काठमाडौँ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा बहाल छन् । सरकार सञ्चालनका क्रममा हरेक विषयमा जानकारी राख्न रुचाउने प्रधानमन्त्री कहिले आफैँ पढेर त कहिले अरूसँग सोधेर पनि विषयबारे धारणा बनाउने नेतामा गनिन्छन् ।
बिहान सञ्चारमाध्यममका प्रकाशित समाचारका विषयमा दिउँसो उनी आफैं जवाफ दिन्छन् । आफूविरुद्ध सार्वजनिक भएका समाचार, टिप्पणी र विचारका बारेमा प्रष्ट पार्ने प्रयास गर्छन् ।
केही वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको अवस्था सम्वेदनशील छ । संक्रमणको भयले चिकित्सकले हातसमेत नमिलाउन र भेटघाटमा धेरै सक्रिय नरहन सुझाव दिने गरेका छन् । तर, उनी राति अबेरसम्म अध्ययनमा सक्रिय रहन्छन् । र, विषयबारे आवश्यक धारणा बनाउँछन् ।
तीव्र चेत, प्रत्युन्पन्न मति । वाकपटु र झर्रो एवम् उखान–टुक्काका फुँदा गाँसीगाँसी भाषण गर्न माहिर प्रधानमन्त्री ओली अहिले मुलुकको कार्यकारी छन् ।
एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको शक्तिशाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका ओली सरसल्लाहको मामिलामा उदात्त भावनाकै छन् । प्रधामन्त्रीको सचिवालयमा भारी कटौती गरे पनि तत्तत्का विभागबाट उनले मनग्गे सल्लाह–सुझाव लिने गरेको र विषयका बारेमा अद्यावधिक हुने गरेको बालुवाटार स्रोत बताउँछ ।
दुई पूर्व प्रधानमन्त्रीसँग बराबर परामर्श
महाधिवेशनमा फरक–फरक विचार समूहको नेतृत्व गरेर प्रतिस्पर्धामा उत्रिए पनि प्रधानमन्त्री ओली पार्टीका वरिष्ठ नेता माधव नेपालसँग अहिले नजिक छन् । र, सरकारका दैनन्दिनका कार्यमा समेत दुई नेताबीच छलफल हुने गरेको बालुवाटार स्रोत बताउँछ ।
त्यस्तै नेकपा अध्यक्ष र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि खास विषयमा प्रायशः सल्लाह भइरहने प्रधानमन्त्री ओली निकटहरू बताउँछन् ।
पूर्वप्रधानमन्त्री भए पनि झलनाथ खनालसँग भने अध्यक्ष ओलीले खासै परामर्श गर्दैनन् । “स्वास्थ्यको कारणले पनि त्यति सम्भव नभएको हुनसक्छ । माधव नेपाल र पुष्पकमल दाहालसँग भने प्रधानमन्त्री नियमितजसो सरसल्लाह गर्नुहुन्छ,” प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो ।
“अहिले नीति तथा कार्यक्रम बनाउने सन्दर्भमा पनि दुई पूर्वप्रधानमन्त्रीसँगै बढी उहाँले राय मागिराख्नुभएको छ,” स्रोतले थप्यो ।
परराष्ट्र मामिलामा सरसल्लाह दिने राजन भट्टराई
एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपामा केन्द्रीय सदस्य हुन् राजन भट्टराई । काठमाडौँ– ४ बाट कांग्रेस नेता गगन थापासँग पराजित भट्टराई परराष्ट्र मामिलामा दक्ष मानिन्छन् । विशेषगरी नेपाल–भारत सम्बन्धका जानकार भट्टराई भारतको जेएनयूबाट विदेश नीतिमै विद्यावारिधी गरेकाले अध्यक्ष ओलीको ‘किचेन क्याबिनेट’ मा पुगेका छन् ।
उनले परराष्ट्र सम्बन्ध र मामिलाका हरेक विषयमा अध्यक्ष ओलीलाई रायसल्लाह दिने गरेका छन् । माधवकुमार नेपालको सरकारका पालामा पनि परराष्ट्र मामिला सल्लाहकार रहेका भट्टराई अहिले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) सदस्यको रूपमा कार्यरत छन् ।
त्यस्तै विभागीय मन्त्री प्रदीप ज्ञवाली पनि चिन्तनशील, कूटनीतिज्ञ र परराष्ट्र मामिलामा चासो राख्ने भएकाले उनीसँग पनि खासखास विषयमा प्रधानमन्त्रीले सुझाव माग्ने गरेको स्रोत बताउँछ ।
कानुनमा अग्नि खरेल र सुवास नेम्वाङ
एमाले पोलिट्व्युरो सदस्य एवम् पूर्वकानुनमन्त्री अग्नि खरेल प्रधानमन्त्री ओलीका कानुनी सल्लाहदाता हुन् । काम गर्न सहज होस् भनेरै प्रधानमन्त्रीले खरेललाई महान्यायाधीवक्तामा नियुक्त गरे । कार्यसम्पादनमा आइपर्ने कानुनी उल्झन र समस्याहरू खरेलकै राय–सुझावका आधारमा फुकाउने गरेको बालुवाटार श्रोत बताउँछ ।
क्याविनेटमा विभागीय मन्त्री शेरबहादुर तामाङ पनि नभएका होइनन् । तर, तामाङसँग भन्दा खरेलसँग नै बढी उनले राय–सुझाव माग्ने गरेका छन् ।
त्यस्तै ओलीलाई कानुनी सल्लाह दिने अर्का व्यक्ति हुन्– सुवास नेम्वाङ । पूर्व संविधानसभा अध्यक्ष, सभामुख, संसदीय दलको उपनेतासमेत भइसकेका नेता नेम्वाङले पछिल्लो समय कानुनीभन्दा राजनीतिक सरसल्लाह नै दिने गरेको बालुवाटार स्रोत बताउँछ ।
सञ्चारमा कुन्दन अर्याल
प्रधानमन्त्रीको सञ्चार टिममा तीन सदस्य छन्– डा. कुन्दन अर्याल, रामशरण बजगाईं र चेतन अधिकारी ।
तर, सञ्चारसम्बन्धी सम्पूर्ण राय–सुझाव अर्यालसँगै लिने गरेका छन् प्रधानमन्त्रीले । अर्याल प्राध्यापन, स्वतन्त्र लेखन र विश्लेषणमा विशेष दक्ष रहेकाले प्रधानमन्त्रीको रोजाइमा परेको ओली निकट बताउँछन् ।
त्यस्तै चेतन अधिकारी प्रधानमन्त्री कार्यालयको सूचना सम्प्रेषणमा खटिने गरेका छन् भने अर्का सल्लाहकार रामशरण बजगाईंले सामाजिक सञ्जालमा सरकारको कामकारवाहीबारे भइरहेको टिप्पणी, व्यक्त धारणाहरू संश्लेषण गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाउँछन् ।
जनसम्पर्कमा अच्युत मैनाली र राजनीतिमा विष्णु रिमाल
स्थायी कमिटीमा रहँदा लामो समय गुटको नेतृत्व गरेको, विचार समूह सञ्चालन गरेकाले कार्याकर्ताहरूसँग बढी नै अन्तर्घुलित हुने नेतामध्ये पर्दछन् अध्यक्ष ओली । बालुवाटारमा कार्यकर्ताको बाक्लो आउजाउ हुने नै भइहाल्यो ।
तर, पछिल्लो समय रोकेका छन् ओलीले । सिंहदरबारमा मात्रै होइन, बालुवाटारमा पनि सहज पहुँच छैन नेता–कार्यकर्तालाई । सांसद्समेत प्रधानमन्त्रीको कार्यालय र सचिवालय अघिल्तिर ठिङ्ग उभिइराख्नुपर्छ ।
पार्टी कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाटको प्रवन्ध अच्युत मैनालीले मिलाउने गरेका छन् । अत्यावश्यकबाहेक अन्य नेता कार्यकर्तालाई भेट दिने गरेका छैनन् प्रधानमन्त्रीले ।
त्यस्तै पार्टीका गतिविधि र अन्य पार्टीका धारणाका विषयमा राजनीतिक सल्लाहकार एवम् नेकपाका केन्द्रीय सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई अवगत गराउने गरेका छन् ।
यद्यपि राजनीतिक विषयमा रायसुझाव भने पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै बढ्ता सल्लाह गर्ने गरेको बालुवाटार स्रोतको दाबी छ ।
गृह–मामिला सुझाव दिने थापा
यातायात सिन्डिकेट हटाउने विषयमा प्रधानमन्त्रीको सीधा चासो रह्यो । सिन्डिकेट हटाउँदाताक उनले नियमितजसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग परामर्श गरे ।
त्यसबाहेक गृहप्रशासन र तत्सम्बन्धमा प्रधानमन्त्रीले गर्नुपर्ने काम र निभाउनुपर्ने उत्तरदायित्वका विषयमा प्रधानमन्त्रीले गृहमन्त्री थापासँग बारम्बार सल्लाह गर्ने गरेको र सुझाव लिने–दिने गरेको बालुवाटार स्रोत बताउँछ ।