काठमाडौं । “पार्टी एकता समानता र सम्मानपूर्ण तरिकाले हुन्छ । हामी एकअर्कामा विलिन हुँदैनौं । हाम्रो इतिहास, विचार र कामहरुलाई टुङ्गोमा पुर्याउने हो । कतिपय अवस्थामा इतिहासका विषयहरु टुङ्गो नलाग्न सक्छन्, हामीले भविष्यलाई छोडिदिन सक्छौं । तर, आज गर्ने काम नेकपा एमाले र माओवादी केन्द्रको एउटै हो । हामी कता जाने हो मुख त्यतैतिर फर्केको छ । हाम्रो उद्देश्य र भूमिका एउटै छ । यस्तो अवस्थामा हामी मिलेर जाँदैनौं भने यो भन्दा ठूलो दुर्घटना अरु के हुनसक्छ ?
त्यसकारण हामी मिल्नैपर्छ, यदी मिल्न सकिएन भने धेरै ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ,” नेकपा एमालेका नेता वामदेव गौतमले २ दिनअघि काठमाडौंमा आयोजित व्यक्त धारणा हो यो ।
गौतम नेकपा एमालेका प्रभावशाली र निर्णायक नेता त हुन् नै नेकपा एमाले र माओवादी केन्द्रबीच भएको तालमेल र एकता प्रक्रियाका प्रमुख सुत्रधार पनि हुन् ।
एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरुले बताए पनि गौतमका यी धारणाले भने नेकपा एमाले र माओवादीबीच कतै न कतै अविश्वास रहेको संकेत गर्छ ।
गौतम त्यतिमा अडिएनन् । उनले पार्टी एकताका लागि भित्रैबाट यसअघि बाधा उत्पन्न भएको बताउँदै फेरि पनि हुन सक्ने संकेत गरे ।
“मलाई पार्टीले २०६५ सालमा पार्टी एकता गर्न जिम्मा दिएको थियो । त्यसबेला केन्द्रीय कमिटीले निर्णय गरेर मेरो संयोजकत्वमा विष्णु पौडेललगायतका केही साथीहरु सामेल गरेर वार्ता टोली बनाएको थियो । त्यसबेला हामीलाई पार्टीले प्रचण्डसँग वार्ता गर्न पठाएको थियो । पछि कमरेड ईश्वर पोखरेलले ‘ज्यादै रहर लाग्यो त्यो वार्तामा म पनि जान्छु मलाई पनि लैजानुहोस्’ भन्नुभयो । पछि उहाँलाई पनि सँगै लगियो । त्यस समयको वार्तामा प्रचण्डसँग माओवादीको तर्फबाट पनि मोहन वैद्यजी आउनुभयो । उहाँले पार्टी एकता हुनै नसक्ने कुरा गर्नुभयो । मोहन वैद्यजीले हामी कहाँ ? तपाईंहरु कहाँ ? न हाम्रो र तपाईंहरुको विचार, सिद्धान्त, योजना र इतिहास मिल्छ भन्नुभयो । हाम्रो महासचिवले पनि हो वैद्यजीले भनेको कुरा ठीक हो भन्नुभयो,” गौतमले भने ।
नेकपा एमाले र माओवादी केन्द्रका केही नेताहरुले नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन्छ’ दुई पार्टीका नेताबीचमा केही आशंका बढेको बताउँछन् । गौतमले पनि अघिल्लोपटक भएको एकता प्रयास वैद्य र पोखरेलकै कारण रोकिएको स्पष्ट उक्त कार्यक्रममा पारे ।
गौतमले नै एकता प्रक्रियाको काम नरोकिएको स्पष्ट पार्दै अब गति लिने पनि बताए ।
दुवै पार्टी एमाले र माओवादी केन्द्रका नेताहरुले अहिले आफूहरुको ध्यान राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठन र सरकार गठनमा भएको भन्दै पार्टी एकता टरिनसकेको टिप्पणी गरेका छन् ।
विशेष गरी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति कि फरक फरक भन्ने विषयमा टुंगो लाग्न नसक्दा नै अहिलेसम्म प्रक्रियाले गति लिन नसकेको हो ।
नेकपा एमालेका प्रभावशाली नेताहरुले नै माओवादी अध्यक्ष दाहाललाई एकतापछि बन्ने पार्टीको अध्यक्ष दिन तयार नरहेको धारणा राखेपछि माओवादीले पनि यसलाई ‘जुँगाको लडाईँ’ भन्दै अध्यक्ष नै पाउनुपर्ने अडान राखेको छ ।
नेकपा एमालेका नेता एवं संयुक्त कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रियामा केही ढिलाइ भएको बताउँदै अहिले नै नटुटेको धारणा राखे ।
“एमाले र माओवादीबीचको पार्टी एकता टुटेको छैन,केही ढिलाइ भएको हो,”नेता पाण्डेले बाह्रखरीसँग भने, “अहिले हाम्रो ध्यान राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकार गठन र केन्द्र सरकार निर्माणमा छ । त्यसैले हाम्रो एकता टरेको भन्न मिल्दैन ।”
उनले सरकार गठनपछि मात्र एमाले र माओवादीबीचको एकता हुने जानकारी दिए ।
“नयाँ सरकार गठन, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलाई छोडेर पार्टी एकता गर्ने भन्ने कुरा हुँदैन,” नेता पाण्डेले भने,“सरकार गठनपछि पनि एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको ढोका खुला रहन्छ । सरकार गठन हुनासाथ सबै सकिइहाल्यो भन्ने हुँदैन ।”
नेता पाण्डेले अध्यक्ष र प्रधानमन्त्री पदको विषयले पार्टी एकता नरोकिएको बताउँदै वैचारिक र सांगठनिक कार्यदल बनेपछि मात्र पदको विषयमा छलफल हुने बताए ।
“प्रधानमन्त्री र अध्यक्ष को बन्ने भन्ने विषयले पार्टी एकता रोकिएको होइन, पद बाँडफाँडको विषयमा पार्टीभित्र अझै कुरा भएकै छैन । वैचारिक र सांगठनिक कार्यदल बनेपछि मात्र पद बाँडफाँडको कुरा हुन्छ । त्यसको लागि दुई नेताहरुबीच आन्तरिक छलफल भइरहेको छ,” उनले भने ।
एमाले नेता प्रदीप ज्ञवालीले पनि गठबन्धनको ध्यान सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा भएको भन्दै पार्टी एकता केही समय पर धकेलिन सक्ने बताए । “सबैलाई थाहा छ पार्टी एकता गर्ने काम सजिलो विषय होइन । अहिले गठबन्धनको सम्पूर्ण ध्यान राष्ट्रियसभा निर्वाचनतर्फ छ । त्यसैले फागुनको पहिलो सातामा नयाँ सरकार बनेपछि मात्र पार्टी एकताको कामले गति लिन्छ,” ज्ञवालीले भने ।
माओवादी केन्द्रका नेता मणि थापाले भने पार्टी एकताको लागि पद बाँडफाँडमै समस्या रहेको बताए । उनले एकता प्रक्रिया नै त्यसै कारणले रोकिएको पनि बताए ।
“नेताहरुले बाहिर देखाउने कुरा एउटा हो भित्र अर्कै कुरा हुन्छ,” थापाले भने, “मुख्य कुरा पद बाँडफाँड मै कुरा मिलेको छैन । यदी कुरा मिलेको भए पार्टी एकताको लागि राष्ट्रियसभा निर्वाचन र सरकारलाई पर्खिरहन पर्दैनथ्यो । त्यसैले अब पार्टी एकता कसरी अघि बढ्छ भनेर भन्न सकिन्न तर सरकार गठबन्धनकै बन्ने करिब निश्चित भयो । पार्टी एकता भन्न सकिन्न ।”
उनले पार्टी एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने प्रस्ताव भएको जानकारी समेत दिए । “पार्टी एकतापछि एमाले र माओवादीबाहेक अर्को कुनै नयाँ नाम राख्ने भन्ने कुरा हो । त्यसैले नेकपा नाम राख्ने कुरा पनि चलेको थियो, तर निर्णय भइसकेको छैन । मुख्य कुरा पद बाँडफाँड नै हो । पार्टी एकतापछि जे नाम राखेपनि केही फरक पर्दैन,” थापाले भने ।
माओवादी केन्द्रकै नेता देवेन्द्र पौडेलले पनि एमाले र माओवादीबीच पार्टी एकता नभएपनि सरकार बन्ने निश्चित भएको बताए । “पार्टी एकता नभए पनि वाम गठबन्धनको सरकार बन्छ । अहिले राष्ट्रियसभा निर्वाचनको लागि म पनि पोखरा आएको छु । सरकार बनेपछि पनि पार्टी एकताको ढोका भने सधैँ खुला रहन्छ ।”
माओवादी केन्द्रका अर्का नेता दीनानाथ शर्माले पार्टी एकता प्रक्रियालाई ‘होल्ड’ गर्दै गठबन्धन राष्ट्रियसभा निर्वाचन सफल बनाउन लागिरहेको बताए । “राष्ट्रियसभा सदस्यको लागि म आफैँ पनि उमेदवार भएकाले म अहिले पोखरामा छु,” शर्माले भने, “अहिले दुवै पार्टीको ध्यान राष्ट्रिससभा निर्वाचन सफल बनाउने, प्रदेश सरकारको लागि मुख्यमन्त्री सभामुख, उपसभामुख तोक्ने र नयाँ सरकार बनाउनेमा नै छ । पार्टी एकता प्रक्रिया बिस्तारै मिल्दै जान्छ ।”