site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला हत्याको नखुलेको पाटो, विवादमा प्रहरी अनुसन्धान
SkywellSkywell

काठमाडौं । मंगलबारदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्वयं व्यापारीहरुले स्वतस्फूर्त रुपमा बजार–व्यावसाय बन्द गरेका छन् । मंगलबारको प्रदर्शनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि रहेका स्थानीयमाथि आश्रुग्यास प्रहार गर्यो ।

प्रहरीले निर्मला पन्तको हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा उल्टै प्रहरीमाथि नै नागरिकले किन आशंका गरे त ?

प्रहरीले सार्वजनिक गरेका अभियुक्त को हुन् ?
कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले निर्मला हत्यामा संग्लन भन्दै अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको छ । दिलिप आफ्नै भिनाजुको हत्यामा जेल सजाय काटेर ४ महिनाअघि मात्रै राष्ट्रपतिबाट कैद मिनाह पाएका व्यक्ति हुन् । मानसिक रुपमा उनको स्वास्थ्य पूर्णरुपमा ठिक नभएको बताइन्छ ।

KFC Island Ad
NIC Asia

पारिवारिक रुपमा दिलिप गरिब परिवारका हुन् । उनी भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । निर्मलाका बुबा यज्ञराज पन्तका अनुसार दिलिप घटना घटेको दिन र राति घरमै थिए । त्यस्तोमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएका अभियुक्त नै वास्तविक हत्यारा हुन् भन्नेमा आशंका देखिन्छ । 

दिलिपको त्यो सर्ट 
४ सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक भदौ ४ गते निर्मलाको घरमा पुग्यो । निर्मलाका बुबा यज्ञराजका अनुसार प्रहरीले घटनास्थलमा (निर्मला)को हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेट्टियो भन्दै प्रहरी चिच्च्याए, अनि सर्टको खल्तीको कपडा र कण्डम बरामद गरियो ।’’

Royal Enfield Island Ad

रहस्यको विषय के छ भने साउन १० गतेदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सिआइबीको टोली पटक–पटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री कसरी त्यहाँ भेटियो अहिले आएर ? प्रहरीले बलात्कारी भनिएका विष्टको नै त्यो सर्टको कपडा भएको निष्कर्ष प्रहरीको छ । 

दिलिपको पारिवारीक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो । 

दिलिप हत्यारा होइन, एसपीले अपराधी लुकाए : निर्मलाका बुबा

निर्मला पन्तका बुबा यज्ञराज प्रहरीले दिलिपलाई देखाएर वास्तविक हत्याराई बचाउन खोजेको आरोप लगाउँछन् । उनले भने, ‘‘कञ्चनपुरका एसपी डिल्लीराज विष्टले मलाई थर्काइरहेका छन्, जबरजस्ती दिलिपको नाममा किटानी जाहेरी गर्न दबाब दिइरहेका छन् ।’’ यसअघि पनि कञ्चनपुरका एसपी विष्टले आफूलाई निर्मलाको शव नबुझे महेन्द्रनगरमा कर्फ्र्यु लगाएर गोली हान्ने चेतावनी दिएको उनले बताए । त्यसो त एसपी पन्तले यसअघि उखुबारीमा बलात्कार नभएको तर आसपासमा भएको हुनसक्ने बताउँदै आएका थिए । “

घटनास्थलको प्रकृति हेर्दा उखुबारीमा बलात्कार भएको देखिन्न । किनभने घटना भएको भनिएको स्थानमा प्रत्येक १ मिनेटमा कोही न कोही हिँडिरहेकै हुन्छ । न त त्यो घना जंगल भएको क्षेत्र हो न त भौगोलिक विकटताको क्षेत्र नै,” एसपीले अनौपचारिक कुराकानीमा भनेका थिए । 

यस्तो थियो घटनाको पृष्ठभूमि ?
साउन १० गते बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीय निर्मला पन्त भीमदत्त नगरपालिका–१८ स्थित साथी रोश्नी बमको घर गइन् । कक्षा ९ मा सरस्वती माविमा अध्ययनरत निर्मला रोश्नीको घरमा विज्ञान विषयको पुस्तिका ल्याउन गएकी थिइन् । साँझसम्म पनि नफर्किएपछि आमा दुर्गाले निर्मलाको सोधखोज गर्न थालिन् ।

निर्मला नआएपछि आमा रोश्नीकै घरमा पुगिन् । दिउँसो २ बजे नै निर्मला अम्बा लिएर घर गइसकेको जानकारी रोश्नी र उनकी दिदी अनिताले दिए । तर, आमाको मन मानेन र  छोरीको खोजी गर्न थालिन् । एकछिनपछि फेरि दुर्गा रोश्नीकै घरमा पुगिन् र भित्र हेर्न अनुमति मागिन् । तर रोश्नीकी दिदी अनिताले घरभित्र हेर्न दिइनन्, बरु ‘तिम्री छोरी पोइल गएकी होली’ भनेर उडाइन् । निर्मलाका आफन्तजनले वडा प्रहरी कार्यालय र प्रहरी बिट सालघारीमा खबर गरे ।

निर्मलाकी आमा दुर्गा भन्छिन्, ‘‘प्रहरीले फोटो लिएर भोलि बिहान आउनु भनेर टार्यो ।’’ रातको १२–१ बजेसम्म निर्मलाकी आमा र आफन्त प्रहरी बिट सालघारीमै बसिरहे । बाहिर पानी दर्किरहेको थियो । साउन १० गते प्रहरीले बमको घरमा कुनै तलासी गरेन । साउन ११ गते अर्थात् अर्को दिन बिहान फेरि निर्मलाकी आमासहितका गाउँले रोश्नीको घरमा पुगे । गाउँलेहरु जम्मा भएकै बेला एकजनाले खोला किनारमा साइकल भेट्टियो भन्ने खबर सुनाए । निर्मलाकी आमा दुर्गा भन्छिन्, “साइकल भेटियो भन्नेबित्तिकै रोश्नीकी दिदी बबिता भन्ने अनिताले साइकल भेटिए लाश पनि त्यतै होला भनिन् ।’’

दुर्गाको प्रश्न छ– साइकल भेटियो भन्दा लाश त्यतै होला भनेर अनिताले कसरी दाबी गर्न सकिन् ? नागरिकको आशंका पनि यसैमा छ । नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो । निर्मलाले साथीको घरबाट लगेको अम्बा, विज्ञान विषयको पुस्तिका र चप्पल पनि घटनास्थलमै भेटियो । पीडितका आफन्तले शव उठाए । तर, कतिपयको भनाइमा– निर्मलाको शव पाइएको स्थानमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट नआएको आक्रोशमा निर्मलाको शव केहीबेर नगरपालिकाको गेटमा राखिएको थियो । प्रहरीले अहिले घटनालाई अन्तै मोडेको स्थानीयवासी आरोप लगाउँछन् ।

जानकारहरुका अनुसार बम परिवारको प्रहरीमा उच्च अधिकारीहरुसँग पारिवारिक सम्बन्ध छ । त्यसैले पनि प्रहरीले बबितालाई कहिल्यै शंकाको घेरामा राखेनन् । निर्मलाका बुबा भन्छन्, ‘‘अहिले प्रहरीले बम परिवारमाथि किटानी दिन भनिरहेको छ तर घटनाका सबै प्रमाण मेटाइसकिएका छन्, घटना अन्तै मोडिएको छ, अब जाहेरीले के गर्नू ।’’

गृहमन्त्रीलाई झुटो सूचना

सांसदहरुले निर्मला हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री रामबहादुर थापाले जवाफमा घटनामा संलग्न दुईजना पक्राउ परेको बताएका थिए । कञ्चनपुर प्रहरीका एसपी विष्टले कैलालीको मोहन्याल गाउँपालिका–५ का २२ वर्षका जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको जानकारी गृह मन्त्रालयमा दिएका थिए । त्यसैका आधारमा गृहमन्त्रीले संसदमा सांसदहरुलाई जवाफ दिएका थिए । 

पक्राउ परेका दुवैजना पछि रिहा भए । पक्राउ परेकामध्ये एकजना एचआईभी संक्रमित रहेको बताइएको छ । अर्का एकजना मानसिक सन्तुलन ठिक नभएका युवा हुन् । यस्तो अवस्थामा कञ्चनपुर प्रहरीले गृहमन्त्रीलाई झुटो सूचना दिनुका पछाडिको नियत आशंकाको घेरामा रहेको स्थानीय बताउँछन् । पोष्टमर्टम रिपोर्टमा निर्मलाको हत्या घाँटी थिचेर भएको पाइएको छ ।

नागरिक समाज आन्दोलित

निर्मला पन्तको घटनाको न्यायीक छानबिनको माग गर्दै कञ्चनपुरमा गत साउन ११ गतेदेखि नै आन्दोलन चर्कीएको थियो । तर पछिल्लो समय आन्दोलन व्यापक बन्दै गएको छ । प्रहरीले हत्यारा भन्दै अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि व्यापारीहरुले प्रहरीले वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै आफैं व्यावसाय बन्द गरे । स्थानीयहरु गाउँ–गाउँबाट सदरमुकाम पुग्न थालेका छन् ।

२ दिनदेखि व्यापारीहरुले बजार, व्यवसाय बन्द गरेर आन्दोलनमा साथ दिइरहेका छन् । नागरिक समाज कञ्चनपुरले पनि विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । नागरिक समाजका अध्यक्ष भवराज रेग्मी घटनाको न्यायीक छानबिन गर्न दबाब दिन आन्दोलन घोषणा गरिएको बताउँछन् । नागरिक समाजले धर्ना जारी राखेको छ भने दलहरुलाई दबाब दिने, ध्यानाकर्षण गराउने लगायतका कार्यक्रम पहिलो चरणमा अघि सारेको छ । 

गृहमन्त्रीका सल्लाहकारको हलुका टिप्पणी
गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नेकपाका नेता सूर्य सुवेदीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनलाई इंगित गर्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘‘पश्चिम नेपालका एकथरी मान्छेहरु बलात्कारी रिहा गर भन्ने नारा लगाइरहेका छन् त ! अचम्म ।” गृहमन्त्रीका राजनीतिक सल्लाहकारले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुले एउटा कुरा प्रष्ट पारेको छ कि नागरिकले जतिसुकै हत्याबारे आशंका, आँकलन र आरोप लगाउन्, सरकार प्रहरीको अनुसन्धानभन्दा दायाँबायाँ छैन र नागरिकले मागिरहेको निष्पक्ष छानबिनको पक्षमा छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro