काठमाडौं । नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
माओवादी शीर्ष नेताहरु अहिले पनि आन्तरिक छलफलमा व्यस्त छन् ।
नेकपा माओवादी केन्द्रका केही नेताहरुले एमालेसँग पार्टी एकताको विषयमा कुरा नमिलेसम्म सरकारमा जान नहुने बताउँदै आएका छन् ।
माओवादी नेताहरुले पद र सिद्धान्त दुवै नमिलेको बताएका छन् ।
“नेकपा एमाले र माओवादी केन्द्रबीच अहिलेसम्म पार्टी एकताका विषयमा कुनै सहमति भएको छैन,” नेकपा माओवादी केन्द्रका नेता मणि थापाले भने, “हामीले अहिले सरकारमा जानेबारेमा कुनै निर्णय गरेका छैनौं । पार्टी एकताको टुंगो लागेपछि मात्रै हामी सरकारमा सहभागी हुन्छौं ।”
माओवादी नेताहरु अहिले पनि आन्तरिक छलफलमै रहेको उनले बताए ।
तत्काल समर्थन गरेर जाने अनि पार्टी एकताको टुंगो लागेपछि मात्रै सरकारमा जाने निर्णय गरिने उनले बताए ।
माओवादी केन्द्रका अर्का नेता दीनानाथ शर्माले पनि पद र आलोपालोको विषयमा कुरा नमिलेकाले अहिले नै सरकारमा जानेबारेमा निर्णय नभएको बताए । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नभएको बताए ।