काठमाडौं । प्रदेश कार्यदलले जिल्ला नेतृत्व छनोट गर्दा ‘एकलौटी सिफारिस गरिएको’ भन्दै माधव नेपाल समूहले समानान्तर सिफारिसको तयारी गरेको छ । विशेष गरेर पाँच नम्बर प्रदेशका १२ जिल्लाका २४ पदमा एकजनासमेत माधव नेपाल पक्षधर नपरेको भन्दै ने क पाभित्रको विवाद सतहमा आएको हो ।
पूर्वएमालेबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व पोलिट्व्युरो सदस्य दलबहादुर राना तथा माओवादी केन्द्रबाट मणि थापा र गणेशमान पुन रहेको कार्यदलले साउनको अन्तिम साता जिल्ला र प्रदेश कमिटीको नाम सिफारिस गरेको थियो ।
अहिले नाम सिफारिसमा कत्लेआम गरिएको भन्दै ने क पाभित्र रडाको मच्चिएको हो ।
कत्लेआम गरियो !
दाङमा पूर्व एमालेका साविक जिल्ला अध्यक्ष टीकाराम खड्का छन् । कुनै जिम्मेवारीविहीन् खड्कालाई अध्यक्ष बनाउन ने कपाले तय गरेको मापदण्डले रोक्दैनथ्यो पनि । तर, पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेलले आफ्नै बहिनीज्वाइँ शिव आचार्यलाई जिल्ला अध्यक्ष सिफारिस गरेको भन्दै नेपाल पक्षले आपत्ति जनाएको हो ।
“उहाँ एकपटक पनि जिल्लाको पदाधिकारीसमेत हुनुभएको छैन, उहाँलाई नै अध्यक्ष बनाउनुपर्ने बाध्यता पोखरेललाई कसरी पर्यो, हामी अचम्मित भएका छौँ,” नेपाल निकट केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।
उनले बाँकेको पनि उदाहरण पस्किए । बाँकेमा पनि नेपाल पक्षलाई अन्याय भएको उनको ठहर छ । बाँके जिल्ला अध्यक्ष पूर्वमाओवादीको भागमा परेको छ, त्यसमा विवाद गर्ने कुरा भएन । तर, सचिव पदका लागि योग्यतम् उपाध्यक्ष नीरज गुरूङ, सचिव रत्न खत्री उपसचिव प्रमोद धिताल थिए । उनीहरू कसैलाई पनि योग्य नठहर्याइ उपाध्यक्षमा पराजित भएका गोपाल गिरीलाई सचिवमा सिफारिस गरिएको उनको भनाइ छ ।
“गिरीको योग्यता गुटभन्दा ज्यादा छैन । त्यहाँ पनि नेपाल पक्षलाई कत्लेआम गर्ने काम भएको छ,” उनी भन्छन् ।
अर्घाखाँचीमा पनि त्यस्तै समस्या चुलिएको छ । जिल्ला नेतृत्व सिफारिसमा विधि, प्रकृया सबै मिचिएको भन्दै पूर्व जिल्ला सचिव रामबहादुर चौहान काठमाडौँ आएका छन् ।
नेपालनिकट केन्द्रीय सदस्यले पनि कुनै हालतमा चौहान नै जिल्ला अध्यक्ष सिफारिस हुनुपर्ने बताउँछन् ।
“जिल्ला अध्यक्ष चेतनारायण आचार्य प्रदेश सांसद हुनुहुन्छ । उपाध्यक्ष जीवनारायण कोइराला पाणिनी गाउँपालिका अध्यक्षमा पराजित हुनुभयो, उहाँलाई पनि जिम्मेवारी दिइएको छैन । सहसचिव प्रेमनारायण गैरे उहाँहरू कसैसँग समन्वय नगरेर, नसोधेर एकैपटक सचिवमा पराजित पिताम्बर भुसाललाई ल्याइयो, यो पनि अन्यायको अर्को उदाहरण हो,” उनी थप्छन् ।
काठमाडौँमा पनि त्यस्तै समस्या छ । काठमाडौँमा पनि पदाधिकारी नै नरहेको र जिल्ला सदस्यमात्रै भएको रामशरण ढुंगानालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट भएकै आधारमा जिल्ला अध्यक्ष सिफारिस गरिएकोमा उनले आपत्ति प्रकट गरे ।
सिन्धुपाल्चोकमा झम्क नेपाल यसअघि जिल्ला अध्यक्ष थिए । साथै अध्यक्ष सिफारिस गर्न मापदण्डले पनि रोक्दैन । तर, एकलौटी गरिएको भन्दै बालकृष्ण देउजालगायतको समूह अहिले पार्टी नेतृत्वको घरदैलो गरिरहेको उनी बताउँछन् ।
“नेपाल समूहले प्रक्रियामुताविक नै योग्यता, वरिष्ठताको आधारमा सिफारिस गर्दा नमान्ने, अस्वीकार गर्ने, आफूले गर्दाचाहिँ स्थापित विधि मान्नुपर्दैन ?,” उनको आक्रोश थियो । रोल्पामा पनि त्यस्तै समस्या छ । रोल्पाको अध्यक्ष पूर्वमाओवादी केन्द्रको भागमा प¥यो । साविक एमालेको अध्यक्ष थिए– हरिप्रसाद घर्ती । घर्ती कुनै पदमा नरहेकाले सचिवमा बस्न राजी थिए ।
तर, घर्तीलाई पन्छाएर ईश्वरी जीएमलाई सचिव बनाइएको भन्दै नेपाल पक्षलाई कोपभाजनको सिकार बनाइएको उनको आरोप छ ।
विकल्प : समानान्तर सिफारिस
प्रदेश १ र २ ले सिफारिस नै गरेका छैनन् भने, प्रदेश ४ ले पूर्णरुपमा सिफारिस गरेको छैन । प्रदेश ३ मा नेपाल निकट अष्टलक्ष्मी शाक्य भएकाले उनले सन्तुलन मिलाएको नेपाल पक्ष बताउँछ । ६ मा नेपाल पक्षकै युवराज ज्ञवाली र ७ मा भीम रावल भएकाले त्यहाँ पनि त्यति धेरै विवाद छैन ।
तर ५ नम्बर प्रदेशमा नेपाल पक्षलाई ‘कत्लेआम’ नै गरिएको ठहर गर्दै नेपाल पक्षले शनिबार गुटको अनौपचारिक छलफल गरेको थियो । छलफलमा पाँच नम्बर प्रदेशमा पोखरेलले एकलौटी गरेको र नेपाल पार्टी नेतृत्वमा रहेका बेलाको रिस फेरेको टिप्पणी भएको थियो ।
“नेपाल महासचिव रहनुभएका बेला उहाँ राप्ती अञ्चल इन्चार्ज हुनुहुन्थ्यो, त्यतिबेला उहाँले तल धेरै चलाउन र गुट सिर्जना गर्न पाउनुभएको थिएन, त्यसैको प्रतिशोध साँधिएको हो,” नेपाल पक्षको ठहर छ ।
उनले थपे, “कुनैकुनै जिल्लामा भएको भए अन्याय भयो भन्न हुन्थ्यो । समग्र प्रदेशको नेतृत्वमध्ये एक ठाउँमा पनि नेपाल पक्ष नअटाउनु, कत्लेआम नै गरिएको हो ।
त्यसैले समानान्तर सिफारिस गर्ने तहमा आफूहरू पुगेको उनको भनाइ छ । “जिल्लामा लामो समयदेखि क्रियाशील पदविहीन कार्यकर्ताको संरक्षण गर्नु नेतृत्वको दायित्व हो । अतः जहाँ–जहाँ अन्याय भएको छ, त्यहाँ समानान्तर सिफारिस हुन्छ,” उनले ठोकुवा गरे ।
फाइल तस्बिर