
काठमाडौं । सडक विस्तारको काम समयमै पूरा नहुँदा त्रिपुरेश्वर–नागढुङ्गा सडक खण्डका स्थानीयको दैनिकी कष्टकर बनेको छ । कालोपत्रे भत्केको सडक वर्षाका कारण हिलो हुने र घाम लागेको बेला त्यही हिलो नै धुलोमा परिणत हुँदा स्थानीयबासी हिलो र धुलोको दोहोरो मारमा परेका छन् ।
कालोपत्रे उप्केको सडकमा टिपर, ट्रक, लहरीजस्ता ठूला मालबाहक सवारीको चापले सडकको अवस्था थप बिगार्ने गरेको छ । सडक समयमै विस्तार गरी कालोपत्रे गर्न नसकिए पनि हाल सडकमा रहेका खाल्डा पुर्न सरकारसँग स्थानीयबासीले अपिल गरेका छन् ।
गत १२ गते शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको स्थलगत अवलोकन गर्दै भदौ १२ गतेसम्म सडकका खाल्डा पुर्न विभाग र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।
तर, सडक विगाग भने टिकाभैरव र धादिङबाट निर्माण सामग्री ल्याउनुपर्ने र वर्खाका कारण ती स्थानमा जानै नसकिएको बताउँछ । “पहिरो र खराब सडकका कारण टिकाभैरवबाट ढुङ्गा, गिटी ल्याउन सकिएको छैन,” उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीले भने ।
विभागले सडकका खाल्डा पनि समयमै पुर्नका लागि कुनै चासो नदेखाउँदा दिउँसो मात्र होइन, रातको समयमा पनि स्थानीयबासी ध्वनि प्रदूषणको समस्या झेल्न बाध्य छन् ।
उपत्यका छिर्ने प्रमुख नाकाको यस सडकमा पूर्व, मध्य र पश्चिम सबै रुटका सवारी रात–दिन सञ्चालनमा रहन्छन् ।
सडकका खाल्डा जोगाउन गाडीले ब्रेक हानिरहनुपर्र्ने, खाल्डा जोगाउँदा गाडी धेरै मोडिने र विपरित दिशाबाट आउने गाडीले हर्न बजाउने, खाल्डाकै कारण सडकमा जाम हुँदा पछाडिको गाडीको अनावश्यक हर्न बजाउँदा रातको समयमा पनि त्यहाँका स्थानीय पिरोलिएका छन् ।
सडकबाट आउने धुलोकै कारण पसलमा रहेका सामान बिग्रिने गरेको गुर्जुधारा चोकमा पसल सञ्चालक दीपक आम्गाईंले गुनासो पाखे । “धुलोले पसलका सबै फर्निचर, सिसा मैलो पारेकाले बिहानभर सफा गर्नमै बित्छ, दिउँसो फेरि उस्तै हुन्छ,” अम्गाईंले भने, “हिलोका कारण पसलमा आउने ग्राहकको संख्या पनि एकदम कम भएको छ ।”
यहाँका स्थानीयले धुलो र हिलोकै कारण जनस्वास्थ्यमा समेत गम्भीर असर खेपिरहेका छन् । धुलोका कारण आँखा पाक्ने, चिलाउने, घाँटी दुख्ने, छाला चिलाउने र एलर्जी हुने अल्पकालीन समस्या हुने वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर अर्जुन कार्की बताउँछन् ।
धुलोले पार्ने दीर्घकालीन असरमा फोक्सो र मुटुमा गम्भीर समस्या उत्पन्न हुने कार्कीले बताए । “प्रतिरोधात्मक क्षमता कम भएका कारण युवा, युवतीभन्दा पनि बालबालिका र वृद्धवृद्धा धुलोको समस्याबाट बढी पीडित छन्,” कार्कीले भने, “पहिलेदेखि नै स्वासप्रशासको समस्या भएकालाई धुलोले थप असर पुर्याउँछ ।”
सडकको धुलो र हिलोकै कारण विद्यालय हिँडेका बालबालिकालाई समयमै विद्यालय पुग्न कठिन हुने गरेको थानकोटकी स्थानीय कविता लुइँटेलले बताइन् । “यहाँबाट कलंकीको स्कुल पुग्न ३, ४ घण्टा लाग्छ,” लुइँटेलले भनिन्, “बिहान नौ बजे तयार गरेर छोरालाई पठायो कहिले त स्कुल पुग्दा १२ बज्ने गरेको छ ।”
विभागले सडक विस्तारका लागि पुरानो नाला र ह्युमपाइप हटाएको हुँदा सडकको फोहोर पानी घरभित्र पस्ने समस्या पनि उत्तिकै छ । बर्खाको पानीले सडकको हिलो र फोहोर घर अगाडिको भागमा थुपार्दा सडकको भाग अग्लो भएकाले घरबाट मोटरसाइकल, कार निकाल्न र थन्क्याउन अप्ठ््यारो भएको नैकाप फेमिली मार्ट नैकापका विशाल भट्टराई दुखेसो पोख्छन् ।