काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले तीन महिनाभित्र प्रदेश, जिल्ला र सोभन्दा तलका कमिटीहरूको एकीकरणसम्बन्धी प्रतिवेदन तयार पार्न मातहतका कार्यदललाई निर्देशन दिएको छ । केन्द्रमा पार्टी एकता भए पनि जिल्ला र गाउँ–नगरमा दुवै पार्टीको अस्तित्व रहेकाले तीन महिनाभित्र एकीकरणको प्रक्रियामा समाहित गराउन अन्तरपार्टी निर्देशन दिइएको हो ।
ने क पाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले तीन महिनाभित्र कार्यदलले प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाए पनि कतिपय ठाउँमा सो भन्दाअघि नै एकीकरणको प्रक्रिया सुरू हुने जानकारी दिए ।
प्रदेश एकीकरण गर्न कार्यदल
प्रदेश कमिटीहरू समायोजन गर्न ने क पाले सातै प्रदेशमा चार– चार जनाको कार्यदल बनाएको छ । प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई, सावित्री काफ्ले रहेका छन् ।
त्यस्तै प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी, प्रभु साह तोकिएका छन् । प्रदेशमा ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशिनाथ अधिकारी, नारायण दाहाल छन् । प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी छन् ।
प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना, गणेशमान पुन रहेका छन् ।
प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल, मायाप्रसाद शर्मा तथा प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र टेकबहादुर पाठक छन् ।
त्यस्तै प्रवासको कमिटीमा नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की, टेकबहादुर पाठक छन् । जिल्ला संगठन निर्माण गर्न भने साविक एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्ष, इन्चार्जहरू पनि कार्यदल सदस्यको हैसियतमा बैठकमा सहभागी हुन पाउने निर्देशन गरिएको भुसालको भनाइ छ ।
कार्यदलले ३ महिनाभित्र प्रदेश र जिल्लाको पदाधिकारीसहित सदस्यहरूको नामावली टुंग्याइसक्नुपर्ने क्षेत्राधिकार तोकिएको छ । प्रदेश कमिटीमा केन्द्रीय सदस्यको नाम समावेश नगर्न र पदाधिकारी एवम् सदस्यको निक्र्यौल गर्दा क्षमता, वरिष्ठता र पार्टी एकताको भावनालाई आधार बनाउनुपर्ने ने क पाको निर्देशन छ ।
कति सदस्यीय हुनेछन् तल्ला कमिटी ?
केन्द्रमा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । त्यस्तै १५१ सदस्यीय प्रदेश कमिटीको व्यवस्था विधानले गरेको छ । जिल्ला कमिटीको संरचना ७५ सदस्यीय हुने र एकभन्दा बढी निर्वाच क्षेत्र भएका जिल्लाको हकमा भने प्रत्येक निर्वाचन क्षेत्रबाट ५ जनाको प्रतिनिधित्व गराइने अन्तरिम विधानले व्यवस्था गरेको छ ।
महानगर ७५, उपमहानगर ६५, नगर र गाउँ कमिटीहरू बढीमा ५१ सदस्यीय हुने भुसाल बताउँछन् । महानगर, नगर र गाउँपालिकाअन्तर्गतका वडा २५ र आधारभूत (प्रारम्भिक) कमिटी १५ सदस्यीय हुने यसअघि नै निक्र्यौल भइसकेको छ ।
यस्तै २४ वटै जनसंगठनहरू एकताका लागि ४–४ जनाको कार्यदल बनाइसकिएको छ र ती सबैले १५ दिनभित्र एकताको प्रतिवेदन बुझाइसक्ने जिम्मेवारी बाँडफाँट गरिएको भुसालले जानकारी दिए ।
जनवर्गीय संगठनका कार्यदलले प्रत्येक संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्नुपर्ने, प्रत्येक जनसंगठनले पार्टीको राजनीतिक वैचारिक मान्यता स्वीकार गर्नुपर्ने, संगठनात्मक ढाँचा विधानले तय गरेमुताविक सञ्चालन हुने मान्यतामा हुने व्यवस्था गर्न जिम्मेवारी निर्दिष्ट गरिएको छ ।