site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालको भविष्य कोर्ला ‘डिभिजन–टु’ ले ? 

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को संघारमा रहेको नेपाली क्रिकेटको भविष्य बिहीबारदेखि कोरिँदैछ । ६ देशको सहभागिता रहेको डिभिजन टु मा नेपाल कस्तो टिम हो र नेपालका अन्य प्रतिस्पर्धी कस्ता छन् ? यसबारे नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी के भन्छन् ?

विनोद भण्डारी नेपाली टिमका नियमित सदस्यजस्तै हुन् तर, यो पटक भने उनी टिम बाहिर छन् । आक्रामक ब्याट्सम्यानको रुपमा परिचित विनोद डिभिजन टु नेपालको भविष्य निर्धारण गर्ने बताउँछन् । हुन पनि, नेपाल डिभिजन टु को शीर्ष २ मा पर्न सके अगाडिको ढोका खोलिने छ तर, नेपाल डिभिजन टु को शीर्ष दुईभित्र पर्न नसके निकै लामो समय ठूला प्रतियोगिताबाट बञ्चित हुनुपर्ने छ । त्यसकारण पनि नेपालको लागि डिभिजन टुले भविष्य निर्धारण गर्नेछ ।

यसपटक भने टिममा पर्नबाट चुकेका विनोदका अनुसार सबै टिम राम्रा छन् । उनी भन्छन्, “कुनै टिमलाई पनि सहज तरिकाले लिन सकिँदैन । हामीले २–३ वटा मिस्टेक गरेपनि जितिहाल्छांै भन्न गाह्रो होला । किनकी सबै टिम राम्रो हो । राम्रो लेभल खेलेको टिम छन् । त्यसले गर्दा नेपाली खेलाडीले आफ्नो प्रदर्शन दिनु नै पर्छ । मलेसियालगायतका अन्य टिमसँग खेलेजस्तो छैन । सबै नेपाली खेलाडीले आफ्नो सय प्रतिशत दिएर खेल्छन् भने प्रतियोगिता जित्छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डिभिजन टु को हकदार नेपाल भएको बताएका विनोद यसअघि सन् २०१५ मै करिब ३ वर्षअघि नामिवियामै भएको डिभिजन टु मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा नियमित मुख्य खेलाडी थिए । उनको प्रदर्शन पनि औसतमै रहेको थियो । केन्याविरुद्ध विनोदले ७३ रनको योगदान दिएका थिए । 

विनोद भन्छन्, “नेपालको लागि मुख्य हो यो प्रतियोगिता । यसैबाट नेपालको भविष्य कोरिन्छ । मुख्य प्रतियोगितामा म छैन, दुःख त लागिरहेको छ । तर, मैले राम्रो प्रदर्शन गर्न सकिन, त्यसैले टिममा परिन । अब आउने दिनमा राम्रो प्रदर्शन गर्दै टिममा पर्नेछु । चान्स छँदै छ ।”

त्यसो त, नामिविया र नेपालको ग्राउण्ड कन्डिसन एउटै छैन । नेपाली खेलाडीका लागि नामिवियाको पिच निकै कठिन हुन सक्छ । यद्यपि नेपाली खेलाडी नामिवियाको पिचबाट विलकुलै जानकार नभएको भने होइन ।

विनोद भन्छन्, “नामिवियाको पिचको कुरा गर्ने हो भने बलरले राम्रो बलिङ गर्छ भने बलरलाई पनि छ, ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्छ भने ब्याट्सम्यानलाई पनि छ । नेपालको पिच जस्तो छैन । किनकी नेपालको पिचमा भन्नै सकिँदैन कतिबेला के हुन्छ, तर त्यहाँ त्यस्तो छैन ।” आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा आयोजक नामिवियासँगै, नेपाल, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । 

कस्ता छन् प्रतिद्वन्दी ?

नामिविया
नेपालले डिभिजन टु मा आफ्नो पहिलो खेल आयोजक नामिवियासँग खेल्दैछ । नामिविया घरेलु भूमिको मौका उठाउने लक्ष्यमा छ र यसअघि भएको पराजयको बदला लिने रणनीतिमा छ । तर नेपाल भने आफ्नो पुरानै लयलाई निरन्तरता दिन चाहन्छ ।

यसअघि नेपालले नामिवियालाई करिब ३ वर्षअघि उसको घरेलु भूमिमै डिभिजन टु को खेलमा ३ विकेटले पराजित गरेको थियो । त्यस खेलमा नायक बनेका थिए नेपालका कप्तान पारस खड्का । उनले ६४ रन बनाएका थिए । बिहीबार हुने पहिलो खेलमा पनि नामिविया विरुद्ध राम्रो प्रदर्शन गर्ने रणनीतिमा छन्, कप्तान खड्का ।

विनोद २०१५ मा सम्पन्न भएको डिभिजन टु अन्तर्गत नामिवियासँगको खेल यसरी सम्झिन्छन्, “डिभिजन टु खेल्दा नामिवियामा गर्मी थियो । हामीले त्यहाँ जित्नुको मुख्य कारण बलिङ राम्रो भयो । मिडियम पेसरले राम्रो बलिङ गरे । त्यो प्रतियोगितामा नेपालले सबैभन्दा राम्रो बलिङ गरेको भनेको नै नामिवियाविरुद्ध थियो । त्यसमा सोमपाल र करणले राम्रो बलिङ गरेका थिए ।”“नेपालको टिम र नामिवियाको टिम तुलना गर्दा नेपाल निकै माथि छ । नेपाली ब्याट्सम्यानको अनुभव नामिवियाको भन्दा राम्रो छ । नेपाली खेलाडी नामिवियाको खेलाडीको भन्दा माथिल्लो लेभलको हो,” विनोद थप्छन् ।

हुन पनि नेपालको अब्बल पक्ष भनेकै बलिङ हो । नेपालले त्यस खेलमा नामिवियालाई १४२ रनमै अलआउट गर्न सफल भएको थियो । त्यस खेलमा करण केसीले ३, सोमपाल कामी, वसन्त रेग्मी र शक्ति गौचनले समान २–२ विकेट लिएका थिए ।

यसबाहेक नेपालले नामिवियासँग २०१६ मा काठमाडौंमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा २ खेल खेलेको छ, जुन खेलमा नेपाल दुबै खेलमा विजयी भएको रोमाञ्चक इतिहास छ । त्यसैले पनि नेपाली खेलाडीको मनोबल उच्च भएको हुनुपर्छ ।

केन्या
केन्या नेपालको लागि मुख्य चुनौती दिने टिम हो । किनभने अहिलेसम्म केन्यासँग ५० ओभरको खेलमा नेपालले एकमा मात्रै जितेको छ भने ३ खेल केन्यालाई सुम्पेको अलिक तितो इतिहास छ । नामिवियामै ३ वर्षअघि सम्पन्न डिभिजन टु मा यी दुई देशबीच २ पटक भेट भएको छ, जुन दुबै खेलमा नेपाल पराजित भएको छ ।
लिग राउण्डमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो स्थानको लागि भएको भिडन्तमा पनि १५ रनको झिनो अन्तरले नेपाल पराजित भएको थियो । यद्यपि लिग राउण्डमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ९१ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै, तेस्रो स्थानको खेलमा नेपालका लागि विनोद भण्डारीले राम्रो प्रदर्शन गर्दै ७३ रन जोड्न सफल भएका थिए ।

यसबाहेक आफ्नै घरेलु मैदान टियू क्रिकेटमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले केन्यासँग एक खेल हारेको छ भने एक खेलमा जित हात पारेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले केन्यामाथि १ खेल जितेको छ भने एक खेल हारेको छ ।

युएई
युएई नेपालको लागि निकै तगारो बन्न सक्ने टिम हो । प्रदर्शनको आधारमा हेर्ने हो भने पछिल्लो तीन खेलमा नेपाल युएईसँग लगातार हारेको छ । सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । 

सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको छ ।

क्यानडा
क्यानडा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री बाट टु मा बढुवा भएको टिम हो । तीन वर्षअघि डिभिजन टु बाट घटुवा हुँदै क्यानडा डिभिजन थ्री मा परेको टिम हो । २०१४ देखि अहिलेसम्म क्यानडासँग नेपालले २ खेल खेलको छ । २०१४ को विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो ।

त्यसको १ वर्षपछि भएको डिभिजन टु मा नेपालले बदला लिँदै क्यानडामाथि ७ विकेटको शानदार जित हात पारेको थियो । फेब्रुअरी १४ मा हुने लिग चरणको अन्तिम खेलमा नेपाल शतप्रतिशत नतिजा निकाल्ने दाउमा छ ।

ओमन
ओमन आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री बाट बढुवा हँुदै टिभिजन टु मा पुगेको हो । नेपालले यसअघि ५० ओभरको खेलमा ओमनसँग १ पटक मात्रै खेलेको छ । २०१३ सालमा बर्मुडामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री उपाधि नेपालले जित्दा लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको छ ।
पछिल्लो समयमा ओमनले क्रिकेटमा राम्रो छलाङ मारेको छ तर डिभिजन टु मा सबैभन्दा कमजोर प्रतिद्वन्दीको रुपमा नेपालले ओमनलाई लिएको छ ।

विनोद भण्डारीको विश्लेषणअनुसार कप्तान पारस, ज्ञानेन्द्र र शरदलाई राम्रा अन्य खेलाडीले साथ दिएमा नेपाल डिभिजन टु को च्याम्पियन बन्ने निश्चितजस्तै छ । तर त्यसको लागि नेपाली टिमलाई कठिन चुनौती पार गर्नु पर्नेछ । विनोद भन्छन्, “सबै खेलाडीले राम्रो गर्न चाहँदा चाहँदै राम्रो नतिजा ननिक्लिएको मात्रै हो । पारस, ज्ञानेन्द्र र शरद दाइलाई अन्य खेलाडीले राम्रो साथ दिने हो भने नेपाल एकदमै माथि पुग्छ । नेपालले जितेको म्याचमा हेर्ने हो भने पारस दाइको राम्रो प्रदर्शन हुने गरेको छ ।”

विनोद नयाँ खेलाडीमाथि पनि निकै आशावादी छन् । थप्छन्, “नयाँ खेलाडीको लागि यो ठूलो मौका हो । नयाँ खेलाडीहरू राम्रा छन् । मलाई अलिक भरोसा बढेको भनेको रोहित कुमार पौडेलबाट हो । रोहितले म्याच निकाल्न सक्छ जस्तो लाग्छ ।”

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १६:२०
प्रतिक्रिया दिनुहोस्