उल्लेख गरे ।
त्यस्तै, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल घाना जानुपूर्व स्थायी कमिटीको बैठक बसेर प्रदेश र जिल्ला कमिटी एकीकरणका लागि नयाँ मापदण्ड र विधि बनाउने सहमति भएको तर प्रधानमन्त्री अमेरिका उड्नुअगावै प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याएकाले पार्टीभित्र मतभेद बढेको उनको भनाइ छ ।
“माधव नेपालसँग उहाँको एक किसिमको साझा समझदारी (मुचुअल अन्डरस्ट्यान्डिङ) भएको थियो । तर, उहाँले पार्टी चलायमान छ भन्ने देखाउन तत्कालै प्रदेश इन्चार्ज, सहइन्चार्ज तोक्ने र अध्यक्ष तथा सचिवको जिम्मेवारी दिने काम गर्नुभयो, यो सरासर जालसाँझी हो,” उनको भनाइ थियो ।
माधव नेपाल पक्षका केन्द्रीय सदस्यले भेला डाक्दै
चौधरी माधव नेपाल पक्षका केन्द्रीय सदस्यले चाँडै अनौपचारिक भेला डाक्न लागेको बताउँछन् । “प्रधानमन्त्री तथा पार्टी अध्यक्ष हाम्रो कुरा सुन्नुहुन्न । विश्वास पनि गर्नुहुन्न । हामीले छलफल त गर्नुप¥यो । फेरि पार्टी कमिटीको बैठकसमेत आयोजना हुँदैन । पार्टीलाई मुर्झाउन त दिनुभएन नि !,” उनको तर्क छ । उनले आजभोलि नै अनौपचारिक छलफल गरेर भेला तय गरिने जानकारीसमेत दिए ।