काठमाडौं । चार महिनाअघि एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले खुबै आलोचित भइरहेको छ– ‘वामदेव प्रवृत्ति’ ! शासन–सत्ताबाट विमुख रहनै नरुचाउने र सत्तामा भएमात्रै आफू अस्तित्वमा रहेको आभास हुने प्रवृत्ति स्थायी कमिटी सदस्य बामदेव गौतममा हुर्किएको भन्दै पार्टीभित्र उनी आलोचित बनेका हुन् ।
गत निर्वाचनमा बर्दिया १ बाट कांग्रेस उमेदवार सञ्जय गौतमसँग ७४४ मतान्तरले पराजित भएका थिए उनी ।
धेरैले सोचेका थिए– जनताको बहुदलीय जनवादका ‘व्याख्याता’ बनेका वामदेव पाँच वर्षका लागि संसद् बाहिर रहनेछन् र ढुक्कले पार्टी काममा जुट्नेछन् । उनको अभिव्यक्ति पनि पार्टीले दिएको जिम्मेबारी पूरा गर्छु भन्नेमा केन्द्रित थियो ।
त्यसको ठीक विपरित एमाले र माओवादी केन्द्रका सूत्राधारसमेत दाबी गर्ने वामदेव गौतमले ‘सत्तामा आउन’ अनेक चालबाजी गरेका थिए ।
सत्तागमनका निम्ति बामदेवको कसरत
एमाले–माओवादी केन्द्र एकीकृत हुनुपूर्व, सरकार गठनसमेत नहुँदै दुवै माघ ७ गते तत्कालीन एकता संयोजन समितिले बामदेव गौतमको संयोजकत्वमा गठबन्धन नेतृत्वको सरकारले गर्ने कामका बारेमा सुझाव दिन सात सदस्यीय कार्यदल गठन गरेको थियो । गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’, भिम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ सदस्य थिए, कार्यदलमा ।
कार्यदलका संयोजक रहेका गौतमले ‘विकास प्राधिकरण’ गठन गर्ने अवधारण प्रस्ताव गरे । प्राधिकरण मातहत ठूला विकास आयोजना राख्ने र त्यसको नेतृत्व आफैँले गर्ने उनको प्रस्तावको बारेमा त्यतिबेलै आलोचना भएको थियो ।
“पाँच वर्ष सांसद जाने बाटो बन्द भएपछि विकास प्राधिकरणका नाममा सत्तामा पुग्ने उनको नियत थियो । सरकार गठन भएलगत्तै उनको योजनामा तुसारापात भयो,” ने क पाका एक केन्द्रीय सदस्यले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने ।
विकास प्राधिकरण गठन गरेर सत्तामा जाने प्रयास विफल भएपछि उनी चुप लाग्लान् भन्ने थियो तर, त्यस्तो भएन ।
उनी डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर संसद् भवन छिर्ने अभ्यासमा लागे । “आफूले भनेको मान्ने र चुनाव जित्न सहज हुने भएकाले डोल्पामा उहाँले निकै कसरत गर्नुभयो । तर, त्यहाँ पनि उहाँले सोचेजस्तो भएन,” ती केन्द्रीय सदस्यको दाबी छ ।
किन पछि हटे बुढा ?
भदौ ७ गतेदेखि ९ गतेसम्म जिल्ला घुम्ने र त्यहाँबाट फर्किएर आएपछि सभामुखसमक्ष राजीनामा बुझाउने तयारीमा थिए बुढा । त्यसो त उनले जिल्ला जानुपूर्व आठवटै स्थानीय तहका काठमाडौँमा उपलब्ध प्रतिनिधि बोलाएर राय–सुझाव मागे । छलफलसमेत गरे । ‘आफ्नै विवेकले निर्णय गर्नुहोस्’ भनेर मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्षले सुझाव दिएका थिए ।
तर निर्वाचन क्षेत्र घुमेर आएपछि उनको ‘मुड’ बदलियो । तत्कालै राजीनामा नदिने निष्कर्षमा पुगे । त्यसभन्दा पूर्व पनि उनले राजीनामा दिनुपर्ने भए ‘पार्टीले कारणसहित निर्णय गर्नुपर्ने’ अत्तो थापेका थिए । स्रोतका अनुसार बुढा स्वविवेकले राजीनामा गर्ने निष्कर्षबाट पटि हटेका होइनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर ‘किन राजीनामा गर्न लाग्नुभयो, कसैले दबाब दियो कि, आफ्नै स्वविवेकले हो ?’ भनेर सोधेका थिए ।
प्रधानमन्त्री ओलीले नै राजीनामा दिने सोच पुनर्विचार गर्न भन्दै बामदेवको डोल्पा जाने बाटो बन्द गरिदिएको ने क पाका केन्द्रीय सदस्य दाबी गर्छन् ।
प्रचण्डको उक्साहट
उल्लेख गरिहनुपर्ने कुरा होइन नवगठित ने क पाभित्र अनेक गुटउपगुट छन् । एमाले छँदै दुईधार प्रष्टै थियो । त्यसमा माओवादीसमेत मिसिएपछि तीन धार हुनेनै भयो । त्यसबाहेक माओवादी स्वयम् पनि अनेकधारमा विभक्त त छँदै थियो ।
अतः ने क पाभित्र आगामी महाधिवेशन (एकताको महाधिवेशन) लाई लिएर रस्साकस्सी शुरू भइसकेको छ । आगामी महाधिवेशनपछि मौजुदा दुई अध्यक्षात्मक व्यवस्था पनि रहनेछैन । एकल नेतृत्वमा गइहाल्छ पार्टी । त्यसैले ने क पाभित्र ‘स्पेस’ बनाउँदैछन् प्रचण्ड । माधव नेपाल गुटसँग प्रचण्डको समूहबन्दी सम्भव छैन । त्यसका लागि उपयुक्त पात्र हुन्– बामदेव । विचारधारा, कार्यशैली सबै हिसावले प्रचण्डसँग उनको निकटता सुहाउँछ पनि ।
त्यसैले प्रचण्डकै ‘ग्रिन सिग्नल’ पाएकैले उनी सांसद बन्न लालायित भएको स्रोत बताउँछ । शुरूमा त बामदेवलाई सांसद बनाउने कुरामा अध्यक्ष ओली सहमतजस्तै देखिएका थिए तर परिस्थिति धमिलिन थालेपछि बामदेवलाई सांसद बनाउन नहुने मत बलियो बन्दै गएको स्रोत बताउँछ ।
माधव नेपालको नजिर
ने क पाभित्र बामदेव सांसद नबनाइ नहुने पात्र होइनन् । संसद्मा २१४ जना ने क पाकै सांसद छन्, त्यसमा बामदेव छुट्दा ठूलै प्रलय आउँदैन । तर, ०६४ सालमा रौतहट र काठमाडौँ दुवै ठाउँबाट पराजित भएका पार्टीका तत्कालीन महासचिव माधव नेपालको नजिर देखाएर सांसद बन्ने बाटो पर्खिएका छन् उनी ।
०६४ सालको परिस्थिति अलग थियो भन्छन् ने क पाकै केन्द्रीय सदस्य । १५ जना स्थायी कमिटी सदस्यमध्ये १३ जना पराजित थिए । पार्टी ३३ सिटमा खुम्चिएको थियो । झलनाथ खनाल र विष्णु पौडेलमात्रै स्थायी कमिटी सदस्यले चुनाव जितेका थिए । कार्यवाहक महासचिवसमेत रहेका खनाल नेतृत्वमा गणना हुँदैनथे । विष्णु पौडेल तलै थिए ।
संसद्मा भूमिका खेल्ने मान्छे नभएकाले माधव नेपाल मनोनितको कोटाबाट संविधानसभा सदस्य बने । “त्यही नजिर पल्टाएर बामदेव सांसद बन्न खोज्नु हुँदैन,” ती केन्द्रीय सदस्य थप्छन् ।
डोल्पापछि कहाँ ?
धनबहादुर बुढाले राजीनामा नदिने अडान कसेपछि ने क पाका केही नेताले उनलाई रुकुमपूर्वको सांसद बनाउने चलखेलसमेत गरे । तर तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भई निर्वाचित भएकी कमला रोकाले कुनै हालतमा नछोड्ने, ‘पाँच वर्षका लागि निर्वाचित भएकी हुँ, बीचमा छाड्नु जनमतको अपमान हो’ भनेपछि त्यहाँ पनि प्रयास विफल भयो ।
अहिले बाँके–३ को चर्चा भइरहेको छ । साँध जोडिएको जिल्ला, दुई पाइला अगाडि बर्दियामा चुनाव हारेका बामदेवलाई त्यहाँ सजिलो नहुने भन्दै ने क पाभित्र विरोधको स्वर बलियो भएको छ । केहीदिन पहिले ने क पाका महासचिव विष्णु पौडेलले बाँके–३ का सांसद नन्दलाल रोका क्षेत्रीलाई बोलाएर राजीनामाको प्रस्ताव गरेका थिए ।
उनले कुनै उत्तर त दिएनन् तर राजीनामा दिने मनिस्थितिमा उनी पनि नदेखिएको स्रोत बताउँछ । त्यसबाहेक ने क पाकै कार्यकर्ता पनि उक्त प्रस्तावप्रति सहमत छैनन् । बाँकेका पूर्व एमालेका सचिवसमेत रहेका रत्न खत्रीले फेसबुकमा स्ट्याटस नै लेखेका छन् , “यो त हद भयो बामदेव गौतम कमरेडको छाला किन यसरी काढिँदैछ ? यति सस्तो होइन त्याग, समर्पण र निष्ठाको परिचय हो बामदेव जाबो सांसदको कुरा !”
त्यसलाई लम्याउँदै उनले थपेका छन्– “मैले कमरेड बामदेवको बारे गरेको पोस्टको केही साथीहरू अपव्याख्या गर्न पो गर्न पुग्नु भए छ । मेरो आज पनि स्पष्ट भनाई के हो भने बामदेव कमरेडको बारे जे गरिँदै छ त्यो उहाँको छाला काढ्ने काम नै हो । नेतालाई यति हलुका र पदलोभी बनाउने कुरा किमार्थ ठिक होइन । जहाँसम्म बाँके–३ मा उहाँ जाने हल्ला छ, मैले जानेको बुझेको र हिजो निर्वाचनमा खटेको कुरा ५ वर्षका लागि नन्दलाल रोकायलाई माननीय बनाउनका लागि हो । जो जनताको अभिमतले सिद्ध गरिसकेको छ । जनमतको सम्मान नगर्ने कुरा कम्युनिस्ट सिद्धान्तबाटच्युत हुने कुरा हो सबैलाई चेतना भया !”
‘पार्टीका फोरम खाली छ’
ने क पाका नेता–कार्यकताले बामदेवलाई पार्टी काममै क्रियाशील हुन र पाँचवर्षका लागि सांसद–सत्ताको लोभ, मोह त्यागेर जनताको काममा सक्रिय हुन सुझाव दिएका छन् । “एक ठाउँबाट चुनाव हारिसकेको व्यक्ति अन्यत्रबाट चुनाव उठ्न खोज्नु कम्युनिस्ट आचरण र नैतिकता विरोधी चिन्तन हो, यसले पार्टीलाईमात्रै होइन, बामदेवजस्तो लामो इतिहास बोकेको व्यक्तिलाई व्यक्तिगत रूपमा राम्रो गर्दैन,” ने क पाकै जिम्मेवार नेताको सुझाव छ ।
“पार्टीको एउटा अध्यक्ष प्रधानमन्त्री भएकाले अर्को अध्यक्षलाई सघाउने, पार्टी संगठन निर्माण र परिचालनमा उहाँको योगदान रहन्छ । उहाँले त्यहाँ भूमिका देखाउन सक्नुहुन्छ । सचिवालयका धेरै नेता प्रधानमन्त्री, उप्रधानमन्त्री, मन्त्री, सांसद् भएकाले पार्टीमा समय दिन भ्याउनुहुन्न । उहाँले प्रशस्त समय दिन सक्नुहुन्छ,” उनको भनाइ थियो ।