site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रजातन्त्रभन्दा पुरानो पाउरोटी पसलबाट त्रिभुवनलाई विपीको सन्देश
SkywellSkywell

कृष्ण पाउरोटी भण्डारका अध्यक्ष तथा साहित्यकार घनश्याम राजकर्णिकार (७७)का पिताजी कृष्णबहादुर राजकर्णिकारको चित्त दुख्यो, वीर शमशेरका नाती इन्दु शमशेरदेखि । आफूले मनैदेखि सेवा गर्दैआएका इन्दुले धोका दिएका थिए उनलाई । यसैले उनी इन्दु शमशेरको हलुवाईको काम छोडेर हिँडे । 

कृष्णबहादुरका बाजेले वीर शमशेरको समयमा दरबारमा हलुवाई रोटी पुर्याउने ठेक्का पाएका थिए । 

वीर शमशेरका नाती, इन्दु शमशेर ईलाममा बडा हाकिम थिए । घनश्यामका पिताजी कृष्णबहादुर राजकर्णिकार पनि ईलामै गए, इन्दु शमशेरको सेवा गर्दै । तर चित्त दुखेपछि उनी काम छोडेर कलकत्तातिर लागे ।

KFC Island Ad
NIC Asia

कृष्णबहादुरलाई लाग्यो, राणाको सेवा गर्नुभन्दा आफैं केही गर्छु । अनि इलम सिक्नै उनी कलकत्ता हान्निए । कृष्णबहादुर केही समय कलकत्तामा रमाए । विशाल सहर, रमाउनु स्वाभाविक थियो । केही दिन बसे । तर उनले कुनै काम पाएनन् । 

दिन बित्दै गयो । भएको पैसा सकिँदै गयो । त्यहाँका मानिसले सडकमा बसेर मागेको देखे घनश्यामका पिताजीले । उनलाई लाग्यो यसरी नै बस्ने हो भने माग्ने होइन्छ । त्यसैले घर फर्किने निर्णय गरे । 

Royal Enfield Island Ad

धार्मिक स्वभावका उनले एकपटक कलकत्ताको प्रसिद्ध काली मन्दिरको दर्शन गर्ने विचार गरे । मन्दिरमा एकदम भीड थियो । मानिसहरुको त्यो अथाह भीडमा एउटी सानी बालिका चेपिएको कृष्णबहादुरले देखे । त्यो बालिकातिर कसैको ध्यान गएको थिएन । ती बालिकाका पिताजी केही परै थिए । उनी किमकर्तव्यविमूढ थिए । बच्ची ‘अब्बा अब्बा’ भनेर कराउँदै थिइन् ।

कृष्णबहादुरले भीड छिचोल्दै ती सानी केटीलाई भीडबाट बचाए । र बच्चीका पिताजीलाई जिम्मा लगाए । अत्तालिएका बच्चीका पिताजीले कृष्णबहादुरलाई ‘बहुत बहुत सुक्रिया’ भन्दै धन्यवाद दिए । पछि दुबैबीच कुराकानी भयो । कृष्णबहादुरले आफू कलकत्ता काम सिक्न नेपालबाट आएको बताए । 

बिघ्नहर्ता कृष्णबहादुरलाई बच्चीका पिताजीले आफ्नो घरमा लगे । तिनले गाँस र बास त दिए नै, साथै सीप पनि सिकाउन मद्दत पनि गरे । तिनै बच्चीका पिताजीले कृष्णबहादुरलाई अंग्रेजी रोटी (पाउरोटी) बनाउन सिकाए । 

गएको आइतबार यस पंक्तिकारसित आफ्नो निवासमै कुराकानी गर्दै व्यवसायी तथा नियात्राकार घनश्याम राजकर्णिकारले भने, ‘ती बच्चीका पिताजी त्यसबेला कलकत्ताको नाम चलेको ‘फर्पोज बेकरी’मा काम गर्थे । उनी त्यहाँ पाउरोटी बनाउँदा रहेछन् । त्यसैले उनले मेरा पिताजीलाई पनि केही दिन कारखानामा लगेर पाउरोटी बनाउन सिकाएछन् । दस पन्ध्र दिनमा पाउरोटी बनाउन सिकेपछि पिताजी काठमाडौं फर्किनु भयो ।’ 

घनश्याम राजकर्णिकारका पिताजी कृष्णबहादुर २००४ सालमा काठमाडौं फर्किए । एक वर्षपछि विक्रम सम्वत २००५ सालमा उनले आफ्नै घर, कमलपोखरीमा पाउरोटी बनाउन शुरु गरे, एउटा भट्टी बनाएर । साथै एउटा पसल पनि खोले । 
घनश्याम पिताजीलाई स्मरण गर्दै भन्छन्, ‘मेरो पिताजीलाई प्राप्त त्यो सीप, सायद कलकत्ताको काली माताको प्रसाद नै पो थियो की !’ 

यसरी नेपालमा प्रजातन्त्र आउनु पूर्व कृष्ण पाउरोटीको उदय भयो । जहाँ प्रजातन्त्रवादीहरुको जमघट लाग्थ्यो ।

०००

घनश्याम राजकर्णिकारको पूर्खा पाटनमा बसोबास गर्दथ्यो । तिनका हजुरबुबाको पसल थापाथलीमा थियो । पसल चलाउनुका अतिरिक्त तिनको काम रोटी र मिठाई दरबारमा पुर्याउनु पनि थियो । वीर शमशेर त्यसबेला सानै थिए । मूलमा परेका कारण उनलाई उनको परिवारले थापाथली दरबारमा बेग्लै राखेका थिए । त्यसबेला घनश्यामका हजुरबुबाको पसलमा वीर शमशेर आइरहन्थे, खाइरहन्थे । चञ्चले स्वभावका वीर त्यहाँ जेरी स्वारी, मिठाई खान्थे । पैसा दिन्थेनन् । 

\"\"

वीर शमशेरसँग उनको हजुरबुबाको दोस्ताना सम्वन्ध थियो । एकदिन केही आठपहरियाहरु आएर उनका हजुरबुबालाई समातेर लगेछन्, दरबारमा । र उभ्याए, वीर शमशेरका अगाडि । वीर शमशेरले घनश्यामका हजु्रबुबालाई भनेछन्, ‘हेर साथी, म श्री ३ महाराज भएँ नि । अब तिमिले पनि मलाई मान्नु पर्छ । भन तिमिलाई के चाहियो ?’ 

घनश्यामका हजुरबुबाले भनेछन्, ‘मलाई केही चाहिन्न । यी आठपहरियाको घेराबाट छुटकारा पाउँ महाराज’ ।

त्यसपछि वीर शमशेरले भनेछन् ‘तिमिले छुटकारा पाउँदैनौ । तिमिले मेरो दरबारका लागि हलुवाई रोटी बनाउने काम ठेक्कामा लिनुपर्छ ।’
यसरी वीर शमशेरको सेवामा घनश्यामका पूर्खा लागे । वीर शमशेरले पनि आफ्ना छोराहरुलाई घनश्यामका हजुरबुबाका सन्तानहरुलाई हाम्रा सन्तानले पाल्नु पर्छ भनेर अह्राए । त्यसैले पनि वीर शमशेरका सन्तानको सेवामा घनश्यामका पिताजी पनि लागे । 

वीर शमशेरको निधनपछि उनका भित्रिनी पट्टीका छोरा तेज शमशेरको हलुवाई सेवामा उनका हजुरबुबा खटिए । तेज शमशेर लालदरबारमा बस्थे । त्यसैले तीनधारा पाठशाला छेउमा पसल राख्ने ठाउँ दिइयो उनलाई । पछि तेज शमशेरले नै कमलपोखरीमा घनश्यामका हजुरबुबालाई बस्नलाई जमिन दिए । 

घनश्याम हाँस्दै भन्छन्, ‘त्यसबेला यो ठाउँलाई कुत्ताघर भनिन्थ्यो । तेज शमशेर कुकुरका शौकिन थिए । उनले धेरै कुकुर पालेका थिए । यसै ठाउँमा कुकुर पालिन्थ्यो । त्यसैले यसको नाम नै कुत्ताघर भएको थियो । पछि मात्रै यसको नाम कमलपोखरी रहन गयो ।’
त्यसबेला राणाजीहरुमा आफ्नो हलुवाई आफ्नै घरको ढोका अगाडि राख्ने चलन थियो । तिनका पसलमा जेरी, स्वारी, लाखामरी, बरफी जस्ता मिठाई बनाइन्थ्यो । र दरबारका लागि रोटी र मिठाई बनाउने ठेक्का पनि कतिपयले पाउँथे ।

आफ्नो सीप र जानेको काम गर्दै उनका पूर्वज पाटनबाट कमलपोखरी आईपुगे । कर्ममा विश्वास गर्ने उनीहरु कर्ममै दत्तचित्त भई लागे । 

यसै लहरोमा तेज शमशेरका छोरा इन्दु शमशेरसँग घनश्यामका पिताजी कृष्णबहादुरको संगत भयो । कृष्णबहादुरले पनि हलुवाई रोटीकै ठेक्का पाएका थिए । यसरी काम पुस्तैनी रुपमा सर्दैसर्दै आयो । 

उनीहरु आफूलाई जिम्मा दिइएको काम गर्दै आइरहेका थिए । त्यहीबेला जुद्ध शमशेरले ‘सी क्लास’का राणाहरुलाई काठमाडौं बाहिर धपाउन थाले । विभिन्न बहानामा राणाहरुलाई बाहिर पठाउने क्रममा इन्दु शमशेर पनि इलामको बडाहाकिम बनाइए । २००१ साल तिर इन्दु शमशेर बडाहाकिम भएर इलाम पुगे । 

इन्दु शमशेरसँगै उनका कामदार पनि सँगै इलाम गए । यतिबेला घनश्याम दुई तीन वर्षका थिए । उनका पिताजी इन्दु शमशेरसितै इलाम पुगे । उनको परिवार कमलपोखरीमै बस्यो । 

काठमाडौंबाट इलाम जाँदा इन्दु शमशेरसित कैयन कन्तुर (बाकस) हिरा जवाहरात थियो । त्यो सँगै लगेका थिए । तर बाटोबाटै हिरा जवाहरात राखिएको एउटा कन्तुर हरायो । 

इलाम पुगेर निक्कै खोजी भयो कन्तुरको । तर पाइएन । पछि एक जनाले कन्तुर गोठमा हुनसक्छ भनेर कृष्णबहादुरलाई सुनाए । कृष्णबहादुरले गोठमा राखिएको सबै पराल हटाएर हेरे । कन्तुर पराल भित्रबाट फेला पर्यो । उनले त्यो खवर दिने मानिसलाई खोजे । ती भेटिएनन् । 

जवाहरातको कन्तुर घनश्यामका पिताजीले इन्दु शमशेरलाई बुझाए । इन्दु शमशेरले खुशी भएर कृष्णबहादुरलाई बारा पर्साको पचास बिघा जग्गा बक्सीस दिने घोषणा गरे । कृष्णबहादुर दंग परे । अब शाखा सन्तानले सुख पाउने भए भनेर उनी निश्चिन्त भए ।

तर दुई वर्षसम्म पनि बक्सीस पाएको त्यो जग्गा पास भएन । पछि इन्दु शमशेरका छोरी ज्वाईँ तपेन्द्रबहादुर शाहले त्यो जग्गा आफ्नो नाममा गरेछन् । उनले धेरै अगाडिदेखि त्यो जग्गामा आँखा गाडेका रहेछन् । 

घनश्याम भन्छन्, ‘यही धोकाका कारण पिताजीको चित्त दुख्यो । अन्तै कतै जग्गा दिइएको भएपनि पिताजीको आँशु पुछिन्थ्यो होला । तर त्यो पनि मिलेन । त्यसैले उहाँ राणाको सेवा गर्दिन भन्दै कलकत्ता लाग्नु भयो । जसले कृष्ण पाउरोटीको जग बनायो ।’ 

०००

पाउरोटी बनाउन सजिलो थिएन । यसलाई फुलाउने काम निक्कै गाह्रो थियो । त्यसमाथि आँटालाई लेसिलो र रबर जस्तै तन्किने गरि मुछ्नु पर्दथ्यो । त्यसपछि मात्रै भट्टीमा पकाउनका लागि हालिन्थ्यो । यसैले सुरुमै केही मिस्त्री घनश्यामका पिताजीले कलकत्ताबाट झिकाएका थिए । 

पाउरोटी फुलाउनका लागि अहिले जस्तो ‘इस्ट’को प्रयोग हुन्थेन । केही जडीबुटीका पात र जराहरुलाई सफा गरेर त्यसलाई पकाएर झोल बनाइन्थ्यो । त्यो झोल पाउरोटी फुलाउनैका लागि प्रयोग हुन्थ्यो ।

घनश्यामले एउटा प्रसंग हाँस्तै सुनाए, ‘जडीबुटीको त्यो मिश्रणको झोलबाट ग्यास उत्पन्न हुन्थ्यो । हेर्दा त्यो जाँड जस्तै देखिन्थ्यो । सुरुसुरुमा त ‘पाउरोटीमा जाँड पो हाल्दो रहेछ’ भन्दै कतिपयले बदनाम गर्ने प्रयास पनि गरे । बाहुनले खान हुँदैनसम्मको हल्ला पिटाए । पछि टोलका प्रवुद्ध र विद्वान मानिसहरुका माझ त्यो झोल बनाउने तरिका बताएपछि यो हल्ला शान्त भयो । त्यसपछि बाहिर लेखियो, ‘चोखो, शुद्ध र ताजा पाउरोटी’ भनेर ।’ 

तत्उप्रान्त कृष्ण पाउरोटीको बिक्री बढ्दै गयो । त्यसबेला दिनको पाँच सातवटा पाउरोटी बिक्री हुन्थ्यो । 

\"\"

यसरी २००५ सालदेखि पाउरोटी बनाउनसमेत सुरु गरिएको कृष्णबहादुरको पसलमा वरिपरिका मानिसहरुको जमघट हुन थाल्यो । त्यसबेला हल्ला त पाउरोटीको पिठो खुट्टा (पाउ)ले मलिन्छ भनेर पनि हल्ला भयो । तर घनश्याम राजकर्णिकारका पिताजीले कलकत्ताबाट झिकाएका कालिगढले हातैले आँटा मुछ्ने गरेको उनी बताउँदै थिए । 

घनश्याम राजकर्णिकारका अनुसार उनका पिताजीलाई पाउरोटी उद्योगलाई निरन्तरता दिन विपी कोइराला र एक जना राणाजी परिवारका व्यक्तिले खुबै प्रेरणा दिएका थिए । त्यसैले कत्तिकै अप्ठेरो परे पनि उनले आफूले थालेको व्यवसायलाई निरन्तरता दिइरहे ।
२००५–०६ सालतिर विपी कोइराला कृष्णबहादुरको चिया पाउरोटी पसलमा आउँथे । उनी निक्कै बेर चिया पिएर बस्थे । किनभने कमलपोखरी इलाका प्रजातन्त्रवादीहरुको इलाका मानिन्थ्यो । कांग्रेसका कार्यकर्ता धेरै थिए त्यो टोलमा । 

कांग्रेसका कार्यकर्ताहरुको जमघटसंगै कांग्रेसका नेता विपी कोइरालाको आगमन पनि त्यहाँ विशेष मकसदका लागि हुन्थ्यो । त्यसबेला राजा त्रिभुवनका हजाम पनि कमलपोखरीमा नै बस्थे । उनको नाम थियो बलदेव ठाकुर । उनलाई घनश्याम र उनका दाइहरु काका भन्थे । उनी पनि चिया पिउन पसलमा आउँथे ।

घनश्याम भन्छन्, ‘त्यसबेला राजा त्रिभुवनलाई कुनै खबर विपीले पठाउनु पर्दा बलदेव ठाकुरका मार्फत पठाउनु हुन्थ्यो । यो पसल एउटा मिटिङ प्लेसका रुपमा विकसित थियो । विपी र बलदेव दुबै चिया पिउन आउनुहुन्थ्यो र दुबै बीचमा समाचार आदानप्रदान हुन्थ्यो । राजालाई विपीका कुरा मात्रै होइन की विपीलाई राजाका कुरा पनि बलदेव काकाले नै सुनाउनु हुन्थ्यो ।’

यस कार्यका लागि कार्यकर्ताहरुले समय मिलाउँथे । हेर्दा चिया खान आउने तर समाचार आदानप्रदानको माध्यम थियो कृष्णबहादुरको पाउरोटी पसल । 

घनश्याम भन्छन्, ‘म सानै थिएँ । त्यसबेला मेरो पिताजीसँग साइकल थियो । कहिलेकाही विपीले मेरो बुबाको साइकल लिएर पनि जानुहुन्थ्यो । मेरो बुबालाई कृष्ण दाइ भन्नु हुन्थ्यो विपी ।’ 

पछि व्यापक हल्ला भयो कृष्णबहादुरको पाउरोटी पसलमा विपी आउँछन् भन्ने । त्यहाँ सीआइडी छोडियो । त्यसपछि पसलमा विपी र बलदेव दुबै आउन छोडे । 

विपीले घनश्यामका पिताजी कृष्णबहादुरलाई जहिल्यै भन्थे, ‘कृष्ण दाइ, यो पाउरोटी बनाउने काम रोक्नु हुँदैन है । यसको माग केही समयपछि आफैं बढेर जान्छ । भारतको हावा आएपछि यहाँ पनि पाउरोटी खाने चलन सुरु हुन्छ । नछोडनुस् पाउरोटी बनाउन ।’
यि प्रेरणादायी वाक्यले सधै अगाडि बढ्न कृष्णबहादुरलाई प्रेरणा दिन्थ्यो । त्यस्तै एक अर्का व्यक्ति थिए राणा खलकका । उनी पनि आएर ‘पाउरोटी बनाउन नछोड है’ भन्दै आएको दिन बनेको जति पाउरोटी सबै उठाएर लान्थे । 

त्यसबेला पाउरोटीको मूल्य थियो, एक मोहर ।

०००

यिनै उत्प्रेरणाले घनश्याम राजकर्णिकारका पिताजी कृष्णबहादुरलाई आफ्नो कर्ममा अघि बढ्न प्रेरित गरिरह्यो । उनका तीन छोराले पिताजीलाई व्यवसायमा साथ दिइरहेका थिए । तर कान्छा घनश्यामको ध्यान व्यवसाय भन्दा पढ्न तिर थियो । उनलाई पिताजीको व्यवसायमा कुनै चासो थिएन । उनी पढ्न चाहन्थे । तर घरमा उनका दाजुहरु उनलाई किन पढ्नु पर्यो, पाउरोटी बनाउन आइज भन्थे ।

तर उनी पढेर सेक्सन अफिसर हुन चाहन्थे । त्यसैले उनले पढ्नैका लागि बढी संघर्ष गर्नुपर्यो । उनको पढाईलेखाईमा उनकी आमाको साथ हमेसा रह्यो । त्यसैले पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै गए । उनले जेपी स्कूलबाट एसएलसी पास गरे ।

त्योबेलासम्म उनको पिताजीको व्यवसाय अगाडि बढिसकेको थियो । पाउरोटीको खपत बढी थियो । त्यसैले २०१५ सालमा उनका पिताजीले २० हजार रुपैयाँमा बेलायतबाट पाउरोटी बनाउने मेसिन झिकाउन पत्राचार गरे । एकजना पढेलेखेका मानिससँग चिठी लेख्न लगाएर उनले बेलायती मेसिन झिकाएका थिए ।

घनश्याम कुरा गर्दागर्दै गम्भीर भए । उनी भन्दैथिए, ‘त्यो बेलायती मेसिन ०१६ सालमा काठमाडौं आइपुग्यो । घरमा मेसिन आएको पिताजीले देख्नु भयो तर त्यसबाट पाउरोटी उत्पादन भएको देख्न पाउनु भएन । उहाँ ०१६ सालमै दिवंगत हुनुभयो ।’
त्यो बेला बेलायतको चर्चा हुन्थ्यो । बेलायती सामानको चर्चा हुन्थ्यो । त्यसैले पनि होला उनका पिताजीले भारतबाट पाउरोटी बनाउने मेसिन नझिकाएर बेलायतबाट झिकाए । यसरी उत्पादन गरिएको पाउरोटी नेपाली कागजमा दुबैतिर मुख बटारेर पोको पारेर दिइन्थ्यो । धेरै पछि मात्रै नाम छापिएको थोङामा हाल्ने चलन आएको हो ।

पिताजी जीवित छउन्जेल उनी हल्लेर हिँडे । पिताजीको निधन पछि उनले दाजुहरुलाई पाउरोटी उद्योगमा सहयोग गर्न थाले । तर पनि उनको शाखा अधिकृत बन्ने सोचाई परिवर्तन भएको थिएन ।

उनमा इख पलाएको थियो । पढेर के हुन्छ भन्ने दाजुहरुलाई पढेर, ठूलो मान्छे भएर देखाउने । शाखा अधिकृत भएर देखाउने । त्यसैले बिहान बेलुकी पसलमा बसे पनि आइए पढ्न पौने एघारमा कलेज पुग्थे । त्यसपछि फूर्सदमा प्युखामा रहेको पुस्तकालयमा विभिन्न उपन्यास र अन्य किताब पढ्न पुग्थे । यसरी उनले कोर्सको किताबसँगै कोर्स बाहिरका किताब पनि समाउँदै गए । उनले भारतीय लेखक गुलशन नन्दा, यसपालहरुका किताब पढ्न थाले । फूर्सदको समयको अलिकति उपयोग गरेपछि उनी फेरि पसलमै फर्किन्थे ।

उनको खेल्न जाने, घुम्न जाने भन्ने नै हुन्थेन । साथीहरु न्युरोड जाउँ भन्थे । उनी न्युरोड पनि जान पाउँथेनन् । उनका लागि घुम्ने, खेल्ने, जे भने पनि पसल नै थियो ।

२०१८ सालदेखि नारायणहिटी दरबारमा पनि कृष्ण पाउरोटी भित्रिन थाल्यो । दरबारका मानिसहरु आउँथे र छानीछानी पाउरोटी लान्थे । यसरी किनेर लगिएको पाउरोटी दरबारमा पनि पहिले काम गर्नेहरुले खान्थे रे । पछि मात्रै राजा महेन्द्र र परिवारका सदस्यहरुले खान्थे रे । यो कुरा पाउरोटी किन्न आउने सेवकहरुले पसलमा सुनाउँथे ।

दरबारमा पनि पाउरोटी बिक्री हुन थालेपछि बाहिर पनि यसको माग बढ्यो । राजाले खाने पाउरोटी भन्दै कृष्ण पाउरोटीको बिक्री ह्वात्तै बढ्यो ।

त्यसपछि २०२२ सालतिर बेलायतबाटै २ लाख ५० हजारमा अर्को मेसिन झिकाइयो । यसले पाउरोटी उत्पादनलाई अग्रगतिमा लग्यो ।

यतिबेलै घनश्यामले बीए पास गरे । बीए पास गरेपछि उनलाई महसुस भयो, व्यापार व्यवसाय नै ठिक भन्ने । उनले शाखा अधिकृत हुने सोचाई त्यागे । र समाए पाउरोटी विजनेसको बाटो । उनी दाजुहरुसितै व्यापार व्यवसायमा सहभागी भए । यो बीचमा पाउरोटीको माग पनि बढ्दै गयो । बिक्री पनि बढ्दै गयो । 

०००

घनश्यामले दाजुहरुलाई खुला हृदयले सहयोग गर्दैगए । यहि बीचमा उनले उद्योग विभागबाट पाउरोटी तालिमको छात्रवृत्ति पनि पाए । यो तालिम जर्मनमा हुँदैथियो । उनी जर्मन पुगे । पाउरोटीका बारेमा तालिम लिए । मेसिनहरुका विषयमा विशेष ध्यान दिए । 

त्यसैबेला उनका दाजुहरुले एनआइडीसीबाट १६ लाख ऋण लिएर सेमी अटोमेटिक मेसिन झिकाउने तयारी गर्दैथिए । त्यसका लागि कागजात तयार हुँदैथियो । उनले मेसिनका बारेमा जानकारी लिए । बेग्लाबेग्लै कम्पनीबाट मेसिन मगाउँदा करिब चार लाख फाइदा हुने उनले पत्तो लगाए । र यही खवर दाजुहरुलाई पठाए । यो २०२८–२९ सालतिरको कुरा हो । 

उनी भन्छन्, ‘मेसिन झिकाउने विषयमा मेरो माहिलो दाइलाई चित्त बुझेनछ, मेरो कुरो । उहाँले मलाई अर्कै दृष्टिकोणले हेर्नुभयो । सस्तो माल राम्रो हुन्न, महँगो माल राम्रो हुन्छ भन्नु हुन्थ्यो उहाँ । तर मैले मेसिनको फोटोहरु पनि खिचेर ल्याएको थिएँ । त्यो देखाएर दाजुहरुलाई मेसिनका बारेमा बताएँ । १६ लाखको मेसिन १२ लाखमा आउने भएपनि माहिला दाइ दंग पर्नुभएन । र, उहाँले काम गर्दिन भनेर साथ छोड्नु भयो । उहाँले पाउरोटी व्यवसायमा पछि हात हाल्नु भएन ।’ 

घनश्यामले माहिलो दाजुलाई धेरै सम्झाए, सबै जर्मन मेसिन हो भनेर । सबैले राम्रो काम गर्छ भनेर । तर उनले अलग हुने निर्णय नै गरे । यसरी ०३० सालदेखि जेठा, साइला र कान्छा घनश्यामले कृष्ण पाउरोटीलाई चलाउन थाले । कृष्ण पाउरोटीको साख झनझन माथि उक्लँदै गयोे । पाउरोटी व्यवसायमा कृष्ण पाउरोटीको एकाधिकार छायो । 

\"\"

त्यसैबेला रेडियो नेपालबाट एउटा जिंगल बज्न थाल्यो, ‘...मत जान्छु खाजा खान्छु पाउरोटी कृष्ण पाउरोटी .....’। यो जिंगलले सुनमा सुगन्ध थप्यो । यसले व्यापार पनि बढायो । यसले व्यापारमा धेरै राम्रो उपलब्धी दियो ।

२०३९ सालतिर घनश्यामका जेठा दाइको निधन भयो । उद्योगमा उनका भतिजा भित्रिए । यहीँबाट कृष्ण पाउरोटी उद्योगले गति लिन छोड्यो । उद्योगमा युवापुस्ताको प्रवेश भएपनि उद्योगमा नयाँपन आएन । केही वर्ष पछि भतिजा छुट्टिए । 

कृष्ण पाउरोटी फेरि जीरोबाट सुरु भयो । यसबीचमा धेरै पाउरोटी कम्पनीहरु आइसकेका थिए । बजारमा पहिलेजस्तो कृष्ण पाउरोटीको एकाधिकार थिएन । तथापि, उद्योग चलिरहेको थियो ।

घनश्याम भन्छन्, ‘२०५३ सालमा साइलो दाइ पनि बित्नु भयो । त्यसपछि उहाँका छोरा कम्पनीमा भित्रिए । तर उनले पनि केही गर्न सकेनन् । कृष्ण पाउरोटी झनझन ओह्रालो लाग्दै गयो । साख खस्किँदै गयो । उद्योग आर्थिक रुपमा क्षतविक्षत भयो । भतिजाले मलाई जुनरुपमा सहयोग गर्नु पथ्र्र्यो, त्योरुपमा गरेनन् । पछि उनले पनि उद्योग छोडे । आज मेरी दुई छोरीहरुले कृष्ण पाउरोटी भण्डारलाई संचालन गर्दै आएका छन् । मेरो पिताजीको नामलाई मेरी छोरीहरुले अगाडि बढाएका छन् ।’ 

आज पनि कृष्ण पाउरोटीको नाम र साख कायम राख्न घनश्यामका दुबै छोरीहरु दत्तचित्त छन् । पहिलेको जस्तो ठूलो बजार नभएपनि उनको पिताजीको नामलाई जिवीत राख्न छोरीहरु कस्सिएका छन् । उनीपनि यो उमेरमा छोरीहरुलाई सहयोग गरिरहेका छन् ।
उनी भन्छन्, ‘काम गर्नलाई मानिसमा भावना हुनुपर्छ । वास्तवमा कृष्ण पाउरोटी भण्डार बचेकै मेरो भावनाले हो । उद्योगमा पैसाले मात्रै काम गर्दैन, भावना पनि चाहिन्छ । त्यसैले सानैरुपमा भएपनि कृष्ण पाउरोटी चलिरहेको छ ।’ 

०००

आमालाई अगाध प्रेमगर्ने घनश्याम राजकर्णिकार साहित्यकार पनि हुन् । त्यसैले उनले ‘पवित्र माया आमाको’ शीर्षकमा पुस्तक नै प्रकाशित गरे । 

उनलाई उनका दाइहरुले खर्च गरेर खुलामनले पढाईदिएको भए सायद उनी लेखक पनि हुन्थेनन् । शाखा अधिकृत भएर कतै पुग्थे । तर दाइहरुको नपढाउने विचारले उनलाई पढ्न त प्रेरित गर्यो नै, साथै फूर्सदमा पुस्तकालय पनि पुर्यायो । यसैले उनलाई लेख्न सिकायो । 
उनले ०१८–१९ सालदेखि लेख्न थाले । उनको एकाङकी नाटक पहिलो पटक २०२४ सालमा गोरखापत्रमा छापियो, ‘मिलनको क्षण’ शीर्षकमा । नाटककार बालकृष्ण समबाट प्रेरित भएर उनले यो नाटक लेखेका थिए । 

उनको पहिलो नियात्रा जर्मनबाट फर्किए पछि गोरखापत्रमा छापियो ०३२–३३ सालतिर । त्यसको केही समयपछि उनले छ्यासमीसरुपमा एउटा पुस्तक प्रकाशित गरे, ‘केही चिन्तन केही मन्थन’ ।

यो पुस्तक छापिएपछि उनलाई समालोचक माधवलाल कर्माचार्यले नियात्रा लेखनमा निरन्तर लाग्न सुझाए । उनले पनि एउटा मात्रै बाटो समाए र लेख्दै गए यात्रा साहित्य । प्रकाशित गर्दैगए नियात्रा संग्रह । उनको नियात्रा संग्रह ‘विदेशको यात्रा स्वदेशको सम्झना’ आज पनि पाठकका बीच चर्चित छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro