site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किमि सडक छिचोल्न चार घन्टा !

काठमाडौं । बस या माइक्रोमा १२.५ किमि सडक छिचोल्न सामान्यतयाः कति समय लाग्ला ? प्रतिघण्टा ४० किमिकै गतिमै हिसाब गर्ने हो भने पनि १९ मिनेट लाग्छ । 

तर, राजधानीको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको १२.५ किमि सडक पार गर्न भने सवारीसाधनले ३ देखि ४ घन्टा समय खर्चिरहेका छन् । यसको प्रमुख कारण हो– सडक विभागले विस्तारका लागि खनेको सडक समयमै निर्माण सम्पन्न नगर्नु । 
सडकको खराब अवस्थाका कारण सडक पार गर्न यात्रुले चाहिनेभन्दा ६ गुणा बढी समय खर्च गरिरहनु परेको छ ।

सडकका बीचमा पानी जमेका खाल्डाको वास्तविक गहिराइको भेउ पाउन नसकेका कारण कतिपय सवारीसाधन सडकमै फस्ने गरेका छन् । यसरी गाडी फस्दा गाडीमा सवार बालबच्चाको अघिल्तिरको सिटमा टाउको ठोक्किने, नाक ठोक्किएर रगत आउनेसम्म गरेको छ भने पाका उमेरका यात्रुको ढाड, मेरुदण्ड र घाँटीको हाडमा जोड पर्ने चालक बताउँछन् ।

हिलो र खाल्डामा गाडी फसेकै कारण नेपालकै प्रमुख नाकामध्ये मुख्य यस नाकामा सवारीको लस्करले ट्राफिक जाम अरु बढाउने गरेको छ । खराब सडककै कारण गाडी हाफक्लच गरेर एक गियरमा मात्र हिँडाइराख्नु पर्ने बाध्यता रहेकाले एक–एक महिनामा क्लचप्लेट फेर्नुपरेको चालकहरु बताउँछन् ।

खराब सडककै कारण मोबिल र स्प्रिङपत्ती पनि सामान्य अवस्थामा भन्दा छिटो फेर्नु परेकाले पछिल्लो १ वर्ष गाडी सर्भिसिङ र मर्मतमा ५० प्रतिशत थप खर्च  आएको बेंसिसहर–काठमाडौं रुटमा हायस माइक्रो चलाउँदै आएका सुरेन्द्र तिवारीले सुनाए । 

१ सय ६० ट्राफिक सक्रिय 

१२.५ किमि लम्बाइको यस सडक खण्डमा १ सय ६० जना ट्राफिक प्रहरी खट्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार विभागले खनेको सडकमा निरन्तरको वर्षाले सडक हिलो भएको, पानी जमेका सडकमा गाडी फस्ने गरेका कारण यस्तो समस्या समाधानका लागि ट्राफिक प्रहरीलाई तैनाथका साथ त्यस क्षेत्रमा खटाइएको छ । 

“यो सडकखण्डमा हिँउदको समयमा धुलोको समस्या भए पनि सवारी आवागमनमा धुलोले खासै असर नपुर्याउने तर बर्खाको समयमा गाडी चलाउन चालकलाई समेत निक्कै समस्या भइरहेको छ,” पन्तले भने, “हिलो बाटोका कारण प्रहरीलाई पनि ट्राफिक व्यवस्थापन गर्न धेरै समस्या छ, गम्बुट लगाएर ड्युटी गरिरहेका छौं, गाडीले छ्याप्ने हिलो आँखा, नाक, मुखमा पस्ने गरेको छ ।” खराब सडककै कारण १२ किमि पार गर्न ३ देखि ४ घण्टा समय लाग्ने गरेको पन्त स्वीकार्छन् । 

“ग्राभेल भर्न सडक विभागलाई भनिरहेका छौं । गत शनिबार मन्त्री रघुवीर महासेठले पनि तत्काल खाल्डा पुर्न विभागलाई निर्देशन दिइसक्नु भएको छ । विभाग र ठेकेदारले यसतर्फ ध्यान नदिँदा हामीलाई ट्राफिक व्यवस्थापन गर्न धेरै नै समस्या छ,” पन्तले भने । 

\"\"

आधा बजेट सकियो, प्रगति निराशाजनक
 

सडक विभागले २०७२ साल असार ३१ गते २०७४ साल पुससम्म त्यस सडक खण्डको सबै भागमा २२ मिटर बनाउने योजनाका साथ काम सुरु गरेको थियो । शर्मा, शैलुङ र कान्छाराम जेभी कम्पनीले उक्त ठेक्काको जिम्मा लिए पनि विभागको आन्तरिक समस्याका कारण सडक विस्तार गर्न नसकिएको शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर नवराज भण्डारीको तर्क छ । 

\"\"

“सर्वोच्चले पीडितलाई मुआब्जा दिन भनेको तर विभागले मुआब्जा दिन नसक्दा सडकको हालत खराब भइरहेको छ,” भण्डरीले भने, “सडकमा यही नै मुख्य विवादका कारण हामीलाई समयमै काम सक्न अप्ठ्यारो छ ।”

सडक विस्तारको ठेक्का लगाउने विभागअन्तर्गतको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसी सडकको केही भागमा ह्युमपाइप बिछ्याइएको, बिजुलीको पोल हटाएको, कालोपत्रेका लागि ग्राभेल गरेको, सडकका रुख काटेको, घर–टहरा हटाउने र पीडितलाई क्षतिपूर्ति दिनेलगायतका काममा ५० प्रतिशत बजेट खर्च भएको बताउँछन् ।

विभागले उक्त सडक विस्तारका लागि आर्थिक वर्ष २०७२–७३ मा डेढ अर्ब रुपैयाँ छुट्याएको थियो ।

\"\"

सडक विस्तारका लागि छुट्याएको आधा रकम सकिँदा पनि सडकको अवस्थामा कुनै सुधार नहुँदा उपत्यका भित्रिने दैनिक करिब ५० हजार सवारी साधनका यात्रु, चालक, स्थानीयबासी र ट्राफिक प्रहरीको दैनिकी र स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro