अक्षर काका
गएको बिहीबार बेलुकी ८ : ०९ मा सीमा बस्नेतले एउटा तस्बिर पठाइन्– तेजाबले कुरूप, विद्रूप तुल्याएको, हेर्दै आङ सिरिङ्ग हुने ।
झन्डै चार वर्षअघि वसन्तपुर, झोँछेमा आततायी तेजाब आक्रमणमा परेकी थिइन् सीमा । उनी अहिले पनि निधारमा एसिडले डामेको ‘आलो घाउ’ बोकेर हिँड्छिन् । त्योभन्दा ठूलो चोट हृदयमा लागेको छ । र त, मृत्युपर्यन्त तेजाबपीडितको सेवामा डट्ने कसम खाएकी छिन्, सीमाले ।
सोचेँ– संगीता मगरको फोटो हुनुपर्छ । जो झोँछे तेजाब प्रकरणकी मुख्य ‘निशाना’ थिइन् ।
“कसको फोटो ?,” भनेर सोधौँला भन्ठान्दै थिएँ, सीमाले अताल्लिँदै फोन गरिन्– “दाइ, रौतहटमा दिदीबहिनीमाथि एसिड प्रहार भएछ । घाइतेलाई कीर्तिपुर अस्पताल ल्याइएको छ, तुरुन्त आउनू न !”
जवाफ सुन्ने समय पनि थिएन, उनले फोन राखिहालिन् । शायद अस्पताल पुग्ने चटारो थियो उनलाई ।
० ० ०
कीर्तिपुर सामुदायिक अस्पतालको पहिलो तला । सेता गाउन भिरेका नर्सहरू प्यासेजमा ओहोरदोहोर गर्दै थिए ।
प्लास्टिक सर्जरी वार्डको छेउमा मलिन अनुहार लगाएका अभिभावक भेटिए । काखमा ६ महिने बालख च्यापेका ती अभिभावक तीन रातको अनिदोझैँ थिए । र, त्यत्तिकै उदास पनि ।
“दाइ, एसिड आक्रमणमा परेका बहिनीहरूलाई कहाँ राखेको छ, केही थाहा छ कि ?,” धक मानीमानी सोधेँ ।
“ए ! एसिड परेर जलेका बहिनीहरू !,” छोराको डाइपर निकाल्दै इसारा गरेर देखाए, “बहिनी भित्र हुनुहुन्छ । दिदीलाई माथि अप्रेसन थिएटरमा लगिसके होला ।”
बडो मिसाजिला रहेछन् ती दाइ ।
भित्र जाने आँट आएन । तेजाबले निलेको अनुहार र हातपाखुराको सम्भावित दृष्यले मस्तिष्क खज्मज्यायो ।
उनीहरूको पीडा सम्झँदै मुटु चिसो भयो । खुट्टा प्लास्टिक सर्जरी कक्षमा जान मानेका थिएनन् । लड्खडाउँदै गएँ ।
कक्षको मुखमा तीनचार जना नर्स हुँदा हुन् । सबै मोबाइलमा झुत खेलिइरहेका । अत्यावश्यक कुराको खोजी गरेझैँ तिनका आँखा मोबाइलको पर्दाबाट हट्नै मानेका थिएनन् ।
लहरै शैय्यामा बिरामीहरू छटपटाइरहेका थिए । पोलेका, ढडेका, आगलागीमा परेर गम्भीर घाइते भएका बिरामीले भरिभराउ थियो ओछ्यान ।
मोबाइल हातमा नलिएकी एउटी नर्स रहिछन्, डर मान्दै सोधेँ, “सिस्टर, रौतहटकी ‘एसिड भिक्टिम’ कहाँ छिन् ?”
“ऊ त्यहाँ के त देख्नुभएन ?,” बडो बेवास्तापूर्वक भनिन् तिनले ।
बिरामीको स्याहारसुसार गर्न बसेकी नर्स, बोली सुन्दै मन कटक्क खायो ।
जनरल वार्डको एक नम्बर शैय्या । घाँटीमा आलो घाउ । दायाँ हातमा ब्यान्डेज बाँधेकी सुस्मिता हो भनेर अनुमान गर्न गाह्रो परेन ।
तेजाबले खाएको धार्नीभन्दा गह्रुँगो हातलाई अर्को हातले भर दिँदै शैय्याको तन्ना मिलाउँदै थिइन् उनी ।
गर्धन, दायाँ हात तेजाबले डढाए पनि आत्मविश्वास उँचो थियो उनको ।
“नानी कस्तो छ अहिले ?,” विस्मित हुँदै सोधेँ ।
“म त ठीक छु, दिदीलाई पो कस्तो छ ? ल्याएदेखि जान दिएका छैनन् । भेट्न जान्छु नि त भन्दा तल्लो तलाको प्यासेन्ट माथि जान मिल्दैन भन्छन्,” उनले मसँग दुःखेसो पोखिन् ।
छेउमा रित्तो र्याक थियो । खाली दराज उनको ‘भोकको चिनारी’ थियो । शायद त्यसदिन उनले पानीसमेत मुखमा हालेकी थिइनन् । तैपनि तेजाबको जलनले उनलाई रत्तिभर गलाएको थिएन ।
हातमा स्लाइन अड्याउने पाइप घुसारेको, सकीनसकी बिस्तारा आफैँ मिलाउँदै थिइन् ।
मैले उनलाई हेरिरहन सकिनँ । हतारहतार दोस्रो तलामा उक्लिएँ ।
अप्रेसन थिएटर सामसून्न थियो । प्यासेजमा चर्को सन्नाटा । पारिपट्टी बरन्डाको कुनामा आमा परमशीला दास आँसुमा डुबेकी थिइन् । छेउमा काखेछोरो बेपरवाह निदाइरहेको थियो ।
दायाँ हातले बेलाबखत आँसु पुछ्थिन् र बायाँ हत्केलाले आँखा ओभाउने प्रयत्न गर्थिन् । तर, अविश्रान्त बगेको अश्रुधाराले उनको प्रयत्न हमेसा विफल हुन्थ्यो ।
“सम्झना र सुस्मिताको आमा हो तपाईं ?”
“अँ सानी आमा !”
‘सौतेनी आमा’ रहिछन् । तर, उनको पीडा ‘सौतेनी’ थिएन । न आँसुको रङ नै ‘सौतेनी’ थियो ।
उनलाई हेर्दा यस्तो लाग्थ्यो– रुँदारुँदै थाकेकी परमशीला उनकी साख्यै आमा हुन् ।
निदाइरहेको छोराको छेउमा प्याकिङ मःम अलपत्र थियो । सेलाएर हिउँतुल्य भइसकेको हुँदो हो ।
छोरीको पीरले भक्कानिएकी परमशीलालाई गाँस हाल्न मन थिएन ।
“भित्र छोरीहरूहरूलाई कति डाहा भइरहेको होला !,” बेलाबेला डाँको छाड्थिन् उनी ।
“तेजाब छ्याप्ने अपराधीलाई यस्तै डाहा होस्, आगामै परेर मरोस्,” उनको मनले दैवा पुकार्दो हो, शायद ।
त्यसको केही समयपछि बाबु जादोलाल दास पनि आइपुगे । घटना सोध्नेबित्तिकै आँखा रसाइहाल्ने जादुलाल अवाक् देखिए । बोल्नै सकेनन् ।
“घटनाको प्रत्यक्षदर्शी उही हो, उसैलाई सोध्नु न है ?,” कलेटी परेका ओठ उघारेर यत्ति भने उनले ।
परमशीला पनि बताउन सक्ने हालतमा कहाँ थिइन् र ! आँखाले मान्दै मानेका थिएनन् । श्रीमान्ले भनेपछि उनले नकार्न सकिनन् र बेलिबिस्तार लगाइन् ।
चलचित्रको दृष्यझैँ लाग्ने घटना सुनाउँदा उनको शरीरका रौँ उचालिन्थे । जीउ थरथराउँथ्यों । तथापि भनिन्–
तीजको अघिल्लो रात । दरखाने दिन भनौँ । खाना खाइवरी छोरीहरूलाई सुत्न पठाइन् ।
मध्यरात भएको हुँदा हो । दुवै छोरीको कंकालशवत सुनिन् । एकदमै आत्तिएको आवाज । नराम्रो सपना देखे कि क्या हो भन्ठान्दै थिइन् । सानीछोरी आएर अँगालो मारिन्, “आमा ! यहाँ पनि पोल्यो, त्यहाँ पनि पोल्यो !”
कोठाभरि धुवाँ नै धुवाँ छ, सर्पले टोक्यो भनौँ भने धुवा फैलनु नपर्ने ! उनको पनि हंसले ठाउँ छाड्यो ।
अर्की छोरीको अवस्था झन् नाजुक थियो । दराजको छेउमा टाउको समातेर चिच्च्याइरहेकी उनको अनुहार फुलिसकेको थियो । नीलो–कालो भइसकेको थियो ।
चपुरको पुल हाउसमा सुत्न गएका श्रीमान्लाई फोन गर्दै थिइन् । त्यसैबला छिमेकी रामबाबु पासवान आएर भने, “ए ! तेजाब हानेछ ! पानी हाल, हाल !”
उसैको सल्लाह मान्दै छरछिमेककाले सम्झना, सुस्मिताको आङमा पानी खन्याउन थाले ।
घरको साँध जोडिएका छिमेकी । सघाउपघाउ गर्ने । कहिलेकाहीँ त घर कुर्नसमेत त्यही छिमेकीलाई लगाउँथ्यो दास परिवार ।
चपुर अस्पताल पुर्याउनमात्रै होइन, काठमाडौँ ल्याउन समेत सघाए पासवानले ।
पासवानको सहृदयीता देखेर त्यसदिन मन हर्षले विभोर भएको थियो । भेटेको भए धन्यवादै भन्थेँ होला । तीन दिनदेखि कुरुवा बसेका पासवान म पुगेको दिन भने भेटिएनन् । थकाइ मेटाउन बाहिर पो गएका थिए कि !
कुराकानी सकेर फर्कंदा जादोलाल आँसुको भेलमा थिए ।
“सम्झनालाई भेट्न सकिएला त ?,” रोइरहेका उनलाई बिथोलेँ मैले ।
“यतै काट्या छ, उतै काट्या छ, तिघ्राको छाला सबै ताछिसकेको छ रे ! त्यसको आमा आउञ्जेल सास अल्झाइदिन पाएहुन्थ्यो !,” आँखाबाट बलेनीझैँ आँसु झारे उनले ।
सम्झनालाई भेट्न आँट आएन । गह्रौँ मन लिएर फर्किएँ ।
त्यसको भोलिपल्ट, फेरि मोबाइलमा घन्टी बज्यो ! फोन गर्ने उनै सीमा थिइन् । भनिन्, “दाइ अपराधी पक्रियो रे ! तेजाब हान्ने त त्यही रामबाबु पो रहेछ !”
उनले निकै आश्चर्य मान्दै सुनाएकी थिइन् ।
लगत्तै बाबुलाई फोन गरेँ । सम्पर्क हुन सकेन ।
केहीबेरपछि उनैले फोन गरे । “शंका लागेर रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ, अहिलेलाई यत्ति भनेँ,” फोन राखिहाले उनले ।
बहिनी सुस्मिताले त ‘रामबाबु ठूलो बा आएपछि बाँचिन्छ झैं लाग्यो’ भनेर भरोसा व्यक्त गरेकी थिइन् । आखिर रक्षक भनेकै भक्षक ! छाँगाबाट खसेझैँ भएँ ।
भोलिपल्ट चार बजे रौतहट प्रहरीले अभियुक्त सार्वजनिक गर्यो । नभन्दै अभियुक्त रामबाबु पासवान थिए ।
धामी काम गर्ने र केही वर्षपहिले छातीमा जमारा उमारेर धार्मिक कृत्यमा निर्लिप्त देखिएका पासवानले सम्झनालाई निकै सताएका रहेछन् । भदौ महिनामा मात्रै उनले २०० पटक भन्दा बढी कल गरेर ‘यातना’ नै दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पाप धुरीबाट कराउँछ भन्थे, रामबाबुको पापचाहिँ मोबाइलबाट कराएको थियो ।
सीमाले त्यहीदिन बेलुकीपख एउटा भिडियो पठाइन् । जहाँ सम्झनाको कण्ठ बसेको आवाज थियो । आँखाबाट पीप र रक्त धारा बगेकी उनले रामबाबुले आफूलाई ‘यौनको प्रस्ताव राखेको’ खुलासा गरेकी थिइन् । र, भक्कानिँदै भनेकी थिइन्– “रामबाबुले खाली बोलाउँथ्यो । नचाहिने प्रस्ताव राख्थ्यो । ‘सेक्स गरौँ’ भन्थ्यो । मैले मानिनँ, तेजाब छ्याप्यो !”
सोमबार उज्यालो नहुँदै सीमाले तीन पटक फोन गरेकी रहिछन् । थाहा पाइनँ ।
५ बजेतिर पुनः फोन गरिन् ।
“के भयो नानी ?,” आत्तिँदै सोधेँ ।
“बरबाद भयो दाइ, सम्झनालाई बचाउन सकिएन । हिजो राति ११ बजे मरिन्,” सुँक्कसुँक्क..त्यसपछि टुँट्टुट्... आवाज आयो ।
हतारहतार कीर्तिपुर अस्पताल पुगेँ । अस्पताल परिसरमा मानिसको भीडभाड थियो ।
कुद्दै सुस्मिताको वार्डमा पुगेँ । आमा धनमाया मोक्तान दास उनलाई भात खुवाउँदै थिइन् । म पुग्दा उनको हातमा अन्तिम गाँस बाँकी थियो ।
थाल पखालिसकेपछि सुम्मिताले चिसा आँखाले आमालाई सोधिन्, “आमा तपाईंले भात किन नखानुभ’को ?”
“एकछिनपछि खान्छु छोरी,” मुटुका धमनीतुल्य छोरीहरूलाई एसिड छ्यापेको खबर सुनेर मलेसियाबाट हान्निँदै आएकी उनको गला अवरुद्ध भइहाल्यो ।
कुद्दै वार्ड बाहिर आइन् र कुर्थाको बाहुलाले आँसु पुछिन् । सीमालाई कोट्याइन्, “उसलाई केही नभन्नु है, दिदीको कुरा केही सुनाएको छैन ।”
“सँगै खाइखेली हुर्किएको, कतिपल्ट पिठ्युँ भिजाइदिएको दिदीलाई अन्तिम अवस्थामा मुखसमेत हेर्न पाइनन् ! दिदीलाई बिदाइसमेत गर्न पाइनन्,” भित्रभित्रै भक्कानिएँ म ।
पीडादायी खबर सुनाउँदा सीमाले भनेकी थिइन्, “दाइ अस्पतालमा ५० हजार रुपैयाँ बुझाउन बाँकी छ ।”
सोही कुरा फेसबुकमा स्ट्याटस राखेँ । हाल अमेरिकामा रहेकी सरिता गुरूङले २० हजार उपलब्ध गराउने वाचा गरिन् । आफ्नै खाताबाट २० हजार झिकेर अस्पताल पुगेको थिएँ ।
प्रशासनमा भेटेँ बाबु जादोलाललाई । आँसुले भिजेको उनका हातमा पैसा थमाउन समेत मुस्किल भयो मलाई ।
संयोग नै मान्नुपर्छ सीमा उपचार छुट गरिपाउँ भन्दै अस्पताललाई निवेदन लेख्दै थिइन् । सघाएँ मैले । गरिबमैत्री नै रहेछ कीर्तिपुर अस्पताल, रु ७५ हजार २४० रुपैयाँ उपचार खर्च निवेदनकै भरमा मिनाहा गरिदियो ।
केही बेरमा सम्झनाको निस्प्राण शरीरलाई एम्बुलेन्समा राखेर शिक्षण अस्पताल महाराजगञ्ज लिएर हिँडे, जादोलाल र सीमाले । बन्द भयो क्यामेराका ‘फ्ल्यास लाइट र रेकर्डर ।
अगाडि सिटमा बसेकी सानीआमा परमशीलाको आँसुको आवाजबाहेक ऐया.. आत्था केही सुनिएन । बीचमा लमतन्न सुताइएकी सम्झनाले पीडा ब्रह्मलीन भइसकेको थियो ।
सोचेँ– टाढाको देवता भन्दा करेसाको भूत नै प्यारो । मर्दा र गाह्रो पर्दा सघाउला भनेर आश गरिएको र भर परिएको छिमेकीले नै उनलाई आर्यघाटको बाटो देखाइदियो ।
‘ठूलो बुबा’ भनेर सधैँ सम्मान गरेको मानिसले भरजीवन आँसुको कुवामा धकेलियो । यस्तो निर्दयी छिमेकी कसैको नहून् ।
एसिडको जलनसँग पराजित सम्झना केही बेरमा खरानी हुनेछिन् ।
हाम्रा आँखाअगाडिका ‘रामबाबु’जस्ता अपराधी कहिले खरानी होलान् ?
अलबिदा सम्झना !