काठमाडौं । सिमसिम पानी । सन्नाटायुक्त मौसम । २५ वर्षअघिको जेठ ३ गते पनि यस्तै मौसम थियो— रुझेको ।
जेठ ३ गते आउनासाथ धेरैजसो एमाले कार्यकर्ताको अनुहारमा विस्मय मडारिन्छ । पोखराको भेलालाई सम्बोधन गरेर चितवनको कार्यक्रममा हिँडेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगामा रहस्यमय दुर्घटनामा पर्यो । नेताद्वय दिवंगत भए । त्यही स्मृति दिवस बिहीबार एकाएक हर्ष र उमंगमा बदलियो ।
असोज १७ गते एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकताको सरप्राइज दिएका थिए । त्यसको नौ महिनापछि दुई पार्टी एकअर्कामा विलय भएको र नेकपा पुनगर्ठन गरेको अर्को सन्देश दिए ।
बिहीबार नेपालको राजनीतिक वृत्त तरंगित भइरह्यो ।
बिहीबारका मुख्य घटनाक्रम यस्ता छन्——
विष्णु पौडेलले नारायणकाजी नदेखेपछि
एमाले—माओवादी केन्द्रको एकताका लागि प्रमुख भूमिका निर्वाह गरेका एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेललाई नै बढी फलिफाप देखियो । एकताको सूत्राधारसमेत भनिएका पौडेलले एकीकृत पार्टीको सचिवालयको महाचिवको कार्यभारसमेत सम्हाले । निरन्तर एकता प्रक्रियामा खटेको र सरकारमासमेत सहभागी नभएको फाइदा उनैले उठाए ।
तिनै पौडेलले २५ औँ मदन—आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा मञ्चको कुनामा बसेका नारायणकाजी श्रेष्ठलाई नदेखेपछि कोट्याएरै अतिथि आसन ग्रहण गराउन भन्नुपर्यो ।
ओझेल परेका आश्रित
मदनसँगै आश्रित पनि दिवंगत भएका हुन् । एमाले यो काण्डलाई हत्या भन्दै आएको छ । २५ वर्ष यता एमाले पटकपटक सत्तामा पुग्यो । मदनपत्नी विद्या भण्डारीले दुई कार्यकाल राष्टपतिको जिम्मेवारी सम्हाल्दैछिन्, तर हत्याकाण्डबारे छानवीन गर्नुपर्छ भनेर पार्टीका मञ्चमा बाहेक अन्यत्र भनेको सुनिँदैन ।
बरु दिवंगत दुई नेतामध्ये मदनकोमात्रै अधिक चर्चा हुने गरेको छ । जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन महासचिवको हैसियतमा उनको चर्चा चुलिनु स्वभाविकै हो । तर, एमालेको सिंगो संगठनको विभागीय नेतृत्व गरेका र संगठन निर्माण र परिचालनमा सारा ऊर्जा खर्चिएका नेता आश्रित ओझेल पारिनुहुँदैनथ्यो भन्ने टिकाटिप्पणी एमालेभित्रै हुने गरेको छ ।
बिहीबार पनि त्यस्तै देखियो । मदनपत्नी विद्या राष्ट्रपति छिन्, पार्टीले आयोजना गरेको कार्यक्रममा उनी चाहेर पनि उपस्थित हुन सक्दिनन् ।
आश्रितपत्नी माया ज्ञवालीलाई मञ्चमा राख्नसमेत आवश्यक ठानेन एमालेले । उनी कार्यक्रममा थिइन् कि थिइनन्, दिवंगत आफ्ना पतिको फोटोमा पुष्पगुच्छा चढाउन पाइन् कि पाइनन्, कसैले ख्यालै गरेको देखिएन ।
एमाले माओवादी केन्द्रको मिलन
बिहीबार दिनभरिजसो कौतूकमय घटना घट्यो । नेपाली राजनीतिको ऐतिहासिक नै क्षण हो त्यो । २००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो तर २०१९ सालदेखि विधिवत् विभाजन शुरू भयो । ०१७ सालको महेन्द्रको कुलाई समर्थन र विरोध गर्ने नाममा कम्युनिस्ट आन्दोलनमा भूक्षय जाने क्रम बढ्यो ।
त्यसो त कम्युनिस्ट आन्दोलनको इतिहास विभाजन र फुटकोमात्रै शृंखला होइन । एकताको आयाम पनि हो । २०४७ सालमा माले—माक्र्सवादी एकीकरणपछि एमालेको स्थापना, अन्य वामपन्थी घटक जोडिएर एकता केन्द्र मसालको स्थापना । त्यसयता पनि विभिन्न समयमा विभिन्न कम्युनिस्ट झुन्डबीच एकता विभाजनको प्रक्रिया नचलेको होइन ।
तर, दुई ठूला पार्टी एकीकृत भएर झन्डै संसद्मा दुईतिहाईको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी बनेको बिहीबार हो । त्यसैको उत्साहले होला एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको मिलन गजब देखिन्थ्यो बालुवाटारमा ।
तीमध्ये धेरै केन्द्रीय सदस्यहरूलाई पनि यतिचाँडै पार्टी एकता भइहाल्ला भन्ने लागेको रहेनछ । दुई पार्टी अध्यक्षको बुधबार बिहानको वार्ताले सबै कुरा टुंग्याएपछि एमाले माओवादी केन्द्रका नेता कार्यकर्ता, समर्थक शुभेच्छुकको अनुहारमा एकीकरणको उज्यालो छायो ।
त्यसमा पनि एमालेका कार्यकर्ताहरू ज्यादा उत्फुल्ल देखिन्थे । बिहानबाटै बालुवाटारमा कार्यकर्ताको घुइँचो बढेको थियो । अझ रोचक दृष्य त माओवादी केन्द्रका नेताहरूको आगमनको थियो ।
पार्टी एकता संयोजन समितिको बैठक टुंग्याएर केन्द्रीय सचिवालयको बैठक बस्न खुमलटार पुगेका माओवादी केन्द्रका नेताहरू दुई घन्टा नबित्दै क्याराभान शैलीमा बालुवाटार फर्किएका थिए । र, एकीकृत नेकपाको पहिलो बैठकमा सहभागी भए ।
त्यसभन्दा अघि झन्डै आधा घन्टा एमाले—माओवादी केन्द्रका उपल्ला तहका नेता र केन्द्रीय सदस्यबीच अंकमाल खुसी साटासाट् चल्यो । “सायद पार्टी एकता भनेको यही होला,”कार्यकर्ताहरू खासखुस गर्दै थिए ।
पहिलो बैठक अध्यक्ष केपी ओली
नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्षले पार्टीको एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेगरी पार्टी एक भएको हो । पार्टी र सरकार दुवैको नेतृत्व आलोपालो गर्ने सहमति दुवैदलबीच भएको कुरा बाहिर आएको छ । बिहीबारको पहिलो बैठकको अध्यक्षता चाहिँ केपी ओलीले गरेका थिए । त्यस्तै पहिलो बैठकले ६ वटा विषयमा निर्णय गरेको थियो । र, ती निर्णयहरू पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पढेर सुनाएका थिए ।
यस्ता थिए निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा
१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।
२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरीम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गर्यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।
३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छाैँ ।
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।
४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।
५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।
६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पु¥याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पुर्याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं ।
के.पी. शर्मा ओली पुष्प कमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, केन्द्रीय कमिटी अध्यक्ष, केन्द्रीय समिति
नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी
मितिः २०७५।२।३।५
बालुवाटारमा सत्ता—दोहन
जो प्रधानमन्त्री भए पनि बालुवाटारमा भोजभतेर नौलो कुरा भएन । तर, बिहीबार अलि बढी नै देखियो । सत्ता—साझेदार दुई कम्युनिस्ट घटक एक भए । तर, भार राज्यले नै बेहोर्नुपर्यो ।
बालुवाटारमा बुधबार बेलुका एमाले स्थायी कमिटीको बैठक बस्यो । बिहीबारका तीन बैठक पनि बालुवाटारमै भए । बिहान पार्टी एकता संयोजन समितिको बैठक, त्यसपछि एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक र लगतै एकीकृत पार्टीको पहिलो बैठक बालुवाटारकै प्रधानमन्त्रीको निजी सचिवालय भवनको हलमा बस्यो ।
एकता संयोजन समितिको बैठक लगत्तै एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले खानपानसहितको बैठक गोकर्ण रिसोर्टमा बस्ने जानकारी दिएका थिए । तर पहिलो बैठकसँगै भोजको तयारी बालुवाटारमै भयो । त्रिपाल टाँग्ने । पार्टी कक्षको स्थापना गर्ने काममा नेपाली सेना जुट्यो ।
पार्टी विशेषले आयोजना गरेको भोजमा राज्यस्रोतकै दोहन हुनु वाञ्छनीय नभएको गाइँगुइँ पत्रकारवृत्तमा चले पनि त्यसबारे खासै चर्चा भएन । तर, दुईतिहाई बहुमतप्राप्त दलका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले पाँच वर्षसम्म त्यस्ता कतिवटा बैठक, भेला र भोज झेल्नुपर्ने हो यकिन छैन । यसअघि पनि नझेलेको होइन । सामाजिक सञ्जालमा त्यसको पनि विरोध देखियो । नेकपाका नेताहरुले शपथ ग्रहण गर्दा अब राज्यको साधन स्रोत दोहन गर्दिन भनेर पनि खानुपर्ने भन्दै कतिले सुझाव पनि दिए ।
राष्ट्रिय सभागृहमा प्रचण्डको गला अवरुद्ध
प्रचण्ड समकालीन नेतामा वाकपटु हुन् । त्यसो त भाषणबाजसमेत भनिन्छ उनलाई । बिहीबारको भाषणमा उनले क्रमभंगकर्ताका रूपमा पनि चित्रित गरे । ०५२ सालका सशस्त्र संघर्षको नेतृत्वकर्ता ०६३ सालमा वृहत् शान्ति–सम्झौताको हस्ताक्षरकर्ता, ०६५ सालमा ठूलो पार्टीको अध्यक्ष र सरकारको नेतृत्वकर्ता, ०७० सालमा खुम्चिएर तेस्रो दल, ०७४ सालमा एमालेसँग चुनावी तालमेल र ०७५ सालमा एमालेसँग एकता अनेक अनुभव सँगालेका छन् उनले ।
यी सबै घटनाक्रममा सूत्राधार भएकाले उनी बिहीबार केहीबेर भावुक भए । भाषण गर्न शब्द नपाएको भन्दै उनले एमाले—माओवादी केन्द्रबीचको सम्बन्ध निषेधको निषेध, संघर्ष र रूपान्तरण हुँदै एकताका बदलिएको सामान्यिकरण गर्दै मञ्चबाट बिदा भएका थिए ।
प्रचण्डको मदनमोह
प्रचण्डले बेलाबखत भन्दै आएका थिए—मदन दिंगत हुनुअगावै मसँग पार्टी एकताको कुरा चलेको थियो । एकदिन खानासहितको मिटिङ गर्ने भनेर योजना बनाउँदा बनाउँदै मदनको हत्या भयो । बिहीबार बिहानको सम्बोधनमा पनि उनले मदन स्मृति दिवसकै दिन पार्टी एकता गर्नुपर्छ भनेर आफैँले प्रस्ताव गरेको भन्दै एमाले कार्यकर्ताको मन जिते ।
सो कुरा उनले दिउँसोको सम्बोधनमा पनि जोड दिएका थिए । राष्ट्रियसभा गृहको प्रेक्षालयमा नअटेर चौर र प्रदर्शनीमार्गमासमेत छरिएका एकीकृत पार्टीका कार्यकर्ता प्रचण्डको मदनमोहले चकित बने ।